सात करोड ६८ लाख भारतीय नक्कली नोटसहित युनुस अन्सारी पक्राउ

तस्बिरः बिएल

त्रिभुवन विमानस्थलमा सात करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित युनुस अन्सारी पक्राउ परेका छन्। उनी तीन पाकिस्तानी नागरिकसहित पक्राउ परेका हुन्।

त्रिभुवन विमानस्थल प्रहरी प्रमुख सन्दीप भण्डारीका अनुसार युनुसलाई लिन गएका सालो र चालक पनि पक्राउ परेका छन्। 

पक्राउ परेकामध्ये पाकिस्तानी नागरिक अख्तर अहम्मद, उदिन नासिर र अनवार नाइदा छन्। 

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार यी सबै कतारको बाटो हुँदै काठमाडौं आएका थिए। तीन पाकिस्तानी नागरिक इस्लामाबादबाट सुरुमा कतारको राजधानी दोहा पुगेको र उनीहरूसँग युनुस दोहाबाट काठमाडौं आएको प्रहरीले बताएको छ।

युनुस पूर्वमन्त्री सलिम मिया अन्सारीका छोरा हुन्। उनी ९ वर्षअघि भारतीय नक्कली नोट कारोबारकै सिलसिलामा काठमाडौंमा पक्राउ परेका थिए। त्यतिबेला पनि उनीसँग दुई पाकिस्तानी नागरिक पक्राउ परेका थिए।

यसअघि पनि नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थ कारोबारमा पक्राउ परिसकेका अन्सारीमाथि केन्द्रीय कारागारमा रहँदा गोली प्रहार समेत भएको थियो।

युनुश पहिलोपटक पक्राउ पर्नुअघि उनी नेशनल टेलिभिजनका सञ्चालक थिए।

प्रकाशित मिति: : 2019-05-24 13:43:31

प्रतिकृया दिनुहोस्