खस भाषामा अडियो नागरिक वडापत्र

जिल्ला प्रशासन कार्यालय जुम्ला

जिल्ला प्रशासन कार्यालय जुम्लाले नागरिकले बुझ्ने गरि स्थानीय खस भाषामा रेकर्ड गरिएको अडियो नागरिक वडापत्र सञ्चालनमा ल्याएको छ।

अडियोमा नागरिक वडापत्रका मुख्य-मुख्य बुँदा समेटिएको छ। प्रशासनले कार्यालयबाट प्रदान गरिएका सेवाहरुलाई जनमुखी, सुदृढ, सेवामूलक, पारदर्शी र उत्तरदायी बनाउन कात्तिकको अन्तिम साताबाट खस भाषामा अडियो नागरिक बडापत्र सञ्चालनमा ल्याएको हो।

कार्यालयको नागरिक सहायता कक्षामा अडियो राखेर सेवा लिन आउने पढ्न नसक्ने नागरिकलाई बुझिने गरी सुनाउन अडियो नागरिक बडापत्रको सुरुवात गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताइन्। 'जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सबै पढेलेखेका हुँदैनन्,' उनले भनिन्, 'के कामको लागि कुन कति नम्बरको कोठामा जाने र काजजातहरु के के आवश्यक पर्छन्? भन्ने विषयमा स्थानीय सबैले बुझ्ने गरि खस भाषाको अडियो नागरिक वडापत्र तयार गरेका हौं।' कार्यालय समय अवधिभर अडियो बज्ने गरेको छ।

यो नयाँ आयम नभई विगतदेखि नै कार्यालयबाट प्रदान गर्ने सेवाको विवरण, सेवा प्राप्त गर्न पेश गर्नु पर्ने कागजात, आवश्यक प्रकृया, लागत/शुल्क, सो सम्बन्धमा गुनासो कहाँ गर्ने र क्षतिपूर्ती के हुन्छ, जस्ता विवरण उल्लेख गरिएको नागरिक वडापत्रको अडियो स्वरूप भएको प्रशासन कार्यालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयमा सेवा लिन पुगेका सिंजा मोफ्लाका प्रेम कामी आफूले बुझ्ने भाषामा बजिरहेको अडियो सुनेर दंग परेका छन्। 'आफैंले चाहेको सेवा लिनलाई सुनिदिए मात्रै हेँदो रहेछ,' उनले खुसी हुँदै भने, 'अब निकै सजिलो भयो। के चाहिने हो सुनेरै जुटाउन सकिने भयो।'

२०५७ सालमा पहिलो पटक जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउँदा कर्मचारीसँग सोध्न नसकेर चार घण्टा प्रशासन कार्यालयको प्राङ्गणमै बसेको सम्झिन्छन् सिंजा कनका सुन्दरीका दिपेन्द्र उपाध्याय। 'सोझा साझा गाउँलेहरु, कर्मचारीसँग सोध्न नसक्ने, निरक्षरका लागि अति फाइदा हुनेछ। यो गज्जबको काम भयो,' उनले भने, 'गाउँबाट सेवा लिन आउने सर्वसाधारणको लागि प्रशासनले सञ्चालनमा ल्याएको अडियो नगरिक वडापत्र निकै प्रशंसनीय कार्य हो।'

जिल्लाका अन्य कार्यालयलाई पनि सबै स्थानीयले बुझ्ने गरि खस भाषामा अडियो नागरिक वडापत्र सञ्चालनमा ल्याउन प्रशासनले पहल गर्नुपर्ने सर्वसाधारणको राय छ। खस भाषा संरक्षणका लागि प्रशासनले थालेको खस भाषामा अडियो नागरिक वडापत्र कोशेढुङ्गाको रुपमा सावित हुने भाषा र संस्कृतिका जानकार रामानन्द आचार्यले बताउँछन्।

'खस भाषाको शब्दकोष अन्तिम चरणमा रहेको समयमा अब सबै कार्यालयले आफ्नो सेवाको बारेमा सेवाग्राहीलाई जानकारी दिनको लागि खस भाषामा अडियो नागरिक वडापत्र सञ्चालनमा ल्याउन अझ सहज हुनेछ,' उनले भने, 'नेपाली भाषाको उत्पति भाषा खस भाषालाई संरक्षण गर्न प्रशासनले चालेको कदम असाध्यै राम्रो छ। यसलाई दिगो रुपमा सञ्चालन गर्न पनि जरूरि छ।'

हिमा गाउँपालिका बड्कीका विरमान रोकाया राहदानी बनाउन आउँदा आवश्यक पर्ने कागजात र सेवा लिने कोठा नम्बरको बारेमा अडियो सुनेपछि कसैलाई केही नसोधि राजश्व जम्मा गर्न सिधै बैंक गए। 'अडियो नागरिक वडापत्रले मलाई धेरै सहज बनायो,' उनले भने, 'सबै जानकारी सुनेरै पाए। कसैसँग सोध्नु परेन। काम भयो।' उनलाई जस्तो सजिलो सिंजा गाउँपालिका नराकोटका धिरज बुढालाई पनि भयो। अब प्रशासन कार्यालयमा सेवा लिन पुग्ने सबै सेवाग्राहीले प्राङ्गणमै बसी अडियो सुनेरै सम्बन्धित कोठामा सेवा लिन जाने गरेका छन्।

खस भाषा संरक्षणको लागि गतिविधि गर्दै आएको खस साहित्य समाज जुम्लाले खस भाषा संरक्षणमा अडियो नागरिक वडापत्र एक माध्यम भएको बताएको छ। अब जिल्लाका अरू सरकारी कार्यालयले कामकाजीको भाषाको रुपमा समेत खस भाषा प्रयोग गर्नुपर्ने खस साहित्य समाजका अध्यक्ष रामकृष्ण बुढथापाले बताए।

खस भाषाको अडियो नागरिक वडापत्रले राज्यबाट प्रदान गरिने सेवा सुविधामा जनताको समान र सहज पँहुच सुनिश्चित गर्ने संवैधानिक व्यवस्था सहितको कानुनी व्यवस्थालाई व्यवहारमा लागेको तथा गरी सेवाप्रवाहलाई समावेशी सहभागिता मूलक बनाउदै लोकतान्त्रिक पद्धति अनुरूप खुला र पारदर्शी प्रशासन बनाउन सहयोग पुग्ने प्रशासनको दाबी छ।

प्रकाशित मिति: : 2019-11-19 17:25:15

प्रतिकृया दिनुहोस्