रामपुर (उदयपुर)
बाँझो जमिन उपयोग गर्ने नीतिअनुसार कोशी नदी उकास जग्गामा उदयपुरको बेलका नगरपालिकाले मुलुकमै पहिलो पटक ६ हजार हेक्टरमा कृषि फार्म विस्तार गर्ने दीर्घकालीन लक्ष्यसहितको योजना शुरू गरेको छ।
नगरपालिकाले नमूना आधुनिक कृषि फार्म विस्तार परियोजना कार्यक्रमअन्तर्गत ७ करोडको लगानीमा परियोजना शुरु गरेको हो ।
‘तत्काल १०० हेक्टर जग्गामा परियोजना शुरू भएको छ, आगामी वर्ष १ हजार हेक्टरमा उन्नत चक्लाबन्दी खेती शुरु गर्ने योजनामा छौं,’ बेलका नगरपालिकाका कृषि इञ्जिनियर बुद्धिनाथ तिम्सिनाले भने, ‘६ हजार हेक्टर जमिनमा खेती गर्ने नगरको दीर्घकालीन योजना छ ।’
बेलका नगरपालिकाले १०० हेक्टर जग्गामा उन्नत जातको भुइँ घाँस र मकैको चक्लाबन्दी खेती गर्ने उद्देश्यका साथ घेराबेरा र खनजोत थालेको छ। परियोजनाले १०० हेक्टर जमिनमा शुरु गरेको उन्नत जातको घाँसको बिउ र मकै उत्पादनका लागि २ करोड रूपैयाँ बजेट आइसकेको छ। करिब ४ किलोमिटर वरिपरि २४ लाखको बजेटमा सिमेण्ट पिल्लर र काँडेतारको बेरा लगाइसकिएको छ ।
रामनगर टप्पुस्थित पट्टेरघारी सम्याएर काँडेतारको घेराबेरा गरिएको हो। आधुनिक कृषियन्त्र प्रयोग गरी खनजोत थालेको नगरपालिकाले पहिलो चरणमा ३० बिघा जग्गामा उन्नत जातको घाँस र बाँकी जग्गामा स्थानीय जातको रामपुर कम्पोजिट मकै उत्पादन गर्नेछ।
नगरपालिकाले कृषि पूर्वाधार विकास तथा यान्त्रिक प्रवर्धन केन्द्रबाट जमिन सम्याउने लेजरलेन लेब्लर, बिउ छर्ने सिडड्रिल, ६० र ४५ एचपीका ट्याक्टर, माटो मिलाउने, डिस्कह्यारो, खनजोत गर्ने यन्त्र, रोडाभेटर, पावर ह्यारोलगायतका मेसिन भिœयाएको छ । मेसिनले मल र बिउ छर्ने, आलु रोप्ने, खन्ने, गहुँ रोप्ने, काट्ने, छाँट्ने काम गर्न सक्नेछ ।
तत्कालका लागि ३० बिघामा सुडान र टिओसेन्टी जातको बहुवर्षीय भूइँघाँस र ७० बिघामा मकै खेती गर्ने बेलका नगरपालिकाका कृषि सल्लाहकार नारद निरौलाले बताए।
उनका अनुसार किसानलाई सामुहिक खेतीबाट आम्दानी लिनसक्ने बनाउने, समूह र सहकारीका रूपमा शेयर आह्वान गर्ने, नगरपालिकालाई निश्चित कर तिर्ने गरी किसानलाई खेती गर्ने वातावरण तयार गर्ने परियोजनाको उद्देश्य छ ।
कृषि परियोजनालाई कृषि पर्यटनसँग पनि जोडिने बेलका नगरपालिकाका घाँस विज्ञ राजु तुलाधर बताउँछन्। उनका अनुसार यसअघि पनि बेलका नगरपालिकाले डाले घाँसको स्रोतकेन्द्र स्थापना गरिसकेको छ। स्रोत केन्द्रमा २५ हजार बेर्ना उत्पादन भएका छन् । ‘नगरपालिकाको कार्यालय पछाडि डाले घाँसको स्रोत केन्द्र छ,’ घाँस विज्ञ तुलाधरले भने, ‘स्रोतकेन्द्रमा बकाइनो, इपिल, मेन्दुला, टाँकी, कोइरालो, भटमासे जातका डाले घाँस छन्।’
