ज्यान मार्ने उद्योगको आरोपमा तारिख खेपिरहेका पनि मन्त्री !

पार्वत गुरूङ : ओली दाहिना भएपछि कस्को के लाग्दो रहेछ र ?

खड्गप्रसाद शर्मा ओलीले फौजदारी मुद्दा लागेका सांसदलाई पनि मन्त्री बनाएर गजबको सन्देश दिएका छन् । उनले महिला मन्त्री बनाएका पार्वत गुरूङ केही समयअघि महानगरीय प्रहरी परिसर काठमाडौंको  फरार सूचीमा थिए। फरार भएको भनेर अदालतमा मुद्दा दाहेर गरिएपछि काठमाडौै जिल्ला अदालतको  पक्राउको ३५ दिने पूर्जी जारी गरिएपछि जेल जानबाट जोगिन उनी फरार थिए । ३५औं दिनको विहानै अदालत पुगेका उनलाई तारिखमा छोडिएको थियो । 

तर, अहिले उनै तारिखमा छोडिएका फौजदारी मुद्दा लागेका पार्वत गुरूङ महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री भएका छन् । 


काठमाडौं जिल्ला अदालतको इजलास नम्बर ७ मा मंसिर २४ गते पार्वत गुरूङको पेशी तोकिएको छ। न्यायाधीश पूर्णेश्वरकुमार उपाध्यायको इजलासमा सरकारका एकजना नवनियुक्त मन्त्री सरकारी गाडीमा नेपाली झण्डा हल्लाउँदै त्यहाँ पुगेका हुनेछन् । 

दोलखाका वीरध्वज खड्काले ज्यान मार्ने उद्योग गरेको आरोपमा गुरुङसहित ७ जनाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । उनकै जाहेरीमा गुरूङमाथि ज्यान मार्ने उद्योग गरेको आरोप छ। 

खड्गप्रसाद शर्मा ओलीको मन्त्रिमण्डल पुनर्गठनमा यस्ता अनेकौ कीर्तिमान बनेका छन् । एउटा कीर्तिमान यो पनि हो कि उनले ज्यान मार्ने उद्योग गरेको आरोपमा तारिख खेपिरहेका माननीयलाई पनि मन्त्री बनाइदिए ।

नेपालमा भनाइ नै छ, अहिले ओली दाहिना भएपछि के हुन्छ भन्दा पनि के हुदैन भन्ने बेला छ । त्यसैको प्रमाण हो, ज्यान मार्ने उद्योगको आरोपमा तारिख खेपिरहेका पनि मन्त्री भएका छन् । 

जटिबुटी र कृषि उद्यममा संलग्न गुरूङ दोलखा १ बाट निर्वाचित सांसद हुन् । उनी यसअघि पनि दोस्रो संविधानसभाको चुनावमा विजयी भएका थिए । 

पार्टीमा ओली गुटमा लागेपछि दिन दुईगुना रात चौगुना राजनीतिक छलाङ मारेका उनले जिल्लाका पुराना नेताहरूलाई धेरै पछि छोडेका छन् ।

प्रकाशित मिति: : 2019-11-22 03:49:24

प्रतिकृया दिनुहोस्