सय वर्ष पुग्न मात्र दुई वर्ष बाँकि। तर, स्वस्थ्य, फूर्तिला र सबै कुराको सम्झना भएका। यी व्यक्तिका ६ भाइ छोरा, ४ बहिनी छोरी र उनीहरूबाट जन्मिएका नाति–नातिना, पनाति–पनातिना गरी करिब सय जनाको लहरो छ।
तर, पनि कन्काई किनारको आश्रममा उनी एक्लै उभिएका छन्।
छोरा–बुहारीले हेला गरि घर निकाला गरेका र घरबारबिहिन ज्येष्ठ नागरिकलाई सडकबाट घरमा सार्ने अभियानमा उनी लागेका छन्।
घरबार छाडेर बेसाहारा जीवन बिताइरहेका ज्येष्ठ नागरिकको साहराका लागि उनी वृद्धाश्रम निर्माणमा जुटेका छन्।
उमेरले ९८ पुगेका उनी सामाजिक दायित्वका कुरा गरिरहेका थिए।
को हुन् यी शताब्दी पुरूष?
दोस्रो विश्वयुद्वमा बेलायती सेनाबाट युद्व लडेका गोर्खा लाहुरे हुन् ९८ वर्षीय श्रीप्रसाद गौली क्षेत्री, २८ आइसीसी, ब्याच नम्बर २४०३१५।
१ सेम्टेम्बर १९३९ मा दोस्रो विश्वयुद्व शुरू भयो। सन् १९४३ को हिउँदमा १८ वर्ष पुगेका गौली ब्रिटिस सेनामा भर्ती भए। त्यतिबेला विश्व युद्व उत्कर्षमा पुगेको थियो।
पाँचथरका गौली दार्जिलिङको गुमपहाड, गोरखपुरहुँदै लखनउ पुगेर लाहुरे भएका थिए।
६ महिनाको सैनिक तालिम सकेपछि उनी बर्माको जङ्गलमा खटिए। सेनाको मेडिकल कोर्समा भर्ती भएका गौलीको मुख्य काम थियो–युद्वमा मरेका सिपाहीको लगत सङ्कलन गर्नु, घाइतेको प्राथमिक उपचार गर्नु र आगाडि आएका दुश्मनलाई गोलीले उडाउनू।
१४ अगस्त १९४५ मा जापानले अमेरिकासमक्ष आत्मसमर्पण गरेपछि युद्व समाप्त भयो। सन् १९४७ अगस्ट १५ मा ब्रिटिसले भारत छाड्यो।
बेलायत र भारतले सेना बाँडफाँड गर्दा गौली भारतीय सेनामै बस्ने भए। उनी नायक पदमा २ रुपैयाँ दिएर घर पठाइए।
उनका कतिपय नम्बरीहरू बेलायती सेनामा गए। मलाया पल्टन पुगे। विश्वयुद्व सकिएपछि केही वर्ष भारतीय सेनामा रहेर उनले काम गरे।
हाल ब्रिटिस सरकारले दिने मासिक ११ हजार रूपैयाँ च्यारिटी भत्ता बुझ्छन् गौली। करिब १५ वर्ष गोर्खा सेनामा काम गरेका उनी पेन्सन खानति लागेनछन्।
‘पहिलो छुट्टी आउँदा ३० रूपैयाँ लिएर आएको थिएँ,’ मुस्कुराउँदै गौलीले भने, ‘३५ दिन घर बसेर पल्टन फर्किएँ।’
२०२६ सालमा पाँचथरको एक्तिनबाट झापाको माइधार झरेका गौलीले आफूले आर्जन गरेको सम्पत्तिबाट छोराहरूलाई एक/एक बिघा जग्गा अंश गरिदिए। आठ कट्ठा आफूले जिउनी राखे।
हाल कन्काई नदिको पश्चिम किनारामा ज्येष्ठ नागरिक, असाहयका लागि उनले आश्रम भवन निर्माण गरिरहेका छन्। ‘मासिक ११ हजारले खान लाउन पुगिहाल्छ,’ उनले भने,‘लोभ लालच गर्नु छैन, मरेर जाँदा खाली हात हो।’
यसअघि पनि १० लाख रूपैयाँमा आश्रम निर्माण गरिसकेका गौलीले अहिले निर्माण भइरहेको आश्रम २० लाखसम्ममा पूरा हुने विश्वास व्यक्त गरे।