बाजुरामा अझै दुई सय छाउ गोठ, जति नै लगानी गरे पनि समस्या ज्यूँ का त्यूँ

तस्बिरः बिएल

छाउपडी प्रथाको अन्त्य गर्ने भन्दै सुदूर नेपालमा दर्जनौं एनजीओ आईएनजीयो र सरकारी निकायसमेतले विभिन्न अभियान सञ्चालन गर्दै आएको वषौं बित्यो।

तर पनि उक्त क्षेत्रमा छाउपडी प्रथाको अन्त्य भएको छैन।

सुदूर नेपालको बाजुरामा पनि छाउविरुद्धको अभियानलाई सशक्त पारिएको छ। जिल्लाका सबै स्थानीय तहमा गरी अझै पनि दुई सय छाउ गोठ रहेको स्थानीय प्रतिनिधिले बताएका छन्।

जिल्लामा अभियाननै चलाएर जतिनै छाउगोठ भत्काए पनि छाउ प्रथा भने ज्यूँका त्यूँ छ।

महिनावारी भएको समयमा घरपरिवारमा छोइहालेमा घरमा अनिष्ट हुने, देवी देवता रिसाउँछन्, पाप लाग्छ भन्नेजस्ता परम्परागत रूढीवादी र अन्धविश्वासबाट महिला पीडित हुने गरेका छन् ।

खप्तड छेडेदह गाउँपालिका–५ का महिला महिनावारी वा सुत्केरी भएको समयमा घरमा प्रवेश गर्न नहुने अन्धविश्वासका कारण घरभन्दा टाढा रहेको गोठमा बस्दै आएका छन्।

छाउपडी भएका बेला घरभित्र पस्न नदिने, घरभित्रको काम गर्न नदिने, दूध दही मोहीजस्ता पोषणयुक्त खानेकुरा खान नपाईने स्थानीय भुजी सुनारले बताइन्।

छाउप्रथा हटाउन जतिसुकै योजना लागू गरिएको भएपछि छाउ प्रथा कायमै रहेको उनको दाबी छ।

‘छाउप्रथा हटाउने भनेको धेरै भयो, त्यो भनाईमा मात्र सिमित छ,’स्थानीय लक्ष्मी रावलले भनिन्, ‘हाम्रा समस्या ज्यूँका त्यूँ छन्, सरकारी अभियानले हामीलाई छोएको छैन।’

कानुनमा कसैले छाउपडी प्रथालाई मान्यता दिएमा ३ महिनासम्म कैद, ३ तीन हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था  छ।

प्रकाशित मिति: : 2019-05-25 13:26:07

प्रतिकृया दिनुहोस्