क्यानडाका नेपालीमाझ बारम्बार सुनिने एउटा नाम हो– तुलसी धरेल। नामका अघि जोडिने डाक्टर, प्राध्यापक, समाजसेवी, उत्कृष्ठ आप्रवासीजस्ता थुप्रै ‘चिनारी’ छन् उनका। चितवनमा जन्मेहुर्केका धरेलले क्यानडा कर्मथलो बनाएको दुई दशक पुगेको छ।
झट्ट हेर्दा धरेल होचो कदका लाग्छन् तर क्यानडाको शैक्षिक क्षेत्रमा उनको सफलता अग्लो छ। हाल प्राध्यापनरत टोरन्टोको ‘सेन्टेनियल कलेज’मा उनी ‘एकेडेमिक गभर्नर’ हुन्। प्राध्यापन पेशामा तीन दशक बिताइसकेका धरेल ‘कर्न्सन नेपाल, क्यानडा’का संयोजक पनि हुन्।
दुई बर्षअघि ‘एसियन क्यानेडियन अवार्ड’ पाएका धरेल गत बर्ष आरविसी बैंकको ‘उत्कृष्ठ ७५ क्यानेडियन आप्रवासी’ मा परेका थिए। सोही बैंकले काम र भोटका आधारमा बर्षेनी गर्ने छनौट प्रतियोगितामा उनी यस बर्ष सयौं प्रतिस्पर्धीलाई पछि पार्दै ‘उत्कृष्ठ २५ क्यानेडियन आप्रवासी’ मा पर्न सफल भएका छन्, जसको छिट्टै औपचारिक घोषणा हुँदैछ।
सन् १९९५ मा भारतको इन्दौरस्थित ‘इन्स्टिच्युट अफ म्यानेजमेन्ट स्टडिज’बाट सोसल मार्केटिङ बिषयमा पिएचडी गरेका धरेल नेपाल, मंगोलिया हुँदै क्यानडामा प्राध्यापनरत छन्। यहाँ विल्फ्रेड लौरियर युनिभर्सिटी वाटरलु, जर्ज ब्राउन कलेज हुँदै अहिले सेन्टेनियल कलेजको जिम्मेवार तहमा पुगेका हुन्।
स्थायी रुपमा क्यानडा बसे पनि धरेल जन्मभूमिसँग हरबखत जोडिइरहने नेपाली हुन्। चाहे हरेक बुद्ध जयन्तीमा चन्द्र सूर्यअंकित झण्डा फहराउँदै टोरन्टोको सडकमा नेपाली र्यालीको अगुवाई गर्दा होस्, चाहे संघ संस्थाको नेतृत्व गरेर मातृभूमिप्रति के कसो गर्न सकिन्छ भन्ने कार्यक्रम गर्दा, उनी अग्रपंक्तिमा हुन्छन्।
‘शिरमा सगरमाथा र छातीमा बुद्ध बोकेर हिँडेको छु’ भन्ने धरेलको कर्मथलो क्यानडा यस्तो राष्ट्र ह्,ो जहाँको २२ प्रतिशत जनसंख्या उनीजस्तै आप्रवासीहरुको छ। क्यानडामा अबका तीन बर्षभित्र थप १० लाख नयाँ आप्रवासी भित्रिँदैछन्। उच्च शिक्षा अध्ययननिम्ति संसारभरबाट आउने विद्यार्थीको संख्या नै बर्षेनी ५ लाख नाघ्न थालेको छ।
विदेशी बिद्यार्थी मुख्यत तीन कारणले क्यानडा रोज्छन्– शैक्षिक गुणस्तर, सुरक्षित वातावरण, विभेदमुक्त समाज। क्यानेडियन ब्युरो फर इन्टरनेशनल एजुकेशनका अनुसार, त्यसरी आउनेमा भारतीय सबैभन्दा बढी छन्। त्यसपछि क्रमशः चीन, दक्षिण कोरिया, फ्रान्स, भियतनाम, अमेरिका, ब्राजिल, नाइजेरिया, इरान र जापानका विद्यार्थी क्यानडामा धेरै भित्रिन्छन्।
एक अध्ययनअनुसार पढाई सकेपछि ४० प्रतिशत विद्यार्थी मात्र स्वदेश फर्किन्छन्। ६० प्रतिशतले क्यानडाको स्थायी आवास रोज्छन्। सुरुवाती बर्षमा काम र पढाईको चापले विद्यार्थीलाई केही असहज महसुस भए पनि निरन्तर मेहेनत गर्दा भविष्य उज्वल हुने अनुभवी प्राध्यापक धरेल सुझाउँछन्। उनको कलेजमा पनि नेपालीसहित धेरै राष्ट्रका विद्यार्थी छन्।
नेपालबाट पनि बर्षमा ५ सयभन्दा धेरै विद्यार्थी क्यानडा आउन थालेको सन्दर्भमा ‘ब्रेक एण्ड लिंक्स’ले उनै धरेलसँग नेपाल सम्बन्ध, क्यानेडियन शिक्षा, पठन प्रक्रिया, चुनौती र अवसरबारे कुराकानी गरेको छ। आशा छ, क्यानडालाई शैक्षिक गन्तव्य बनाउन चाहने नेपाली विद्यार्थीका लागि यो सामग्री पक्कै उपयोगी हुनेछ।