सरकारको विरोध गर्ने नाममा व्यवस्थाको विरोध गर्नुहुँदैन: जम्मकट्टेल

तस्बिरः एजेन्सी

प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले सरकारको विरोध गर्ने नाममा व्यवस्थाकै विरोध गर्नुनहुने बताएका छन्।

नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षका कारण प्राप्त वर्तमान राजनीतिक व्यवस्थालाई नै नकारात्मक असर पर्ने गरी सञ्चारमाध्यमले समाचार तथा विचार सम्प्रेषण गर्नु नहुने उनको धारणा थियो ।

फ्रिडम फोरमले बिहिबार हेटौँडामा आयोजना गरेको ‘पत्रकार सुरक्षा र दण्डहिनता’ विषयको कार्यक्रममा मन्त्री जम्मकट्टेलले राज्यका विभिन्न निकायसम्म पहुँच नपुगेका नागरिकको आवाज बोल्नुपर्ने बताए। मन्त्री जम्मकट्टेलले स्वतन्त्रता, न्याय र समानताको कुरा बुलन्द गरेर समाजवाद निर्माणको यात्रा तय गर्नुपर्ने धारणा राखे। उनले पहुँच नपुगेका र तल्लोस्तरका जनताको अवस्था सारै कमजोर भएको बताए।

यस्तै अवस्था कतिपय पत्रकारभित्र पनि रहेको र यो विभेदको अन्त्य जरूरी भएको मन्त्री जम्मकट्टेलको धारणा थियो । यस्तो अवस्था आउनुमा विगतदेखिको सोच र नबदलिएको मानसिकता र प्रणालीको दोष भएको उनले बताए। मन्त्री जम्मकट्टेलले पत्रकारको सुरक्षाप्रति प्रदेश सरकार संवेदनशील रहेको र प्रेस स्वतन्त्रता तथा पत्रकारको उचित बेतनका लागि आफू विगतदेखि नै लागि परिरहेको उल्लेख गरे।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले पत्रकारलाई समाचार सङ्कलनका लागि संवेदनशील क्षेत्रमा जाँदा प्रशासनलाई जानकारी गराएर जान अनुरोध गरे। प्रशासन वा प्रहरीसँग समन्वय गरेर जाँदा सुरक्षाका कारण उत्पन्न हुने जोखिम कम हुने उनको धारणा थियो ।

प्रदेश नं ३ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतले पत्रकारलगायत आमनागरिकको सुरक्षाको सवालमा प्रहरी सङ्गठन सदा सकारात्मक रहेको बताए। पत्रकार महासङ्घ प्रदेश नं ३ का अध्यक्ष प्रताप विष्टले पत्रकारले किन सुरक्षा ‘थ्रेट’ को सामना गरेका छन् भन्ने गहिरो मूल्याङ्कन हुनुपर्ने उनको धारणा राखे।

पत्रकारलाई धम्की आउँदा किन आएको हो भन्ने छुट्याउनै समस्या भएको तथा पत्रकारकै पक्षमा बोल्ने वा नबोल्ने भनेर परिभाषित गर्नै समस्या भएको विष्टले बताए।

सञ्चारिका समूह प्रदेश नं ३ का अध्यक्ष तथा पत्रकार महासङ्घ मकवानपुर उपाध्यक्ष सरिता दाहालले महिला पत्रकारको सुरक्षा कमजोर भएको बताए। महिलालाई यौनजन्य कुरा जोडेर हतोत्साहित पार्ने, परिवारको सर्थन नपाएर महिला पत्रकारले पेशा परिवर्तन गर्नुपर्ने बध्याता आएको उनको धारणा थियो ।

कार्यक्रममा फ्रिडम फोरमका मकवानपुर संयोजक राममणि दाहालले देशमा हालसम्म ९७ पत्रकारमाथि प्रेस विरोधी गतिविधि भएको पाइएको बताए। दाहालले प्रदेश ३ मा मात्रै ३७ घटना भएको तथ्याङ्क सार्वजनिक गरे।

प्रकाशित मिति: : 2019-11-14 18:33:48

प्रतिकृया दिनुहोस्