नगरपालिकाले परियोजनाअन्तर्गत रामनगर टप्पुमा भूइँ घा“सको उत्पादन थाल्ने छ । त्यसका लागि सिडड्रिल मेसिन ल्याइएको छ । बलौटे माटो भएका कारण सिंचाइको पनि उचित व्यवस्थापन गरिएको तुलाधरको भनाइ छ । उनले सिंचाइका लागि सोलारबाट पानी तान्ने प्रविधिको प्रयोग गरिने बताए । एउटा सोलार प्रविधिले २० हेक्टर जमिनलाई सिंचाइ गर्न सक्ने तुलाधर बताउँछन्।
एकीकृत कृषि परियोजना शुरु गरेको बेलका नगरपालिकाले अर्ग्यानिक उत्पादनलाई जोड दिएको छ। ‘स्थानीय कृषक समुदाय, सहकारी र कृषि समूहले सामुहिकरूपमा चक्लाबन्दी खेती गर्नेछ, योसँगै व्यावसायिक पशुपालन गर्ने, अग्र्यानिक फलफूल तरकारी उत्पादन हुनेछ,’ नगर प्रमृुख थापाले भने, ‘आयआर्जनमा टेवादिने र कृषि पर्यटन प्रवद्र्धनका लागि कृषि अनुसन्धान केन्द्रका रूपमा यो क्षेत्रको विकास गर्ने लक्ष्य छ ।’
२ सय ३० बिघामा नर्सरी
बेलका नगरपालिकाले एकीकृत कृषि परियोजनाअन्गर्त नै २ सय ३० बिघामा अग्र्यानिक खेती गर्न नर्सरी तयार गरिरहेको छ। स्थानीय कृषि सहकारी, समुदाय र कृषकलाई बढी फाइदा दिने उद्देश्यले परियोजना शुरु गरिएको नगर प्रमुख थापाको भनाइ छ।
नगर प्रमुख थापाले भने, ‘चाँडै नै कान्जीहाउस तयार हुँदैछ, ६ हजार गाईबस्तुको प्राङ्गारिक मल प्रयोग गरेर २ सय ३० बिघामा परीक्षणका रूपमा अग्र्यानिक खेती गर्न नर्सरी पनि तयार गर्दैछौं।’
टप्पुमा बस्ने अधिकांश नागरिक जमिन अतिक्रमण गरी भूमाफियाको चङ्गुलमा परी बसोबास गरिरहेका छन्। तर, नगरपालिकाले पुराना वासिन्दा पहिचान गर्ने योजना अघि सारेको छ। कोशी कटानबाट विस्थापित भएकालाई सोही ठाउँमा पानी, विद्युत, स्वास्थ्य, विद्यालय र यातायात सुविधासहितको एकीकृत बस्ती निर्माण गर्ने नगरपालिकाको योजना छ।
‘टप्पुका झण्डै सात सय घरलाई व्यवस्थापन गर्नेछौं,’ नगर प्रमुख थापाले भने, ‘व्यावसायिक कृषि खेतीमा उनीहरू नै सबैभन्दा बढी सहभागी हुनेछन् ।’ नगरप्रमुख थापाका अनुसार प्रदेश मन्त्रालयले चिस्यान केन्द्र र पोष्ट हार्भेस्टिङ सेन्टरसमेत स्थापना गरिदिन स्वीकृत बजेट पारित गरेको छ। परियोजना क्षेत्रमा दुईवटा भवन निर्माणाधीन छन् ।
कोशी नदीउकास जग्गामा भूमाफियाको चलखेल बढेपछि बेलका नगरपालिकाले आफूमातहतका सरकारी, ऐलानी पर्तीजग्गालाई सुरक्षित गरी एकीकृत कृषि परियोजना शुरु गरेको हो । हाल भूमाफियाले टप्पुको जग्गा प्रतिबिघा पाँच लाख रुपैयाँमा बिक्रीवितरण गर्दै आएको स्थानीय बताउँछन्।
कृषिमा आत्मनिर्भर बनाउने नगर प्रमुखका योजना
बेलका नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन बेलका नगरपालिकाले कृषि एग्रो टुरिजमको अवधारणाअनुसार काम शुरु गरेको छ।
थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) मा स्ट्राटजिक म्यानेजमेन्टमा स्नातकोत्तर गरेका नगर प्रमुख दुर्गाकुमार थापाले प्रदेश १ मै उदाहरणीय काम शुरु गरेका छन् ।
उत्पादन वर्ष
‘समृद्ध नेपाल सुखी नेपाली’ सरकारको नारालाई साकार पार्न नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ लाई उत्पादनको वर्षको रूपमा लिएको छ ।
कृषि विकास, पशुपालन विकास, पर्यटन विकास, उद्यम विकास र भौतिक पूर्वाधार विकासलाई आधार बनाएर काम शुरु गरेको छ। उत्पादन वर्षका लागि नगरपालिकाले सात करोड लगानी गर्दैछ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट २ करोड, विभिन्न गैरसरकारी सङ्घ–संस्थाबाट २ करोड, प्रदेश सरकारबाट डेढ करोड लगानी भित्र्याउने वातावरण तयार गरेको छ ।
चक्लाबन्दी खेती
कृषि एग्रो टुरिजमको अवधारणामा ‘कृषिमा लगानी, ल्याउँछ सुनौलो बिहानी’ भन्ने नारा बनाएर ६ हजार हेक्टरमा सामुहिक खेती शुरु गर्ने योजनामा नगरपालिका छ। प्रदेश १ लाई पुग्ने अन्न उत्पादन, कृषिको अध्ययन गर्न चाहानेलाई प्रयोगशाला र कृषि पर्यटनका लागि चक्लाबन्दी खेतीको योजना अघि सार्दै नगरपालिकाले ऐलानी पर्ती जग्गामा खेती गर्ने नगर प्रमुख थापाले बताए।
वातावरणमैत्री विकास र बिउ बैङ्क स्थापना
कृषिको विकासका लागि आवश्यक सिचाइका लागि सोलारबाट वाटर लिफ्टिङ गर्ने र हलेदो रोपेर पानीको मुहान जोगाउने जस्ता योजनाहरू नगरले शुरु गरेको छ। कङ्क्रिटरहित कुलोहरू बनाउने र पहाडका थुम्कोमा आहाल बनाएर ग्राउन्ड वाटर रिचार्ज गर्ने योजना रहेको नगर प्रमुख थापाले बताए । नगरले रैथाने बिउ जोगाउन बिउ बैङ्क स्थापना गर्न लागेको छ ।
जग्गा बाँझो राख्नेलाई ७५ प्रतिशत जरिवाना
बेलका नगरपालिकामा जग्गा बाँझो राखेमा उत्पादन मूल्यको ७५ प्रतिशत रकम जरिवाना तिराउने व्यवस्था पनि गरेको छ। नगरपालिकाले एक कट्ठामा कम्तीमा २–४ मुरीसम्म अन्न फल्ने आँकडा निकालेको छ। यदि जग्गाधनीले आफूले जग्गा भोगचलन गर्न नसक्ने निवेदन दिएमा भूमिहीन नगरवासीलाई उत्पादन गर्न दिने नगरपालिकाले यही वर्षमा नीति ल्याएको छ।
अर्गानिक उत्पादन जोन
बेलका नगरपालिकामा हाल ७ र ८ नं. वडामा अर्गानिक उत्पादन हुँदै आएको छ। मैनामैनी क्षेत्रका कृषकले उत्पादन गर्ने मकै, कोदो, फापर, आलुलगायतका सागसब्जी विषादी प्रयोग नगरी उत्पादन गर्दै आएका छन्। अन्य वडामा पनि उत्पादनलाई आर्गानिक बनाउने नगरपालिकाले आभियान सञ्चालन गरेको नगर प्रमुख थापा बताउँछन्। नगरपालिकालाई पाँच वर्षभित्र आर्गानिक उत्पादन जोनका रुपमा विकास गर्ने नगरपालिकाको लक्ष्य छ।
बेलका नगरपालिकाले जिपिएस सर्वेमार्फत् नगरभित्र ५ हजार ३ सय बिघा ऐलानी पर्ती जग्गा रहेको तथ्याङ्क निकालेको थियो।