ब्राजिलमा जेलभित्र झडप हुँदा ४२ कैदीबन्दीको मृत्यु

जेलमा मृत्यु भएका कैदीबन्दीका आफन्तहरू । तस्बिर : एपी

ब्राजिलमा चारवटा कारागारमा भएको श्रृंखलावद्ध झडपका क्रममा ४२ जना कैदीबन्दीको मृत्यु भएको छ।जेल जिवन बिताइरहेका दुई समुहबीच भएको झडपमा उनीहरूको मृत्यु भएको हो ।पहिलो झडपमा १५ जना कैदी मारिएको एक दिनपछि फेरी अर्को झडप हुँदा थप २७ जना कैदीबन्दीको मृत्यु भयो।

बीबीसीका अनुसार एमेजन राज्यको राजधानी मेनोसमा राज्यमा रहेको जेलमा झडप भएको हो। कारगारभित्र अक्सिजनको अभावमा कैदीहरूको ज्यान गएको हो। ज्यान गुमाउने कैदी चारवटा कारागारका हुन्।

ब्राजिलको ग्लोबो समाचार वेबसाइटका अनुसार सोमवारको कारागारमा झडप हुँदा अन्य कैयौँ कैदी घाइते भएका छन्। सो क्षेत्रमा पर्ने एनिसो जोबिन पेनिटेन्शियरी कम्पलेक्समा आइतवार कैदीहरूसँग भेटघाट गर्ने समयमा झडप भएको थियो। अधिकारीहरूका अनुसार कैदीहरूलाई तीखा ब्रशले घोचिएको थियो भने घाँटी थिचिएको थियो।

दुई वर्षअघि पनि सोही कारागारमा ५६ जना मारिने गरी कैदीहरूबीच झगडा भएको थियो। त्यसलाई ब्राजिलका जेल भएका नराम्रामध्येको एक घटनाको रूपमा लिइन्छ।

तथ्याङ्क अनुसार यो वर्षको एप्रिलसम्म ब्राजिलमा कैदीबन्दीको संख्या सात लाख १२ हजार ३०५ पुगेको छ। उक्त सङ्ख्या ब्राजिलका कारागारहरूले थेग्न सक्नेभन्दा तीन गुणाले बढी हो। जसका कारण कारागार कोचाकोच हुन्छन् भने कैदीहरूबीच झगडा हुनुका साथै कहिलेकाहीँ जेल तोडेर भाग्ने प्रयास पनि हुने गर्छ।

प्रकाशित मिति: : 2019-05-28 09:55:36

प्रतिकृया दिनुहोस्