दुबई प्रहरीको जागिर छोडेका सुरज यसरी परे पर्शुरामको फन्दामा

तस्बिरः बिएल

युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई प्रहरीका जागिरे सुरज पन्तको दैनिकी ठिकठाक चलिरहेको थियो। काम पनि राम्रै थियो। परिवार पनि सुखी नै थिए।

२०६९ सालमा सोसल मिडियामा देखिएको एउटा विज्ञापनले उनको मनमा एक्कासी तरंग ल्यायो। उनलाई दुबईमा कमाइरहेको पैसा पनि कम लाग्न थाल्यो।

कम खर्चमा क्यानडा जान सकिने र त्यहाँ टन्न पैसा कमाउने विज्ञापनबाट विचलित भएका सुरज अन्ततः दुबई प्रहरीको जागिर छोड्ने मनस्थितिमा पुगे।

सोसल मिडियामा आएको त्यो विज्ञापनले सुरजलाई मात्र होइन, नेपालमा डिग्री बोकेर बसेका थुप्रै युवाहरूलाई आकर्षित पारेको थियो।

उनीसँग दुबईमा अन्य ५ जना साथी पनि काम गर्थे। उनीहरूलाई पनि सुरजको जस्तै क्यानडा जाने अफर आएको थियो। एकदिन सबैले मिलेर सल्लाह गरे। र, दुबईमा हुँदाखाँदाको जागिर छोडेर नेपाल हान्निए।

विज्ञापनमा भने झैं उनीहरूको सपना थियो, क्यानडा जाने र पिआएर बनाउने। नेपाल आएपछि उनीहरूलाई खबर आयो, क्यानडा उड्नका लागि सुरुमा थाइल्यान्डको राजधानी बैकक आउनु।

फेसबुकबाट भएको कुराकानीकै आधारमा उनीहरू क्यानडा उडेको सपना बुन्दै बैंकक उत्रिँएका थिए। तर, त्यहाँ पुगेपछि उनीलगायत सबै साथीहरूलाई थाहा भयो, उनीहरू ठगीमा फसिसकेका छन् भनेर।

र, ठग्ने व्यक्ति थिए, पर्शुराम गुरुङ। जो अहिले नेपाल प्रहरीको हिरासतमा छन्।

‘मलगायत पाँच जनाको समूहमा पर्शुरामका भतिजा पनि थिए,’ अपरिचित व्यक्तिको लयमा लाग्दा बिल्लिबाठ भएका सुरज भन्छन्, ‘हाम्रो बैंकक जाने व्यवस्था पनि उसैले गरेको थियो।’

बैंकक पुगेपछि उनलाई हाते भन्ने ठाउँ पुर्याइएको थियो। यही सुरजको पहिलो भेट पर्शुरामसँग भएको थियो।

‘तपाईहरूको भाग्य राम्रो रहेछ। मनग्यै कमाउने हुनुभयो। चिन्ता नगर्नुहोस,’ बैंककमा पर्शुरामले आफूहरूलाई भनेको शब्द सुनाउँदै सुरजले भने– ‘घण्टाको १६ क्यानेडियन डलर आम्दानी हुन्छ भन्थ्यो।’

सुजनलगायत उनका साथीहरूले आइएमई मार्फत सुरुमा जीवन गुरुङलाई केही रकम बुझाएका थिए। बाँकी रकम पर्शुरामलाई।

पैसा बुझाएको केही दिनपछि उनीहरूलाई क्यानडा उडाउने भनेर बैंकक विमानस्थल ल्याइएको थियो। यसपछि उनीहरू एक्कासी सम्पर्क विहिन भए।

‘हामी त विमानस्थलमै अलपत्र पर्यौं। पछि कानुनी प्रक्रिया पुरा गरेर नेपाल फर्कियौं,’ सुजनले दुखेसो पोखे, ‘मेरो त दुबई प्रहरीको राम्रो जागिर पनि गयो।’  

ठगी तथा मानवतस्करीको अभियोगमा गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले इन्टरपोलको सहयोगमा शुक्रबार पक्राउ गरि सार्वजनिक गरेको छ। उनी थाइल्यान्डमै पक्राउ परेका थिए।

गुरुङले थाइल्यान्डमै बसेर २ सय भन्दा बढी व्यक्तिबाट ७ करोड भन्दा बढी रकम ठगी गरेको अनुसन्धानबाट खुल्न आएको छ।

अपरिचित व्यक्तिको कुरा पत्याउँदा आफू समस्यामा परेको सुजन बताउँछन्। उनी अहिले बैदेशिक रोजगारीमा जाने सर्वसाधारण नेपालीलाई सबै कुरा नबुझी कसैको विश्वास नगर्न अनुरोध गर्दछन्।

यो पनि

चार्ल्स शोभराज शैलीमा ठगी गर्ने गुरुङ यसरी परे प्रहरी फन्दामा

प्रकाशित मिति: : 2019-05-26 15:00:46

प्रतिकृया दिनुहोस्