म्यानमारको यागौं शहरमा समता विद्यालयको उद्घाटन गरिएको छ।
सस्तो शुल्कमा गुणस्तरीय शिक्षा आर्जन गर्ने माध्यम बनेको समता यागौं शहरमा पनि शाखा स्थापना गरेको हो।
मासिक एक डरल शुल्क दिनुपर्ने समता विद्यालयमा अध्यापनका लागि सात जना शिक्षक र ६३ जना विद्यार्थीले अध्ययन गरिरहेका छन्।
अशक्त विद्यार्थीका लागि राम्रो शिक्षा प्रदान गर्नु नै समता विद्यालय खोल्नुको मुख्य उद्धेश्य रहेको सञ्चालक उत्तम सञ्जेलले बताए।
पढाईमा राम्रो रूची हुँदासमेत महंगो शुल्क दिन नसक्नेका लागि, राम्रो माध्यम बनेको बर्मेली नेपाली अभिभावकले बताएका छन्।
थोरै शुल्कमा उत्कृष्ट विद्या आर्जन गर्ने ठाउँ बनाउन दानिदाताहरूले महत्वपूर्ण योगदान दिएको विद्यालयकी अध्यापिका गीता गौतमले जानकारी दिइन्।
यसैबीच थाई नेपाली संघका अध्यक्ष कुमार कार्कीले म्यान्मारमा समता सञ्चालनका लागि लाग्ने एक वर्षसम्मको सबै जिम्मेवारी आफूले व्यहोर्ने बताएका छन्।
‘विद्यालय चलाउनका लागि के कति सहयोग गर्नुपर्छ मैले योगदान दिन्छु,’उनले भने।
समता विद्यालय उद्घाटन कार्यक्रममा यागौं सरकारी पदका यु तुन ई, नेपालका लागि म्यानमारका राजदूत भीमकृष्ण उदास, नेपालका चर्चित हाँस्य कलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, सञ्चालक उत्तम सन्जल, बर्माका साहित्यकार लक्ष्मण न्यौपाने, युङ लामा कार्की, अखिल म्यान्मार देशीय गोर्खा हिन्दु धार्मिक संघका अध्यक्ष सागर घिमिरे, थाई नेपाली संघका अध्यक्ष कुमार कार्कीलगायतको उपस्थिति थियो।
समता विद्यालय नेपालका सबै जिल्लासहित भारत, म्यानमारलगायत अन्य देशसमेत सञ्चालन भइरहेको समता फाउन्डेसनले जानकारी दिएको छ।