विद्यार्थीलाई कुटपिट गरी घाइते गराएको आरोपमा रोल्पा रुन्टीगढी गाउँपालिका–८ मगरगोरीस्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुन पक्राउ परेकी छन्।
गत जेठ १२ गते विद्यालय ढिलो आएको भन्दै कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने विभिन्न १४ जना विद्यार्थीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षिका पुन पक्राउ परेकी हुन्।
पीडित पक्षले जेठ १९ गते इलाका प्रहरी कार्यालय होलेरीमा उजुरी दिएपछि इप्रका होलेरीका प्रहरी निरीक्षक मेघनाथ चापागाईको नेतृत्वमा गएको प्रहरी टोलीले उनलाई घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक दिपक खड्काले जानकारी दिए।
डीएसपी खड्काका अनुसार आरोपितलाई अभद्र व्यवहारअन्तर्गतको कानुनी कारबाहीका लागि जिल्ला अदालत रोल्पाबाट म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको छ।
प्रधानाध्यापक झगबहादुर भण्डारी तालिममा होलेरी गएका बेला निमित्त प्रधानाध्यापकको जिम्मेवारी पाएकी शिक्षिका लक्ष्मीले विद्यार्थीमाथि कुटपिट गरेकी थिइन्।
शिक्षिकाको कुटपिटबाट भीमकुमारी बाँठा, गौरी घर्ती, निर्मला पुन, शान्ता नेपाल र विमला रोकाको हात भाँचिएको छ।
उनीहरुको दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा हातको प्लाष्टर गरिएको थियो।