मे १६ मा उनले आफ्नो सोशल मिडियामा अन्तिम ट्वीट गरिन्–‘हामीले मुख्य क्याम्प छोडिसकेका छौं। यदी यहाँको मौसम अनुमान अनुरुप भयो भने मे २२ हाम्रो लागि अन्तिम रात हुनेछ, विश्वको सर्वोच्च हिम चुचुरोको टुप्पोमा पुग्ने।’
नभन्दै मे २३ मा उनको साथी करिमले बधाई दिइन्, अर्को ट्वीट मार्फत– ‘पुगिन् विश्वको सर्वोच्च शिखर सगरमाथामा साहसी नादिरा अल हार्थी ह्यासट्याग एभरेष्ट।’
यो कहानी हो, मुस्लीम महिलाको प्रतिनिधित्व गर्दै विश्वको उच्च हिमाल सगरमाथा चढ्ने एक साहसी योद्धाको। जसले गत विहिबार ७ दिन लामो संघर्षपछि सगरमाथाको सफल आरोहण गरेकी थिइन्।
नादिरा अल हार्थी, भूगोल विषयमा मास्टर्स गरिरहेकी ओमानी महिला। जसले पुरै विश्वको ध्यान आफूतर्फ केन्द्रित गर्न सफल भएकी छिन्।
फिल्म निर्माता एलिया साइकाली, जसले नादिराको अभियानलाई सुक्षमढंगले अध्ययन गरेका थिए। भन्छन्, ‘मैले उनलाई बेसक्याम्प पुगेदेखि नै पछ्याइरहेको थिए। उनी कसरी आइसफलबाट जोगिएर अगाडि बढ्लिन, मेरो लागि ठूलो कौतुहलताको विषय थियो। तर, उनले जसरी एउटा नायक जस्तै यो अभियानलाई पुरा गरिन्, यो तारिफयोग्य छ।’
नादिरा सगरमाथा चढ्ने पहिलो ओमानी महिला हुन्। उनीसँगै यो अभियानमा साउदी अरबेयाकी मोना साहाब र लेबननकी जोएस आजम पनि थिए।
नादिराले सगरमाथा चढ्ने अभियान सुरु गर्नुअघि दुई वर्ष कडा परिश्रम गरेकी थिइन। उनले ९० किलोमिटरको एड्भान्चर रेस र नेपालमै रहेको अमादब्लम हिमालमा अभ्यास गरेकी थिइन।
‘मैले आफ्नो क्षमता अध्ययन गर्ने मात्र होइन, आत्मसम्मान पनि प्राप्त गरेकी छु। यसले अरुलाई पनि आफ्नो सपना पुरा गर्ने अभियानमा अग्रसर गराउने छ,’ सगरमाथा चढ्ने पहिलो ओमानी महिलाको इतिहास रचेपछि नादिराको पहिलो प्रतिक्रिया थियो।
नादिरालाई सगरमाथाको सफल आरोहण गरेको उपलक्ष्यमा ओमानस्थित नेपाली दुतावासले सम्मान गरेको छ। ओमानका लागि नेपाली राजदुत शर्मिला पराजुली ढकालले नादिराको सफलताले दुई देशको सम्बन्धलाई अझ निकट ल्याएको प्रतिक्रिया दिएकी छिन्।
उनले ब्रेक एन लिंक्ससँग कुरा गर्दै भनिन्, ‘नादिराको सफलतापछि ओमानीहरूको नेपाललाई हेर्ने दृष्टीकोणमा बदलाव देखेको छु। उनीहरू नेपालको हिमाल तथा अन्य पर्यटकीय क्षेत्रको विषयमा चासो राख्न थालेका छन्।’
नादिरालगायत अरब राष्ट्रका अन्य महिलाको सगरमाथा आरोहणको कहानी ‘द ड्रिम अफ एभरेष्ट’ फिल्ममा रुपान्तरण हुँदैछ। दुई पल्ट हिमाल चढिसकेका र एडभेन्चर डकुमेन्ट्री निर्माता एलिया साइकालीले नै नादिराको साहसीक अभियानलाई पर्दामा उतार्दैछन्।