उमेरले २१ वर्ष टेक्दै गरेका जेम्स ल्योली लण्डनको एक कलेजमा अध्ययन गर्दै थिए।सानैदेखि घुमफिरमा चासो राख्ने उनी अन्य देश भने गएका थिएनन्।पाठ्यक्रममा उल्लेख गरिएका विश्वका पर्यटकीय स्थल उनका रुचिका विषय थिए तर कहाँ कसरी जाने निर्क्यौल गर्न सहज थिएन।
जेम्स ल्योलीको त्यो समयमा अहिले जस्तो इन्टनेट थिएन।कितावका पानामा पोतिएका अक्षर पढेर बाहिरी दुनियाँको बारेमा जानकारी लिन पनि कठिन थियो।एक क्लिकको भरमा संसारको बारेमा जानकारी दिने गुगलको अत्तोपत्तो नै थिएन।
सन १९७१ अर्थात् आजभन्दा ४८ वर्ष पहिला वेलायतको एक ठिटो नेपाल जाने तय गर्छ।प्लेनमा, अहँ होइन, मोटरबाटो भएर।सेन्टर लण्डनको एक कफीहाउसमा तय हुन्छ नेपाल यात्रा।अप्रिलको पहिलो साता लण्डनमा न्यायो घामले समरको संकेत गरिरहेको थियो।
कफी हाउसमा जेम्ससँगै चारजना दौतरीको भेट भयो।कलेज सकाएर एक बर्षको छुट्टिमा बसेका उनीहरुले लामो यात्रा गर्ने निणर्य गरे।तर, कहाँ जाने भन्ने निर्क्यौल भएन।गफिदै जाँदा जेम्सले फ्याट बोले- माउन्ट एभरेस्। तर, कहाँ हो थाहा छैन।कसरी जाने थाहा छैन।पाठ्यक्रममा उनले संसारकै सबैभन्दा उचाईमा रहेको हिमाल भनेर पढेका थिए।
माउण्ट एभरेष्ट जाने निधो भएपछि बल्ल थाहा भयो नेपाल।संसारकै सबैभन्दा अग्लो हिमाल चुचुरोको यात्रामा कठिनाइ त छँदै थियो त्योभन्दा पनि बढी रोमाञ्चित थिए उनीहरु।
कफी गफको केही महिनामा तय भयो- जेम्स नेतृत्वको चार सदस्यीय नेपाल भ्रमण टोली। १–९–५–२ नम्बरको डिफेन्डर मोडलको ल्याण्डरोभर व्यबस्था गरियो यात्राका लागि।लण्डनबाट यात्रा गर्नुपूर्व भेटिएका साथीभाइ अनि आफन्तलाई यात्राको बारेमा जानकारी गराउँदा कसैले पनि पत्याएनन्।कतिपयले नेपाल भन्ने देश नै नभएको प्रतिक्रिया दिए।नेपाल होस् या नहोस्, त्योसँग सरोकार भएन तर माउण्ट एभरेष्ट त छ भन्दै जेम्सले यात्राको उद्देश्यलाई अझ मजबुत बनाए।
सन १९७१ को अक्टोवर महिनाको पहिलो साता।बिस्तारै जाडोले समात्तै थियो लण्डनलाई।त्यही जाडोलाई चुनौति दिदै जेम्सको टोली निस्कियो नेपाल यात्रामा।मोटरबाटोमा जाने भएकोले उनीहरूले सकेसम्मका नक्सा र सूचना संकलन गरेका थिए।
लत्ता, कपडा खानेकुराले भरिएका केही थान झोलाको साथमा उनीहरूले टर्कीतिर निस्के।टर्की पुगेपछि उनीहरू इरान, अफगानिस्तान, पाकिस्तान, बंगलादेश, भारत हुदै पाँच महिनामा नेपाल सिमाना पुगे।प्राविधिक कारण ल्याण्डरोभरलाई भारतमै राखेर वीरगञ्ज नाका हुँदै नेपाल छिरे।वीरगञ्जबाट ट्रकको धुलाम्मे यात्रा गर्दै काठमाडौं पुगेको जेम्सको टोलीले सगरमाथा आधारशिविर पुगरे यात्रा टुंग्याएको थियो।
अप्रिलको दोस्रो साता पोर्चुगलको लिस्वनमा मज्जाको घाम लागेको थियो।यहाँ पानीको महिना भनेर चिनिने अप्रिलमा घाम लाग्दा सबै खुशी हुन्छन्।
लिस्वनको एक गल्लीमा रहेको मेरो स्टोरमा टाढैवाट नेपाली झण्डा देखेपछि उनको यात्रा मतिर मोडियो।नजिक आएर जेम्सले सोधे- आर यु फ्रम नेपाल? यहाँवाट शुरु भयो उनीसँगको संवाद।
उमेरले ७० टेकेका उनी श्रीमतीसँगै पोर्चुगल घुम्न आएका थिए।पावरवाल चस्मा, सेतै फुलेका दारी, टाउकोवाट झण्डै भण्डै रित्तिएको कपाल, सानो हातेझोला लिएका जेम्स कुर्चीमा बसे।अनि, उल्टै मलाई पहिलो प्रश्न गरे 'त्यत्ति राम्रो देश छोडेर किन आएको?' उनीसँगै आएकी श्रीमती वेन्दाले हाँस्दै उत्तर दिइन्- 'पैसा कमाउन हो कि ?'
