
उपत्यकाको अतिव्यस्त तथा संवेदनशील क्षेत्र थापाथलीमा उत्कृष्ट काम गरेर आफूलाई प्रमाणित गरिसकेका महिला ट्राफिकले अर्को विशेष अवसर पाएका छन्। प्रहरी प्रधान कार्यालयले उनीहरूलाई नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल वरिपरि ट्राफिक व्यवस्थापनको जिम्मेवारी सुम्पिएको छ।
हाल ट्राफिक प्रहरी निरीक्षकको नेतृत्वमा १६ महिला ट्राफिक खटिएका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी बसन्त पन्तले ‘ब्रेक एन लिंक्स’ सँग विशेष कुरा गर्दै भने, ‘थापाथलीमा महिला ट्राफिकलाई जिम्मेवारी दिँदा उत्कृष्ट नतिजा देखियो। त्यसैको आधारमा हामीले विमानस्थल वरिपरिको जिम्मेवारी पनि उहाँहरूलाई सुम्पिने निर्णय गर्यौं।’
विमानस्थल वरिपरि ट्राफिक व्यवस्थापनको जिम्मा प्रहरी निरीक्षक मनिषा बुढाथोकीको काँधमा छ।
एसएसपी पन्त विमानस्थल वरिपरिको ट्राफिक व्यवस्थापनमा गत सातादेखि महिला ट्राफिक खटिएको बताउँछन्। भन्छन्, ‘एक सातामै पहिलेभन्दा थप सुधार देखिएको छ।’
उनी महिला ट्राफिकको कार्य–कौशलता अभिवृद्धि गर्दै उनीहरूलाई विमानस्थल भित्र पनि जिम्मेवारी दिने विषयमा आफूहरू अध्ययनरत रहेको बताउँछन्।
‘उहाँहरूको कार्य–कौशलता हेर्दा छिट्टै विमानस्थल भित्र खटाउने वातावरण बन्ने छ,’ उनले भने।
विमानस्थल जस्तो संवेदनशील क्षेत्र देशको इज्जतसँग गाँसिएको छ। यस्तो क्षेत्रमा महिला ट्राफिकको उपस्थितिले उनीहरूको कुशल कार्य–कौशलतालाई पनि उजागर गरेको छ।
१ .
२ .
३ .
४ .
५ .