लागुऔषध कोकिनका क्याप्सुल पेटभित्र राखेर मेक्सिकोबाट जापान उडेका एकजना जापानी यात्रुको जहाजमै मृत्यु भएको छ। उदो एन नाम गरेका ती जापानी यात्री दुईसय ४६ वटा कोकिनका क्याप्सुल निलेर मेक्सिकोबाट जापान उडेका थिए। उडानमै रहेका बेला पेटमा भएका कोकिनका क्याप्सुल फुट्दा ती यात्रुको मृत्यु भएको सुरक्षा अधिकारीले बताएका छन्।
जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको विमान ती यात्रुको स्वास्थ्यमा समस्या देखिएपछि मेक्सिकोको सनोरा प्रान्तको यरमोसिलियोस्थित विमानस्थलमा आपत्कालीन अवतरण गराइएको थियो। कोलम्बियाको राजधानी बोगोटाबाट यात्रा शुरू गरेका उनले मेक्सिको सिटीबाट उडान परिवर्तन गरेका थिए।
सनोराका महान्यायाधिवक्ताले जारी गरेको एउटा वक्तव्य अनुसार ती व्यक्तिको पेटमा साढे दुई सेन्टिमिटर लम्बाइ र एक सेन्टिमिटर चौडाइ भएका कोकिनका क्याप्सुल रहेको पोस्टमार्टबाट देखिएको थियो। मेक्सिकोका सङ्घीय अधिकारीहरूले घटनाको अनुसन्धान थालेको जनाएका छन्।