परिवारसहित हाल क्यानाडामा बसोबास गर्छन् उनीहरु।'घरको भित्तामा माउण्ड एभरेष्टको चित्र कोरिएको छ। त्यही चित्रले हरेक दिन नेपाल भ्रमणको पुरानो याद ताजगी गराउँछ' मन्द मुस्कान छर्दै उनले भने, 'यो उमेरसम्म आइपुग्दा सायद ५० भन्दा बढी देश घुमे होला तर नेपालको घुमाइ सम्झनलायक थियोे।' केही सम्झन खोज्दै केही भन्न खोज्दै रोकिदै रोकिदै बोल्न थाले उनी- 'बीरगञ्जमा लामखुट्टेले नराम्रो सँग टोक्यो, रातभर सुत्न पाइँन।' आधाजसो रहेका सेता दाँत देखाउदै मज्जाले हाँस्दै उनी भन्छन्- नेपालका मानिसको सद्भाव, माया देख्दा लाग्यो संसारमा यस्ता पनि मानिस रहेछन्।'
भाषाको समस्या थियो।उनी बोलेको नेपालीले बुझ्दैनथे, नेपालीले बोलेको उनी बुझ्दैनथे।इसारा इरासाले काम चल्यो।कयौ देशमा लुटिएको बताउने जेम्स भन्छन्- 'नेपालमा पुगेपछि सुरक्षित भएको महसुस गरेँ। काठमाडौंमा कयौ रात गाँजा खाएर भौतारिएँ।तर, लगेको सामान कहिलै खोज्नु परेन।'
बेलायतको राजधानी लण्डनमा हुर्किएका उनी भन्छन्- 'नेपाल र नेपाली देख्दा नौलो संसारमा पुगेको अनुभव भयो। कोलम्वसले अमेरिका खोजेजस्तो मैले सगरमाथा खोज्दा नेपाल भेट्टाएँ।' युरोपमा नेपाली भेटिएर ४८ वर्ष पुरानो नेपालकै यात्राको बिषयमा भन्न पाउँदा ज्यादै रमाइलो महसुस भएको होला सायद, वोल्दै जाँदा जेम्स कहिले वीरगञ्ज सम्झन्छन् त कहिले सगरमाथाको वेस क्याप, कहिले बाटोमा देखिएका झरना त कहिले धुलाम्मे सडक। करिव एक घण्टाको वसाइको क्रममा उनले नेपाल यात्रालाई सम्झन धेरै प्रयास गरे।
सायद अपर्झट नेपाल सन्दर्भ भएर होला।पटक-पटक यात्रालाई सम्झन खोजे, यात्रामा हराउन खोजे। थोरै सम्झे, थोरै बोले तर धेरै खुशी भए।ढोका माथिको फर्फराइरहेको नेपालको झण्डा हेरे, झण्डाको आकार हेरे।झण्डाको रङ हेरे, गाढा नीलो र रातो रङ हेरे।अनि सगरमाथाको देश सम्झिए, नेपाल सम्झिए।जाने बेलामा फेरि सोधे- तिमी चाँहि त्यस्तो राम्रो देश छोडेर किन यहाँ आएको? शायद उनलाई मैले नेपाल छोडेको मन परेको थिएन। मलाई पनि उनले दोहोर्याएर सोधेको प्रश्नले आफैंलाई चिमोटेजस्तो लाग्यो।