सीमा अतिक्रमणका बारेमा भारतसँग सरकारले छलफल सुरु गरिसक्यो: परराष्ट्रमन्त्री (भिडियोसहित)

फाइल तस्बिर

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा अतिक्रमणका बारेमा भारतसँग नेपाल सरकारले छलफल सुरु गरिसकेको बताएका छन्।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समिति बैठकमा उनले भारतले कालापानी क्षेत्रमा अतिक्रमित गरेको नेपाली भूमि फिर्ता गराउन भारतसँग बार्ता थाल्न सम्पर्क सुरु भइसकेको दाबी गरेका हुन्।

मन्त्री ज्ञवालीले परराष्ट्र सविचस्तरीय बैठकको तयारी भइरहेको जानकारी सांसदहरुलाई गराउँदै उच्च राजनीतिक तहमा वार्ता आवश्य परे त्यो काम पनि प्रधानमन्त्रीले गर्ने बताए। नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा कालापानी क्षेत्रको विवाद परराष्ट्र सविचस्तरीय संयन्त्रबाट टुंग्याउने सहमति भइसकेको भन्दै उनले एकपक्षीय ढंगबाट भारतले गरेको काम मान्य नहुने बताए।

उनले नेपालले विवाद समाधानका लागि कूटनीति पहललाई नै प्राथमिकतामा राखेको जानकारी गराउँदै त्यो कूटनीतिक प्रयासबाट सुल्झने विश्वास समेत व्यक्त गरे ।

बैठकमा समिति सदस्यहरुले छिटोभन्दा छिटो सीमा मिचिएको बिषयमा सरकारले भारतसँग स्पष्ट छलफल गर्नुपर्ने जिकिर गरेका थिए । उनीहरुले नेपालको सीमा मिच्ने प्रवृति छिमेकी मुलुकबाट पटक पटक हुने गरिएको भन्दै यसको दिर्घकालीन समाधान खोज्नुपर्ने बताए ।

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाल भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई पारेपछि त्यसको चर्को विरोध भइरहेको छ ।

प्रकाशित मिति: : 2019-11-11 17:50:35

प्रतिकृया दिनुहोस्