सर्वोच्च अदालतले ब्यापारी अजयराज सुमार्गीको ८० करोडभन्दा बढी रकम बैंकमा फ्रिज रहेको भन्दै रकम फिर्ता पाउँ भनि दायर गरेको परमादेश मागमा छानविन गरी आवश्यक निर्णय गर्न सरकारलाई निर्देशन दिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा र न्यायाधीश वमकुमार श्रेष्ठको मंगलबार बसेको इजलासले विदेशबाट सुमार्गीका नाममा आएको रकमको वैधताबारे ६ महिनाभित्र छानविन गरी यकिन निर्णय गर्न सरकारका नाममा परमादेश दिएको हो।
परमादेशमा भनिएको छ, 'उक्त बैंकमा रहेको निवेदकको नाउँको खाताको रकम कुन श्रोतबाट आएको हो सम्पत्ति शुद्धिकरण ऐनको उल्लंघन गरी आएको हो होइन, सम्बन्धीत निकायबाट कारबीह गर्नुपर्ने हो होइन, सो सम्बन्धमा यकिन निर्णय गर्नू, निवेदकको नाउँमा निवेदककै नाउँको विदेशमा रहेको खाताबाट रकम आएको भन्ने नेपाल राष्ट्र बैंकको पत्रबाट देखिँदा त्यस्तो रकमको वैधताका विषयमा समेत जाँचबुझ गरी छ महिनाभित्र यकिन निर्णय गर्नू।'
सुमार्गीले मुक्तिश्री सिमेन्ट उद्योगको नाममा विदेशबाट ल्याएको रुकम स्रोत नखुलेको भन्दै नेपाल राष्ट्र बैंकले रोक्का गरेको थियो।
अदालतको यो फैसलासँगै सुमार्गीले तत्काल ७५ लाख अमेरिकी डलर रकम निकाल्न नपाउँने भएका छन्।
नोट* : यसअघि प्रकाशन भएको समाचारमा केही त्रुटि भएकाले सच्याइएको छ - सम्पादक