सात करोड ६८ लाख नक्कली भारु लिन विमानस्थल पुगेका युनुस अन्सारी पक्राउ

तस्बिरः बिएल

दोहाबाट आएका तीन पाकिस्तानी नागरिकलाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका युनुस अन्सारी पक्राउ परेका छन्।

साला र सहयोगीसहित विमानस्थल गएका उनीहरूलाई तीन पाकिस्तानीसहित विमानस्थल भन्सारले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको हो।

यसअघि दुईपटक नक्कली भारतीय रुपैयाँ र लागूऔषधसहित पक्राउ परिसकेका युनुससँगै उनका साला सोहेल खान र सहयोगी सुजन रानाभाट पनि पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।

भन्सार कार्यालयले पाकिस्तानबाट कतार एयरवेजको उडानबाट दोहा हुँदै काठमाडौं ओर्लिएका दुई पुरूष र एक महिलालाई नियन्त्रणमा लिएको हो। उनीहरुले ल्याएको सुटकेशमा नक्कली भारतीय रुपैयाँ फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने पाकिस्तानी नागरिकमा नासिर उद्दिन (पासपोर्ट एआर २४०६४३२), नादिया अनवर (पासपोर्ट सिएन१८१२०३२) र मुहम्मद अख्तर (एए १३४५४९४) छन्।

विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दिप भण्डारीका अनुसार सात करोड ६७ लाख ९४ हजार नक्कली रूपैयाँ बरामद भएको छ। यसबारे थप अनुसन्धान र खोजतलास जारी रहेको उनले बताए।

प्रहरीले यसअघि २०७० माघमा युनुस अन्सारीलाई नक्कली भारतीय रुपैयाँसहित पक्राउ गरेको थियो।

त्यसअघि उनी पहिलो पटक २०६६ पुसमा थापाथलीबाट २५ लाख ४४ हजार ५०० नक्कली भारतीय रुपैयाँ र तीन केजी ७०० ग्राम खैरो हेरोइनससहित पक्राउ परेका थिए।

यो पनि हेर्नुहोस्

दुई वटा ब्रिफकेशमा भारतीय नक्कली नोट: तीन पाकिस्तानीसहित ६ पक्राउ

प्रकाशित मिति: : 2019-05-24 14:53:08

प्रतिकृया दिनुहोस्