उपनिर्वाचन २०७६ : कास्की–२ मा १० स्वतन्त्रसहित २१ उम्मेदवार

फाइल तस्बिर

कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य पदका लागि हुन गइरहेको उपनिर्वाचनमा अब २१ उम्मेदवार चुनावी मैदानमा छन्।

प्रतिनिधिसभा सदस्यका लागि कात्तिक २१ गते २२ जनाले मनोनयन दर्ता गरेका थिए । स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत कार्यालयका महेन्द्र सुवेदीले जानकारी गराए। निर्वाचन अधिकृतको कार्यालयले आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको छ।

सो अनुरुप, कास्कीमा १० स्वतन्त्रसहित ११ राजनीतिक पार्टीका उम्मेदवारहरु चुनावी मैदानमा छन्। नेपाल कम्युष्टि पार्टी (नेकपा)बाट विद्या भट्टराई, नेपाली काङ्ग्रेसबाट खेमराज पौडेल, नेपाली काङ्ग्रेस (विपी)बाट चन्द्रबहादुर रानाभाट, नेपाल कम्युनिष्ट पार्टी (माले)बाट टेकनाथ भण्डारी, समाजवादी पार्टीबाट धर्मराज गुरुङ र मङ्गोल नेशनल अर्गनाइजेशनबाट रियाज गुरुङ छन्।

त्यस्तै साझा पार्टीबाट रजनी केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी, राष्टिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, देशभक्त समाज पार्टीबाट वीरबहादुर विश्वकर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट श्रीमती गङ्गा मल्ल छन।

यस्तै स्वतन्त्ररूपमा चुनावी मैदानमा उत्रनु भएका उम्मेदवारहरूमा उमानाथ गौतम, कमलजङ्ग कुँवर, जमुना शर्मा, दीपक रेग्मी र नवराज बाँस्तोला छन्। त्यस्तै, अन्य स्वतन्त्र उम्मेदवारमा यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनीलबहादुर कोइराला र सुनील भुषाल छन्।

प्रकाशित मिति: : 2019-11-10 17:52:52

प्रतिकृया दिनुहोस्