सातै प्रदेश प्रमुखको नाम टुंगो लगाएसँगै मन्त्रिपरिषदको बैठक बालुवाटारमा सुरु

फाइल तस्बिर

प्रदेश प्रमुखको नियुक्तिका विषयमा निर्णय लिन मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । 

नेकपा सचिवालय बैठकले केही समय अगाडी मात्रै सातै प्रदेशका लागि प्रमुख नियुक्तिका लागि नाम सिफारिस गरेको थियो । 

अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा) गोविन्द कलौनी (डडेल्धुरा), शर्मिला त्रिपाठी (काठमाडौँ) र विष्णु प्रसाईँ (झापा) को नाम सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको बैठकपछि नेकपा प्रवक्ता विष्णु पौडेलले जानकारी दिए ।

‘यद्यपि कुन प्रदेशका लागि के गर्ने भन्ने विषयमा सरकार र राष्ट्रपतिले निर्णय गर्नुहुन्छ,’ उनले भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त पदमुक्त गरेकी थिइन्।सो उपदफामा निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा प्रदेश प्रमुख पद रिक्त हुने व्यवस्था छ । विसं २०७४ को निर्वाचन सम्पन्न भइसकेपछि अघिल्लो सरकारद्वारा ती प्रदेश प्रमुखको नियुक्ति भएकामा नेकपाले त्यसबेला आपत्ति जनाएको थियो ।

सरकारले आइतबार बेलुकी नै मन्त्रिपरिषद् बैठक डाकेर प्रदेश प्रमुख नियुक्तिको तयारी गरे पनि नेकपा सचिवालय बैठकमा प्रदेश प्रमुखका नाममा सहमति बन्न सकेको थिएन।

प्रकाशित मिति: : 2019-11-04 14:15:28

प्रतिकृया दिनुहोस्