अन्धविश्वासका कारण धनुषामा अढाई वर्षीय एक बालकले ज्यान गुमाउनु परेको छ। धनुषा मिथिला नगरपालिका वडा नम्बर ६ बस्ने ५५ वर्षीय सरुधन महतोले अन्धविश्वासमा परेर नरवलीको रुपमा अढाई वर्षीय आर्यन साहको घाँटी रेटेर हत्या गरेका छन्।
अभियुक्त महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार पक्राउ गरेको छ। महतोको बयानकै आधारमा यो घटना बाहिरिएको हो।
महतोले बैशाख २३ मा शम्भु कुमार साहको छोरा आर्यन भन्ने समीरकुमार साहको अपहरण गरेका थिए।
बालक हराएको उजुरी परेपछि स्थानीय प्रहरी सक्रिय भएको थियो। प्रहरीले बैशाख २४ मा साहकै घरनजिकै रहेको खेतको झाडीबाट धारिलो हतियारले घाँटी रेटी हत्या गरेको अवस्थामा बालकको शव फेला पारेको थियो।
अनुसन्धानका लागि प्रहरीले ३ नम्वर प्रहरी कार्यालय हेटौडासँग सम्वन्य गरी कुकुरसहितको विशेषज्ञ टोली खटाएको थियो।
अभियुक्त महतोले प्रहरीलाई दिएको बयानमा आमा रेणुदेवी साह घाँस काट्न गएको अवस्थामा घरमा कोही नभएको मौका छोपी बालकको अपहरण गरेको बताएका छन्। उनले केही दिन बालकलाई आफ्नै घरमा बन्धक बनाई राखेका थिए।
बैशाख २४ को बिहान २ बजे शक्तिशाली बन्ने अन्धविश्वासमा महतोले देवी–देउताको नाममा बालकको धारिलो हतियारले क्रुरतापूर्वक घाँटी रेटेका थिए।
बालकको मृत शरीर खेतमा फेला परेको प्रहरीले बताएको छ।
मृतकका हजुरवुवा पिताम्वर साहले महतोको नाममा किटानी जाहेरी दिएका छन्।