सडक मर्मत कमसल भएको स्थानीयको गुनासो, तत्काल काम रोक्न निर्देशन (भिडियो)

तस्बिरः बिएल नेपाली सेवा

कर्णाली राजमार्गको जुम्ला–नाग्म सडक खण्ड अन्तर्गत तिला गाउँपालिकाको कुडारी सडकखण्ड मर्मतको क्रममा ठेकेदार कम्पनीले कमसल काम गरेको गुनासो स्थानीयले गरेका छन्।

घर अगाडिको बाटो मर्मत गर्दा कमसल खालको भएको भन्दै कुडारीका स्थानीयबासीले प्रशासनमा उजुरी दिएका छन्।

कुडारीका जरिलाल भट्टराईलगायत गाउँलेले केही समय अगाडि जिल्ला प्रशासन, प्रहरी कार्यालय र सडक विभागमा मौसम उपयुक्त नभएको भन्दै सडक निर्माण रोक्न भनि निवेदन दिएका हुन्।

‘ठेकेदारले काम राम्रो गरेनन्। काम कमसल भएको छ,’ भट्टराईले भने, ‘प्रविधि राम्रो भए पनि मौसमले साथ नदिएको कारण यो काम गर्न नहुने भनि तत्काल रोक्न लगाउन हामीले निवेदन दिएका हौं,’ भट्टराईले भने।

नेपालजन्ज, सुर्खेत जस्तो तातो ठाउँमा समस्या नरहे पनि, चिसो ठाउँका लागि प्रविधि उपयुक्त नभएको उनीहरूको भनाई छ।

यता ठेकेदार कम्पनिले भने काम रोकिएको जनाएको छ। खड्का निर्माण सेवाले जिम्मा लिएको उक्त सडक मेन्टेनेन्सको काममा मेटेरियल चाहिनेभन्दा बढी प्रयोग भएको तथा काम राम्रो गर्न खोज्दा पनि नराम्रो देखिएकाले जाडो सिजन भरि काम नगर्ने भनि रोकिएको निर्माण सेवाका सुमन खड्काले बताए।

निर्माण सेवाले ७६ हजार वर्गमिटर बराबरको सडक मेन्टेनेन्सको जिम्मा लिएको छ। खड्काका अनुसार हालसम्मको काम गुणस्तरीय भएको छ। ‘अत्यन्तै चिसो भएको बेला पनि काम भएकाले केही ठाउँमा गिट्टी टाँसिएको छैन। अहिले काम रोकेका छौं। मर्मतको क्रममा राम्रो नभएको ठाउँमा पछि मेन्टनेन्स गरिनेछ,’ उनले भने।

डिभिजन सडक कार्यलयले सस्तो र राम्रो प्रविधि प्रयोग गरी सडक मर्मत गर्न लागेका जनाएको छ। स्थानीयले यो खालको प्रविधि नबुझेको हुनाले विरोध गरिरहेको कार्यालयका प्रमुख श्रवण कुमार महताराले बताए।

‘हालसम्म कर्णाली राजमार्गमा यस्तो काम भएको छैन। यो रिसिलिङको काम हो। सस्तो र गुण्स्तरीय भएको हुनाले यो प्रविधि सिफारिस गरेका हौं,’ उनले भने, ‘अलकत्रा हालिसकेपछि गिट्टी हाल्ने र कम्तिमा एक हप्ता गाढी गुडाएर बढार्ने गरिन्छ। सडक बनाउने क्रममा नराम्रो देखिएपनि गुणस्तर निकै राम्रो हुन्छ। हाललाई जनस्तरबाट विरोध भएपनि प्रविधि राम्रो छ भने बढि टिकाउ पनि हुनेछ।’

काम राम्रो नभएको खण्डमा कार्यालयले भुक्तानि नदिने र बिग्रेको ठाउँमा बनाउन लगाउने पनि उनले बताए।

तर स्थानीयले काम कमसल भएको गुनासो गरेका छन्। खासगरि पछिल्लो केही दिन यता गरिएको काम चिसोका कारण नराम्रो देखिएकाले गाउँलेहरुको विरोध स्वभाविक भएको पनि डिभिजन सडक कार्यालयले जनाएको छ।

सडक रिसोलिङको क्रममा कमसल गुणस्तरको भएको र माटो देखिरहेको तथा हालेको अलकत्रामा गिट्टी नचिप्किएको तिला गाउँपलिका ४ का कैलाश कुमार शाहीले बताए। ‘धेरै मान्छेले काम मन पराएका छैनन्। पहिलाको जे थियो त्यही मात्र रहेको छ। काम राम्रो देखिएन। केही गिट्टि चप्किदिएको भएपनि हुन्थ्यो। जनता पनि खुसी हुन्थे,’ उनले भने, ‘पहिलाका खाल्डाखुल्डी जस्ता थिए त्यस्तै रहेका छन्। काम कस्तो प्रकारको हो त्यो त हामीलाई थाहा छैन तर काम हेर्दाखेरी उपयुक्त भएको छैन। हामीलाई लागेको यहि हो। सबैले यहि भनिरहेका छन्।’

तिला गाउँपलिका अध्यक्ष रततनाथ योगीले गाउँलेको गुनासो आइसकेपछि आफैं हेर्न गएको बताए। उनले भने, ‘अलकत्रा धेरै प्रयोग भएको छ। तर चिसोका कारण अलकत्राले गिट्टी समाएको छैन। हामीले काम तुरुन्तै रोक्नू भनेका छौं। अगाडिको काम ठिक छ। तर पछिल्लो चार, पाँच दिनमा भएको काम क्वालिटिको छैन।’

त्यस्तै काम कमसल भएको भनि केही मान्छेहरु आफूसँग निवेदन दिन आएको गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया बुढाले बताइन्। तर त्यस्ता प्रकृतिका मुद्दा आफूहरुले नहेर्ने भएकाले प्रशासन कार्यालयमा पठाइएकोउनले थपिन्।

प्रकाशित मिति: : 2019-11-09 22:28:07

प्रतिकृया दिनुहोस्