नेपाल-भारत सीमा अन्तर्गत कपिलवस्तुमा जीर्ण अवस्थामा रहेका २४८ सीमा स्तम्भको पुनर्निर्माण भएको छ। जीर्ण अवस्थामा रहेका बाँकी सीमा स्तम्भ मर्मतलाई पनि निरन्तरता दिइने भएको छ।
सीमास्तम्भमध्ये ७ वटा मुख्य, ६८ वटा मध्यम र २ सय ९ वटा साधारण गरी कुल २ सय ४८ वटा सीमा स्तम्भ निमार्ण भएको नेपाल–भारत सीमा सर्वेक्षण नम्बर ३ टोलीका प्रमुख उमेश कुमारले बिएल नेपालीलाई जानकारी दिए।
नेपाल–भारत सीमा सर्वेक्षण नम्बर ३ टोलीले सन् २०१८ को डिसेम्बर १५ देखि २०१९ को मे २९ सम्म नयाँ सीमास्तम्भ निर्माण गरेको हो।
नवलपरासीदेखि बर्दियासम्म ४ सय १८ किलोमिटर सीमास्तम्भ निर्माण र सर्वेक्षण जिम्मा पाएको नम्बर ३ टोलीले रूपन्देही र कपिलवस्तुमा सीमास्तम्भ निर्माण गरेको हो।
सर्वेक्षण टोलीका अनुसार रूपन्देहीको सीमामा ३ सय ५१ सीमास्तम्भ निर्माण गर्नुपर्ने भए पनि यो वर्ष ८१ वटा मात्रै नयाँ सीमास्तम्भ बनाइएको छ। जसमध्ये ४० वटा नेपालले बनाएको हो भने ४१ वटा सीमास्तम्भ भारतले निर्माण गरेको छ।
यस वर्ष गहिरो नदी परेको ठाउँमा भने सीमास्तम्भ निर्माण गरिएको छैन। निर्माण बाँकी रहेका सीमास्तम्भ आगामी वर्षबाट निर्माण सुरु गरिने छन्।