गत जेठ १४ गते भोजपुरमा एक महिलाले आफ्नै ३ वर्षिय छोरा सम्बोधन थापालाई खुकुरी प्रहार गरि विभत्स हत्या गरिन्।
रामप्रसाद राई गाउँपालिकाको बासिखोर घर भई हाल भोजपुर नगरपालिका ९ पानीट्याङकी बस्ने सम्झना थापाले आफ्नै छोरा सम्बोधन थापालाई खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार २५ वर्षीय सम्झनाले आफ्नै छोरालाई दुई टुक्रा बनाएकी थिइन्।
स्थानीय बासिन्दाले हत्या गर्ने थापाको मानसिक सन्तुलन ठिक नभएको बताइरहेका छन् ।
बच्चा रोइरहने दुःख दिने भएकाले छोराको हत्या गरेको सम्झनाले बयान दिएको प्रहरीको भनाई छ।
यस्तै धनुषाको मिथिला नगरपालिका–६ का शम्भुकुमार साहका साढे दुई वर्षीय छोरा आर्यन भनिने समिरकुमार साहको हत्या भएको छ ।
हत्या आरोपमा प्रहरीले धनुषाका ५५ वर्षीय शत्रुधन महतोलाई पक्राउ गरेको छ। धामी झाँक्रीका काममा दखल बढाई शक्तिशालि हुने अन्धविश्वासमा परी देवीदेवताको नाममा नरबलिका रूपमा एक बालकको हत्या गरिएको प्रहरीले जनाएको छ।
गत वैशाख २३ गते बेलुका ५ बजे महतोले आफ्नो घरको फूलको बोटनजिक खेलिरहेको ती बालकलाई ललाइफकाइ अपहरण गरी आफ्नै घरमा बन्धक बनाएका थिए।
त्यसको भोलिपल्ट २४ वैशाखको राति २ बजेतिर चमेनिया माय भन्ने देवताका नाममा आफ्नै घर आँगनमा धारिलो हतियारले बालकको घाँटी रेटी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
यी २ घटना त एक उदारण मात्र हुन् । गएको ५ वर्षमा ४ सय ६ जनाको विभत्स हत्या भएको प्रहरीको तथ्याङ्कमा छ ।
घर परिवारसँगको रिसिइवी साध्न होस् या फसेको रकम उठाउन नै किन नहोस् बालबालिकानै त्यसको सिकार हुने गरेको प्रहरी तथ्याकंले देखाउँछ।
प्रहरीको तथ्याङ्क अनुसार आधार मान्दा वर्षेनी ८० जना बालबालिकाको हत्या हुने गरेको देखिन्छ।
प्रहरीका अनुसार आर्थिक वर्ष २०७१/७२ मा कुल ७४ जना बालबालिकाको हत्या भएको छ। त्यसमा ४४ जना बालक र ३० जना बालिका छन्।
प्रहरी तथ्याकं अनुसार आर्थिक वर्ष २०७२/७३ मा १०६ जना बालबालिकाको हत्या भयो। हत्या हुनेमा ५५ जना बालक र ५१ जना बालिका छन्।
त्यसैगरी आर्थिक वर्ष २०७३/७४ मा भने अघिल्लो वर्षको तुलनामा बालबालिका हत्याको दर केही कमी आयो। उक्त वर्ष ७९ जना बालबालिका मारिए। मारिनेमा ४० बालक र ३९ बालिका छन्।
२०७४/७५ मा बालकभन्दा बढी बालिका मारिए त्यसैगरी चालु आर्थिक वर्षको ६ महिनामा ४४ जना बालबालिकाको यसैगरी हत्या भइसकेको प्रहरी तथ्याकंमा छ ।
त्यसैगरी चालु आर्थिक वर्षको चैत महिनासम्म ६५ जना नाबालकको विभत्स हत्या भएको प्रहरीले जनाएको छ।
पछिल्लो समय बढिरहेको अनैतिक सम्वन्ध, गरिबि र अपराधिको सफ्ट टार्गेटमा बालबालिका पर्ने भएकाले नेपालमा बालबालिका हत्याका घटना बढेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बिएल नेपालीलाई जानकारी दिए।
अबोध बालबालिका हत्याको ग्राफ बढिरहेको भन्दै नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले आफूहरूलाई यसले गम्भीर बनाएको बताएका छन्।
‘यसले हामीलाई गम्भीर बनाएको छ, हामी अनुसन्धान गरेर कम गर्ने रूपमा बढिरहेका छौं,’ प्रवक्ता पोखरेलले बीएलसँग भने।
प्ररही बालबालिका हत्या रोक्न विशेष योजना ल्याएर निर्मूल पार्ने गरी काम गरिरहेको बताए।
‘बालबालिका हत्या अपहरणका घटना धेरै भए, यो सम्वन्धमा हामीले सरोकारवालासँग पनि समन्वय गरी त्यसलाई निर्मुल पार्नेमा हाम्रो प्रयास छ’, प्रवक्ता पोखरेलले भने।