चार्ल्स शोभराज शैलीमा ठगी गर्ने गुरुङ यसरी परे प्रहरी फन्दामा

बिएल

विदेशमा आकर्षक तलबमा जागिर लगाइदिन्छु भन्ने व्यक्तिलाई के तपाईले राम्रोसँग चिन्नु भएको छ?

चिन्नु भएको छैन भने यस्ता अपरिचित व्यक्तिबाट सावधान रहनुहोला।

यस्ता व्यक्तिहरू चालर्स शोभराजभन्दा पनि खतरनाक बन्न सक्छन्।

नेपाल प्रहरीले बैदेशिक रोजगारीको नाममा ठगी गर्ने यस्तै एउटा व्यक्तिलाई इन्टरपोलको सहयोगमा थाइल्यान्डबाट पक्राउ गरेको छ।

पर्शुराम गुरुङ नाम गरेका यी व्यक्ति आफू क्यानडाको स्थायी बासिन्दा (पिआर होल्डर) भएको भन्दै नक्कली परिचय–पत्र देखाएर सोझा नेपालीलाई ठग्दै हिडिरहेका थिए।

उनले ५२ जना नेपालीबाट १३ करोडको हाराहारीमा ठगी गर्न भ्याइसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

लामो समयदेखि थाइल्यान्डमा बसोबास गरिरहेका गुरुङ आफ्नो सक्कली पहिचान लुकाएर समाजिक सञ्जालमार्फत नेपाली युवाहरूलाई बैदेशिक रोजगारीमा पठाउने भन्दै प्रलोभन दिने गर्दथे।

उनले पीडित नेपालीहरूलाई क्यानडाको पिआर दिलाइदिने, रोजगारीका लागि फ्रान्स, कोरिया, मकाउ, अस्ट्रेलिया र अमेरिका पुर्याइदिने भन्दै प्रत्येकबाट ५ देखि २० लाखसम्म असुलउपर गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ।

उनको ठगी गर्ने तरिका चालर्स शोभराजभन्दा कम देखिदैन।

बैदेशिक रोजगारीमा जान चाहने इच्छुक नेपालीहरूको सम्पूर्ण व्यवहोरा उनी पहिले सामाजिक सञ्जालबाट निकाल्थे।

र उनीहरूलाई आफू क्यानडाको पिआर भएको भ्रम छर्दै आफ्नो विभिन्न नक्कली आइडीबाट लोभ्याउँथे। विस्तारै चिनजान अगाडि बढेपछि भिजिट भिषामा थाइल्यान्ड आउन आग्रह गर्थे।

एकपल्ट आफ्नो जालोमा फसेपछि उनी पीडितहरूबाट मोटो रकम नअसुलेसम्म छोड्दैन्थे।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का प्रवक्ता प्रहरी उपरीक्षक सुदीप गिरी भन्छन्, ‘अभियुक्त गुरुङ पीडितहरूलाई थाइल्यान्ड बोलाउन सफल भएपछि उनीहरूलाई कोठामा थुनेर राख्थे। पीडितहरूले पकेट खर्चको रुपमा लगेको डलर पनि लुटेर लैजान्थे। बाहिर निस्किएको खण्डमा थाइ पुलिसले गोली हान्ने डर देखाउँथे।’

रोजगारीको नाममा पीडितलाई थाइल्यान्ड बोलाएर बन्धक बनाएपछि अभियुक्त गुरुङ नेपालमा रहेका पीडितका आफन्तहरूबाट थप पैसाको डिमान्ड गर्थे।

पर्शुराम गुरुङको अपराधिक कार्य तिब्र बन्न थालेपछि पीडितहरूको जाहेरीको आधारमा सिआइबीले २०७२ सालमा मुद्धा दर्ता गरेको थियो।

अनुसन्धानका क्रममा गुरुङले थाइल्यान्डलाई अपराधको थलो बनाएको देखियो। सिआइबीको रिपोर्टको आधारमा नेपाल सरकारले २०७२ सालको जेठ २२ मा गुरुङको नेपाली राहदानी रद्द गर्ने निर्णय गर्यो।

असार १८ मा उनको नाममा इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ जारी भयो।

नेपाली राहदानी रद्द भएपछि समस्यामा परेका अभियुक्त गुरुङ ट्राभल डकुमेन्ट बनाएर केही वर्ष थाइल्यान्डमा लुक्न सफल भएका थिए।

उनलाई चैत १३ गते थाइल्यान्ड र लाओसको सिमानजिकै रहेको एउटा गाउँ नाखोन फानोम–नोङ यारबाट नेपाल प्रहरीको सम्वन्यमा थाइ प्रहरीले पक्राउ गरेको हो।

‘कानुनी प्रक्रिया पुरा गर्न समय लागेको हुनाले नेपाल ल्याउन ढिलो भयो,’ प्रवक्ता गिरीले भने। अभियुक्त गुरुङलाई शनिवार सिआइबीले सार्वजनिक गरेको थियो।

उनको भूलभूलैयामा पर्दा २ सयभन्दा बढी घर–परिवार पीडित बन्न पुगेको प्रहरीको आकंलन छ।

प्रकाशित मिति: : 2019-05-25 16:35:18

प्रतिकृया दिनुहोस्