‘भट्टराईको उम्मेदवारीले राजनीतिमा महिलालाई ऊर्जा’

तस्बिरः एजेन्सी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सीता गिरीले कास्की–२ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार विद्या भट्टराईको उमेम्दवारीले राजनीतिमा महिलालाई थप ऊर्जा मिलेको बताएका छन्।

पोखरा–७ मा आयोजित चुनावी कार्यक्रममा गिरीले विद्या स्वर्गीय रवीन्द्र अधिकारीपत्नी मात्र नभई महिलानेत्री एवं प्राज्ञिक व्यक्तिसमेत रहेको हुँदा नेपाली राजनीतिमा उनको आगमनले महिलालाई थप ऊर्जा मिलेको स्पष्ट गरेका छन्।

चुनावी प्रचारप्रसारको क्रममा बिहीबार पोखरा–७ का मतदाताबीच उम्मेदवार भट्टराईले अधिकारीको अधूरा सपना पूरा गर्न आफू राजनीतिमा होमिएको बताए। उनले आरोप प्रत्यारोपको राजनीतिबाट टाढा रहेर आफू स्वच्छ र पारदर्शी राजनीतिमा विश्वास गर्ने बताए। आफूलाई मतदाताले गरेको विश्वास र आग्रहलाई स्वीकार्दै अधिकारीको अधूरा सपना पूरा गर्ने प्रतिबद्धता बोकेर चुनावी अभियानमा होमिएको बताए।

पोखरा चक्रपथ, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलगायत महत्वपूर्ण कार्य पूरा गरेरै छाड्ने उनले प्रतिबद्धता व्यक्त गरे। उनले समाजमा व्याप्त असमानताको अन्त्य गर्दै सुकुम्बासीलाई लालपुर्जा दिलाउने आफ्नो कार्यसूची रहेको बताए। पोखरा–७ मा विशेषगरी प्रगतिनगर र प्रगतिटोल सुकम्बासी बस्ती पर्छन् ।

पोखराको नयाँबजारस्थित ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयमा आशीर्वाद ग्रहण गर्दै चुनावी प्रचार कार्यक्रम पोखरा–७ मा बिहान प्रगतिनगर, प्रगतिटोल, राधाकृष्ण टोल, घारीपाटन र तीनकुनेलगायत क्षेत्रमा सम्पन्न भएको हो। घरघरबाट निस्केर मतदाताले फूलको गुच्छाले उम्मेदवार भट्टराईको स्वागत गरेका थिए ।

सो क्षेत्रमा उम्मेदवार भट्टराई पुग्दा ८६ वर्षीया कृष्णमाया पराजुलीले वडा नं. ७ र १५ जोड्ने पक्की पुल अधिकारीले शिलान्यास गरेको सम्झिँदै विकासमा जोड दिन आग्रह गरे। पूर्वमन्त्री एवं नेकपा गण्डकी सहइञ्चार्ज खगराज अधिकारीले सो क्षेत्र झपिन्द्र कार्की र ऋषि परियारले शहादत गरेको क्षेत्र रहेको स्मरण गर्दै शहीदको सपना पूरा गर्ने दिशामा नेकपा सधैँ अग्रपङ्क्तिमा रहेको बताए। नेकपाका विभिन्न तहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको कार्यक्रममा साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

प्रकाशित मिति: : 2019-11-14 18:57:07

प्रतिकृया दिनुहोस्