साबधान! भारत जाँदै हुनुहुन्छ?

Agency

के तपाई आजभोली नै काम विशेषले अथवा घुम्नका लागि भारत जाने तयारीमा हुनुहुन्छ। खबरदार! हतार नगर्नु होला। तत्कालै भारत जाँदै हुनुहुन्छ भने विशेष साबधानी अपनाउनु होला। किनभने भारतको सबैभन्दा विवादास्पद र पेचिलो मुद्धा राम जन्मभूमि–बाबरी मस्जिदको निर्णय शनिबार बिहान १० बजेर ४५ मिनेटमा सार्वजनिक हुदैछ।

भारतको उत्तर प्रदेशस्थित अयोध्यामा रहेको राम जन्मभूमीको मन्दिर सम्बन्धि पाँच सय वर्ष पुरानो विवादको अन्तिम फैसला भारतको सर्वोच्च अदालतका प्रधानन्याधीश रञ्जन गोगाईको नेतृत्वमा रहने ५ सदस्यीय बेञ्चले शनिबार गर्दैछ। अदालतले ४० दिन लगाएर हिन्दु र मुसलमानहरूको तर्क सुनेपछि निर्णय गर्न लागेको हो।

निर्णयपछि भारतमा हुन सक्ने दंगाको माहौलका बीच सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ। सर्वोच्च अदालतका प्रधानन्याधीश गगोईले शुक्रबार सुरक्षा व्यवस्थाको विषयलाई लिएर उत्तर प्रदेशका मुख्यसचिव आरके तिवारी र प्रहरी प्रमुख ओमप्रकाश सिंहसमेत वरिष्ठ अधिकारीसँग भेट गरेका थिए।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि राम जन्मभूमि–बाबरी मस्जिदको पेचिलो निर्णयबाट उत्पन्न हुन सक्ने दंगालाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर म्याराथन बैठकमा बसिरहेका छन्।

उत्तर प्रदेश सरकारले ११ नोभेम्बरसम्म शैक्षिक संस्थान बन्द गर्ने निर्णय गरिसकेको छ। सुरक्षा व्यवस्था चुस्त राख्न अयोध्यामा थप ४ हजार अर्धसैनिक बल परिचालन गरिएको छ। सोसल मिडियामा भडकाउ प्रचार गर्ने व्यक्तिमाथि नियन्त्रण राख्न सरकारले १६ सय स्थानमा १६ हजार भोलेन्टियर तैनाथ गरिसकेको छ। यस्तै, २० लाख वाट्स एप बन्द गरिएको छ।

रेल्वे प्रहरीले पनि शुक्रबार नै एउटा एडभाइजरी जारी गरेको छ। भीड हुने ७८ स्टेशनमा सुरक्षा व्यवस्था अति कडा पारिएको छ। अयोध्यामा यसअघि नै धारा १ सय ४४ लागु गरिसकेको छ।

प्रकाशित मिति: : 2019-11-08 22:53:58

प्रतिकृया दिनुहोस्