आलमविरुद्ध जन्मकैदको मागदाबीसहित आज अदालतमा मुद्दा दर्ता हुँदै

फाइल तस्बिर:बिएल

कांग्रेस नेता मोहम्मद अफताव आलमलाई जन्मकैदको मागदाबीसहित रौतहट जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता हुँदै छ ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा आफ्ताब आलम, उनका भाइ महताबसहित मबिन आलम, शेख भदइ, शेख एराज, बद्री सहनीलगायत ११ जनाविरुद्ध सर्वस्वसहित जन्म कैदको माग गर्दै मुद्दा दायर गर्ने तयारी रहेको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

बेलुका ४ बजेसम्ममा जिल्ला अदालतमा मुद्दा दायर गरिने जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले जानकारी दिए । सोमबार मुद्दा दायर भए मंगलबारदेखि आलमसँग अदालतमा बयान र थुनछेकको बहस सुरु हुनेछ ।

पहिलो संविधानसभा चुनावताका २७ चैतमा रौतहट क्षेत्रनम्बर २ बाट कांग्रेस उम्मेदवार आलमले मतदानस्थल नजिकै बम पड्काएर बुथ कब्जा गर्ने योजना बनाएका थिए । सोही योजनाअनुसार काका शेख इद्रिसको गोठमा बम बनाउँदाबनाउँदै विष्फोट भयो । सोही विष्फोटमा घाइते भएका त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँलाई इँटाभट्टामा हालेर हत्या गरेको अभियोग आलममाथि लागेको छ ।

उनीहरूका परिवारले किटानी जाहेरी दिएपछि गत असोज २६ गते आलम पक्राउ परेका थिए ।

प्रकाशित मिति: : 2019-11-04 10:35:59

प्रतिकृया दिनुहोस्