भारतीय जाली नोट कारोबारमा नेपालमा पटकपटक पक्राउ पर्दै आएका पूर्वमिडिया उद्यमी युनुस अन्सारीको कनेक्सन अन्तर्राष्ट्रिय आतंकबादी संगठन आइएससँग रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पछिल्लोपटक जेलबाट छुटेपछि उनी आईएसका माथिल्लो तहका एजेन्टलाई भेट्न दुईपटक मलेसिया गएको प्रहरीको दाबी छ।
बीएल नेपालीसँग कुरा गर्दै एक प्रहरी अधिकारीले भने, 'अन्सारी सामान्य ब्यक्ति हैनन्, उनको कनेक्सन आईएससँगै छ। उनी मलेसियामा रहेर पाकिस्तानको हितमा काम गर्ने एजेन्टको मातहतमा रहेर काम गरिरहेका छन्।'
खासगरी भारतीय जाली नोटको कारोबारमा संलग्न गराइएका युनुसलाई अहिले उनको सञ्जालबाटै रिक्स रहेको बताउँदै ती प्रहरी अधिकारीले भने- 'पटकपटक उही मुद्धामा पक्राउ पर्नु, पक्राउ पर्दा पनि हतास नहुनु र पक्राउबाट नजोगिनुले धेरै सोच्नुपर्ने हुन्छ।'
'सुरुमा जाँदा बुझेको हुदैन, लहैलहैमा छिर्ने गर्छन्, पहिला लोभ लाग्छ, पछि आएर निस्कन खोज्छन् तर सक्दैनन्। अहिले अन्सारीलाई पनि यस्तै भएको छ', ती अधिकारीले भने, 'पछिल्लोपटक पक्राउ परेपछि गरिएको पत्रकार सम्मेलनमा पनि उनले माक्स लगाउन मानेन्न्, र पक्राउ परेपछि पनि कुनै पछुतोमा छैनन्, पक्राउ पर्ने यस्तो कमैले गर्ने गर्छन्।
अन्सारी अन्य समूहबाट परिचालित भएको प्रहरीले अर्को पनि शंका गरेको छ। करिब आठ करोड भारतीय जाली नोट बोकेर बिमानस्थल ओर्लेका तीन पाकिस्तानीलाई लिन पुगेका अन्सारी पक्राउ परे।
'मैले एक करोड पठाउनु भनेको थिए, यत्रो पैसा पठाएछन्, अनि एकजना पठाउनु भनेको तीनजना पठाएछन्', प्रहरीले पक्राउ गरेपछि अन्सारीले भनेका थिए। यसले पनि अन्सारीलाई जवर्जस्ती यो काममा लादिदै छ भन्ने कुराको तथ्य खुल्छ।
उनलाई नजिकबाट चिन्ने र उनको बारेमा अनुन्धान गरेका प्रहरी अधिकारीहरु उनको यो कारोबार बाध्यताको काम रहेको दाबी गर्छन्।प्राय ब्यक्ति एउटै मुद्धामा पटकपटक पक्राउ परेपछि उसले केही चलाखी अपनाउने गर्छ तर अन्सारीमा त्यस्तो देखिएन्', ती अधिकारीले भने- 'भारतीय जाली नोटको कारोबारमा उनी एक कारिन्दा मात्र हुन्, अरुले जे लगाउँछ त्यही गर्ने।त्यही भएर उनी पक्राउ पर्दा दु:खी हुदैनन्, बरु खुसी हुन्छन्,। पछिल्लोपटक पक्राउ पर्दा पनि त्यस्तै उनी खुशी नै देखिन्थे। शायद उनलाई बाहिरभन्दा जेलमा सुरक्षित भएको महसुस हुन्छ होला।'
दुई पटक जेल बसेर निस्केका अन्सारी २४ घण्टा प्रहरी निगरानीमा हुन्छन्। स्रोतका अनुसार उनको गतिविधि निगरानी गर्न नियमित प्रहरी खटिने गरेका थिए। उनी जेलबाट निस्केपछि कहाँ जान्छन? कसलाई भेट्छन् र के के गतिविधिमा संलग्न हुन्छन् भन्ने सूचना प्रहरीले राख्दै आएको थियो।
जेलबाट छुटे लगतै किन गए मलेसिया?
जाली नोटको कारोबारमा चार वर्ष जेल बसेर निष्किएका अन्सारी जेलबाट छुटेलगतै पटकपटक मलेसिया गएको देखिएको छ। जाली नोटको कारोबार र आईसको सदस्यलाई भेट्न अन्सारी मलेसिया गएको अनुसन्धान अधिकारीको दाबी छ।
स्रोतका अनुसार गएको जनवरी २१ मा मलेसिया गएका उनी २८ जनवरीमा नेपाल फर्किएका थिए। एक साता त्यहाँ बस्दा उनले आइएसका सदस्यसँग भेटेको सूचना नेपाल प्रहरीसँग छ। त्यसपछि उनी मार्च ४ मा फेरि मलेसिया गएर मार्च १३ मा नेपाल फर्किएका थिए।
जेलबाट छुटेपछि राजधानीमै रहेका उनी मलेसिया गएर फर्केपछि नक्कली नोटको कारोबारको थालनी गर्ने प्रहरीलाई सूचना थियो, त्यसैको आधारमा प्रहरीले पिछा गरेको थियो, प्रहरी स्रोतले भन्यो।
जेलमा पनि सुरक्षित छैनन् अन्सारी
पछिल्लोपटक केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका अन्सारीमाथि एक भारतीय सुटरले जेलमै गएर गोली प्रहार गर्यो।गोली प्रहारमा घाइते भएका उनी बाँच्न सफल भए। त्यसपछि अन्सारीको सुरक्षामा प्रहरी चनाखो भयो।
पक्राउ परेका अन्य ब्यक्तिको सरह उनलाई हेर्न नमिल्ने महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीले बताए।'अन्सारीमाथि जेलमै गोली प्रहार भयो, कुनै पनि ब्यक्तिलाई मर्न/मार्न दिने कुरा आउदैन, त्यसैले अरूको भन्दा सुरक्षा बढी नै दिइएको छ', डीआईजी थापा क्षेत्रीले भने।
कहिले कहिले पक्राउ परे अन्सारी?
अन्सारी भारतीय नक्कली नोटसहित पहिलो पटक २०६६ माघमा पक्राउ परे र २०७० सालको असोजसम्म जेलमा बसे।असोजमा जेलबाट छुटेका अन्सारी फेरी त्यही सालको माघ १० गते उही नक्कली भारतीय नोटसँगै फेरी पक्राउ परे।२०७० माघ १० गते पक्राउ परेका अन्सारी ७४ सालको चैत्र २ गते जेल कैद भुक्तान गरी बाहिर निस्के। सोही मुद्धामा केन्द्रीय कारागार सुनधारामा रहेका बेला उनीमाथी भारतीय सुटरले जेलभित्रै गोली प्रहार गरेर हत्या प्रयास पनि गरेका थिए।
पछिल्लोपटक जेठ १० गते त्रिभुवन विमानस्थलमा करिव आठ करोड भारतीय जाली नोटसहित पक्राउ परेका युनुस अहिले प्रहरी हिरासतमा छन्।भारतीय जाली नोटसहित उनी पक्राउ परेको यो तेस्रोपटक हो।