पानी नपरेपछि मोरङको रंगेलीमा भ्यागुताको विवाह

बिएल

 

मोरङको रंगेली नगरपालिका ७ मा रहेको सन्सारी मंन्दिरमा स्थानीय कृषकहरुले पोथी भ्यागुतो र भाले भ्यागुतोको विवाह सम्पन्न गरेका छन् । 

मध्य असार बितिसक्दा पनि वर्षा नभएपछि भगवानलाई खुसी बनाउन कृषकहरुले भ्यागुतोको विवाह गराएका हुन्।

परापूर्व कालमा बुढापाकाहरुले समयमा पानी नपर्दा भ्यागुतोको विवाह गर्ने प्रचलन चलाएका थिए। अहिले पनि यहाँ जनविश्वास छ, भ्यागुतोको विवाह गर्दा पानी पर्छ भन्ने।

वैवाहिक कार्यक्रममा बेहुला र बेहुलीपक्ष उपस्थित भएर भ्यागुतोको विवाह सम्पन्न गराएका थिए। विवाहमा मन्दिरका पुजारीले वैद्धिक मन्त्र पढेपछि भाले भ्यागुताको तर्फबाट पोथी भ्यागुतालाई चुरा पोते तथा श्रृंगारका सामान पहिरेर बेहुलीझै सिङ्गारिएको थियो । विवाहमा स्थानीय किसानहरू जन्ती बनेका थिए।

रंगेली नगरपालिका वडा न ७ का अध्यक्ष रामचन्द्र मण्डल र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सञ्जीव श्रेष्ठलेले बेहुला र बेहुली पक्षको भूमिका निर्वाह गरेका थिए।

कार्यक्रममा रंगेली, सुनवर्सी नगरपालिका तथा धनपालथान गाउपालिकाका किसानको सहभागिता थियो । समयमा वर्षा नभएका कारण मोरङमा अहिले सम्म १५ देखी २० प्रतिशतमात्र धान रोपाई भएको छ ।

अघिल्लो वर्ष मोरङमा यति बेलासम्म ४० प्रतिशत बढी रोपाई भइसकेको थियो। निरन्तर वर्षा हुने असार महिनामा वर्षा नभएपछि भ्यागुताको विवाह गरेको कृषकहरू बताउँछन् ।

प्रकाशित मिति: : 2019-07-06 15:45:07

प्रतिकृया दिनुहोस्