निमित्त प्रधानाध्यापकको कुटाइबाट रोल्पामा पाँच जना छात्राको हात भाँचिएको छ। यस्तै थप १४ जना विद्यार्थी घाइते भएका छन्।
रूम्टीगढी गाउँपालिका- ८ स्थित भानु आधारभूत विद्यालयकी निमित्त प्रधानाध्यापक लक्ष्मी पुनले जेठ १२ गते विद्यार्थीमाथि जथाभावी लाठी प्रहार गर्दा ५ छात्राको हात भाँचिनुका साथै दर्जनबढी विद्यार्थी घाइते भएका हुन्।
हात भाँचिनेमा कक्षा सातमा अध्ययनरत १४ बर्षीया विमला घर्ती, १५ वर्षिया भीमकुमारी बाँठा, १३ वर्षिया निर्मला पुन, १४ वर्षिया गौरी घर्ती, १५ वर्षिया शान्ता नेपाली र १४ वर्षिया बिमला रोका छन्।
हात भाचिएका सबै विद्यार्थीको आइतबार दाङको तुलसीपुरस्थित एक अस्पतालमा पलाष्टर गरिएको थियो।
घाइते बालिकाको जोर्नी, नाडी, कुइनो र काँधमा चोटपटक लागेको उपचारमा संलग्न डाक्टरले जानकारी दिएका छन्।
यसैबीच जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं डिएसपी दिपक खड्काले शिक्षिका पुनलाई पक्राउ गर्न प्रहरी टोली खटाएको जानकारी दिए।
‘उक्त दिन १४ जना बालबालिकालाई कुटपिट गरेका मध्ये पाँच जना छात्राको हात फ्याक्चर भएको सार्वजनिक भएपछि शिक्षिकालाई पक्राउ गर्न हामीले टोली खटाएका छौ,’ उनले भने, ‘मैले पनि खबर सार्वजनिक भएपछि मात्रै थाहा पाएँ र तुरुन्तै ईलाका प्रहरी कार्यालय होलेरीलाई कुटपिट गर्ने शिक्षिकालाई पक्राउ गर्न आदेश दिएँ।
शिक्षिका पुनले कपाल राम्रोसँग नबाटेको, लिपिष्टिक लगाएको, गालामा कोठी बनाएको?, भन्दै सालको चिर्पटले कुटेको विद्यार्थीले गुनासो गरेका छन्।
विद्यालयको बिहानी प्रार्थना सुरू हुनुभन्दा ५ मिनेट ढिला गरि पुगेका कक्षा ८ मा अध्यनरत भीमकुमारी बाँठा र कक्षा ६ मा अध्यनरत निर्मला पुनलाई शिक्षिका पुनले पनि सार्वजनिक रूपमै विद्यालयको प्रांगढमा लाइन लगाएर चिर्पटले कुटेकी थिइन्।
भानु आधारभूत विद्यालयका प्रधानाध्यापक झगबहादुर भण्डारी जेठ १२ गते मौखिक रूपमा निमित्त प्रअको जिम्मेवारी लक्ष्मी पुनलाई दिएर होलेरीस्थित तालिममा गएका थिए।
आफू स्कुल बाहिर गएको दिन घटना भएकोले आफू जानकार नभएको र घटनाका विषयमा लक्ष्मी म्याडमले मलाई विद्यार्थीहरू ढिला आएकाले सबैलाई एक/एक लठ्ठी हानेको बताएको जानकारी दिए।
वडा अध्यक्ष लगायतको रोहवरमा विद्यार्थीको उपचार खर्च स्कुलले बेहोर्ने भएको छ।
विद्यार्थीमाथि कुटपिट भएपछि वडा नं. ८ का वडा अध्यक्ष भिमबहादुर घर्तीको रोहबारमा औषधि उपचार गर्ने सहमति गरिएको थियो।
यसैबीच शिक्षिका पुनले विद्यार्थीलाई निर्घात कुटेको दिन विरोधस्वरूप विद्यार्थीले जेठ १२ गते विद्यालयमा तालाबन्दी गरेर विरोध जनाउँदै उनेको सरुवाको मागसमेत गरेका थिए। अविवाहित शिक्षिका लक्ष्मी पुनः स्थानीय नै हुन्।
शिक्षिका लक्ष्मी पुनको कुटाईबाट घाइते हुनेमा कक्षा १ मा पढ्नेदेखि ८ कक्षासम्म पढ्ने विद्यार्थी छन्। प्रेम पुन, सन्तोष बुढामगर, दीपा बाँठा, बिरबहादुर घर्ती, अरुणा पुन, सुशिला विक, विपना घर्ती, मनकुमारी घर्ती र पूर्णकली घर्तीलगाएत विद्यार्थी घाइते भएका छन्।
यसैबीच शिक्षिका लक्ष्मी पुनले आफूले गल्ती गरेको स्वीकार गरेकी छन्।
‘मैले कुनै रिसराग र बदलाको भावनाले बालबालिकालाई कुटेकी हैनोइ,’ लक्ष्मीले भनिन्, ‘उनीहरुलाई अनुसाशन सिकाउन खोजेको मात्रै हो ,तर त्यो अलिकति बढी भएको मात्रै हो।’