दशगजामा भारतीयहरुले बनाए ११३ वटा घर, प्रहरी निरीह

मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टीमा दशगजा मिचेर विस्तार गरिएको बस्ती।

नेपाल र भारतबीच सीमा विवाद चर्किएका बेला मोरङको रतुवामाई र सुनवर्षी नगरपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रको दशगजा मिचेर भारतीयले घर लगायतका संरचना बनाइरहेका छन् ।

अहिलेसम्म रतुवामाई –१ सोनापुर र सुनवर्षी –८ सिक्टीमा दशगजा अक्रिमण गरेर भारतीयले एक सय १३ वटा घर बनाइसकेको रेकर्ड नेपाली सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीसँग छ। जसमध्ये सोनापुरमा ३८ र सिक्टीमा ७५ छन्। दशगजामा बस्ती विस्तार गर्ने क्रम तीव्र भए पनि रोक्न भने सकिएको छैन। सशस्त्र र नेपाल प्रहरी तथा स्थानीयले दशगजा अतिक्रमण गरेर घर लगायतका संरचना निर्माण नगर्न पटक–पटक आग्रह गरे पनि सुनुवाई भएको छैन।

बैकुण्ठको दौडको ५० वर्षः मनिलामा विदेशी धावकलाई कसरी झुक्याए बैकुण्ठले? (भिडियोसहित)

भारतीय सीमा सुरक्षा सुरक्षा वल (एसएसबी)को आडमा भारतीयले धमाधम संरचना बनाएर दशगजामा बसोबास गर्न थालेका हुन् । सशस्त्रका इन्सपेक्टर (प्रहरी निरीक्षक) को नेतृत्वमा रहेको बोर्डर आउट पोस्ट बरडंगालाई सोनापुर र सिक्टी दुईवटै नाका हेर्ने जिम्मेवारी छ।

सीमा सुरक्षाका लागि स्थापना गरिएको सशस्त्रको यो युनिट नाकाबाट १९ किलोमिटर उत्तरमा पर्छ । साेनापुर र सिक्टीमा नेपाल प्रहरीका असईको नेतृत्वमा एक–एक वटा प्रहरी चौकी छन्।

अतिक्रमण रोक्ने र नियन्त्रण गर्ने बलियाे सरकारी संयन्त्र नाकामा नहुँदा यसको फाइदा उठाउँदै भारतीयले मनमौजी हिसावमा बस्ती विस्तारको मौका पाएको स्थानीयको गुनासो छ। संख्यात्मक हिसावमा नेपाल प्रहरी थोरै भएकाले पनि भारतीयले टेर्दैनन्।

सिक्टीका स्थानीय मोहम्मद राजाले सीमाका दुईवटा जंगे र दुईवटा मझौला पिलर भारतीयले विस्तार गरेको घना बस्ती भित्र पर्ने जानकारी दिए। भारतीयको पछिल्लो गतिविधी हेर्दा दशगजासँगै नेपाली भूमि अतिक्रमणको योजना बुनेर अघि बढेको प्रष्ट हुने उनको भनाइ छ। राजाले भारतीय यो गतिविधीमा हतियारधारी एसएसबीको अप्रत्यक्ष सहयोग रहने गरेको बताए । 

डा. शान्तिप्रियाको जस्तो अवस्था अरू कसैको नहोस्! (भिडियोसहित)

भारतीयले दशगजा मिच्दै घर बनाएर बस्ती विस्तार गर्ने, खन्ने, बालीनाली र तरकारी लगाउने, माटो खनेर ठूला खाल्टा बनाइदिने, आँगन पुर्ने, घर बनाउने, बारबेरा गर्ने लगायतका काम गरिरहेको रतुवामाई –१ का अध्यक्ष हरि गिरीले बताए।

विभिन्न गतिविधी र अतिक्रमणका कारण दशगजा र नेपाली भूमि जोखिममा परिरहेको उनको भनाइ छ । दशगजामा कुनै पनि भौतिक संरचना निर्माण तथा कुनै गतिविधी गर्न र बस्ती बसाउन नपाइने नियमको उल्लंघन गर्दै भारतीय पक्षले एकलौटी रुपमा बस्ती बसाए पनि नेपाल सरकार र प्रशासनिक निकायले त्यसलाई रोक्न प्रभावकारी कदम चाल्न नसकेको गिरीको भनाइ छ ।

‘दुई देशीय सीमानामा बस्ती बसाउनु कूटनीतिक मर्यादा विपरित हो,’ वडा अध्यक्ष गिरीले भने, ‘धेरै सम्झाई बुझाई गरे पनि भारतीयले नमान्दा अतिक्रमणकै कारण दशगजा गहिरिएर गइरहेको छ ।’

उनकाअनुसार केही समयअघिसम्म एक–दुईवटा घर रहेको दशगजा अहिले भारतीयले बस्ती विस्तार गरेर ढाकिसकेका छन्।

सुनवर्षी–८ का वडा अध्यक्ष नुरुल मियाँले दलबलसहित भारतीयहरु एकजुट भएर बस्ती विस्तारमा लाग्ने गरेका कारण स्थानीयले खुलेर त्यसको विरोध गर्ने र बोल्न सक्ने अवस्था नरहेको बताए ।

