उप–निर्वाचनमा कांग्रेस र समाजवादीबीच सहकार्य

सहकार्यको घोषणा गर्दै कांग्रेस र समाजवादी पार्टीका नेता । तस्बिर: बिएल

मोरङको धनपालथान गाउँपालिकामा मंसिर १४ गते हुने उप–निर्वाचनमा नेपाली कांग्रेस र समाजवादी पार्टीबीच सहकार्य हुने भएको छ ।

विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै सहकार्यको घोषणा गरिएको हो । कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बूले दुवै पार्टी एक भएर निर्वाचनमा होमिने स्पस्ट पारे । पत्रकार सम्मेलनका क्रममा सभापति लिम्बूले दुई तिहाइको कम्युनिष्ट सत्ताको दम्भ तोड्न लोकतन्त्रवादी शक्ति हुनुपर्ने आवश्यकता भएको औंल्याएका थिए । उनले भने, ‘कम्युनिष्ट दम्भ तोड्नका लागि समाजवादीको सहकार्यमा धनपालथान– २ मा कांग्रेसका नेता नारायण साहलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको छ ।’

कार्यक्रममा समाजवादी पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले विगतमा भएका कमीकमजोरी सच्याउदै दुवै दल इमान्दारिताका साथ एक भएर निर्वाचनमा प्रस्तुत हुने दाबी गरे । यसपटक समाजवादीले कांग्रेसलाई र अर्को निर्वाचनमा कांग्रेसले समाजवादीलाई सहयोग गर्ने दुवै दलबीच सहमति बनेको यादवको भनाइ छ ।

अर्कोतर्फ, नेकपाले सो क्षेत्रबाट पंकज मण्डललाई उम्मेद्वार बनाउने निर्णय गरेको जिल्ला सचिव गणेश उप्रेती ‘सुशील’ले जानकारी दिए । दुवै अध्यक्षका प्रत्यासीले बुधबार नै उम्मेदवारी दर्ता गराउने छन् ।

जिल्ला निर्वाचन अधिकारी महेशकुमार ठाकुरका अनुसार दुईवटा मतदान स्थल रहेको धनपालथान–२ मा पाँचवटा मतदान केन्द्र र चार हजार ७४ मतदाता छन् । वडा अध्यक्ष बलीराम भगतको २०७५ जेठ २४ गते सर्पले डसेर मृत्यु भएपछि रिक्त रहेको उक्त पदका लागि त्यहाँ आगामी मंसिर १४ गते उप–निर्वाचन हुने भएको हो ।

प्रकाशित मिति: : 2019-11-13 16:37:31

प्रतिकृया दिनुहोस्