‘बस्ती विस्तार भएको विषयमा बोल्न थाल्यो भने महिला र बालबालिकालाई अगाडि सारेर प्रतिकार गर्छन्,’ उनले भने, ‘उनीहरुका साथमा हतियारसहितका एसएसबी हुन्छन् ।’ मियाँका अनुसार दशगजाका पिलर भारतीयका आँगनमा पर्छन् र घरसँग टाँसिएका छन् । जंगे पिलर भारतीय बालबालिकाको खेल्ने ठाउँ बनेको छ।

जुडोका अन्तर्राष्ट्रिय पदकधारी खेलाडी दृष्टिविहीन आदित्य (भिडियोसहित)

नेपाली नागरिकले विरोध गर्दा एसएसबीको आडमा भारतीयले प्रतिकार गर्ने गरेको गुनासो स्थानीयको छ । प्रहरी चौकी सोनापुरका असइ रोशनकुमार चौधरीले सीमा क्षेत्रमा भइरहेको गतिविधीका बारेमा माथिल्लो निकायमा जानकारी गराइएको बताए ।

‘अहिले थप बस्ती विस्तार गर्न, बाली लगाउन र माटो उत्खनन् गर्न नदिन हामी लागेका छौं,’ उनले भने, ‘जति सक्दो चाँडो अतिक्रमित ठाउँबाट बस्ती उठाउनु पर्छ भनेर भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग आग्रह गर्ने काम भइरहको छ।’ पिलरको छेउछाउ नै घर बनाएर बसिसकेका कारण हटाउन धेरै गाह्रो भएको भन्दै असई चौधरीले यसमा भारतीय अधिकारीको ध्यानआकर्षण गराइएको जानकारी दिए ।

सशस्त्रको बोर्डर आउट पोस्ट बरडंगाका इन्सपेक्टर झपिन्द्र बानियाले दशगजाको अतिक्रमण हटाउन एसएसबीसँग समन्वय गर्ने काम भइरहेको बताए । ‘सीमा क्षेत्रमा नेपाल–भारतको संयुक्त गस्ती गरेर अतिक्रमण हटाउँदै दशगजा खाली गर्नुपर्छ भन्ने बारेमा पछिल्लो समय एसएसबी सहमत भएको छ,’ उनले भने, ‘तर पटक–पटक आग्रह गरेर सम्झाई बुझाई गर्दा पनि भारतीय बस्ती विस्तार गर्ने क्रम रोकिएको छैन।’

मिचिएको दशगजा अबको छ महिना भित्रमा खाली गर्नु पर्ने अडानमा आफूहरु रहेको बानियाको भनाइ छ ।

मुल्य घटे पनि जाँगर घटेन, उत्पादन बढ्ने आशामा अलैंची किसान

इन्सपेक्टर बानियाले यसअघि एसएसबीले भारतीयलाई संरचना निर्माण गर्न सहयोग गरेको बताइए पनि पछिल्लो समय एसएसबी समेत दशगजाको बस्ती जति सक्दो चाँडो हटाउँदै राम्रो हुने निस्कर्षमा पुगेको जानकारी दिए। उनले दशगजा क्षेत्रमा भारतीयले बलमिच्याई हिसावमा गरिरहेको अतिक्रमण र बस्ती विस्तारका बारेमा माथिल्लो निकायमा जानकारी गराउने काम भइरहेको बताए। 

भारतसँग सीमा जोडिएका जिल्ला झापा, मोरङ र सुनसरीमा भएका अतिक्रमणका बारेमा जानकारी लिन सरकारले नापी विभागका अधिकृत सुशील डंगोलको नेतृत्वमा टोली खटाइएको थियो। टोलीले चार वर्षअघि पिलरको लगत संकलन र दशगजा अतिक्रण बारे स्थलगत अध्ययन गरेको थियो।

बिएलसँगकाे कुराकानीमा अधिकृत डंगोलले स्थलगत रुपमा काम गर्दा भारतीयले दशगजा क्षेत्र अतिक्रमण गरेर संरचना निर्माण गर्ने गरेको पाइएपछि त्यसलाई हटाउन आवश्यक रहेको सुझाव दिएको बताए।

मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले दुई देशबीच हुने प्रत्येक बैठकमा यो विषय उठान हुने गरेको बताए। ‘दुई देशबीचको बैठकमा यो विषय उठान हुन्छ,’ उनले भने, ‘बैठकमा भारतीय पक्ष दशगजाको अतिक्रमण हटाउन सहमत भए पनि कार्यान्वयन भने गरेको पाइँदैन।’

सहायक प्रजिअ भण्डारीले दशगजाको अतिक्रमण हटाउन सुरक्षाकर्मी नै परिचालन गर्ने सवालमा भारतीय अधिकारीसँग तत्काल कुरा चलाइने बताए । ‘स्थानीय प्रशासनले अतिक्रमणका विषयमा जानकारी लिएर तत्कालनै गृह मन्त्रालयलाई जानकारी गराउने काम गरेको छ,’ उनले भने, ‘कहाँ अतिक्रमण भइरहेको छ र कस्ता संरचना निर्माण भइरहेका छन् भन्ने जानकारी लिएर हटाउने पहल पनि भइरहेको छ।’

प्रकाशित मिति: : 2019-11-13 15:59:32

प्रतिकृया दिनुहोस्