आत्मनिर्भर युवतीको कथाः
चितवनकी कन्चन मगरलाई घरको कमजोर आर्थिक अवस्थाले सधै पिरोलिरहन्थ्यो।
ऋण गरेर रोजगारीका लागि मलेसिया गएका बुबाले ४ वर्षपछि एउटा रंगीन टिभी मात्र बोकेर घर फर्किए। उनले आफू गएको ऋणसमेत तिर्न सकेनन्। उनीहरूको परिवारलाई थप आर्थिक भार बढ्यो।
‘परिवारमा कमाउने कोही छैनन्, दुई छाक गाँस पुर्याउन धौ-धौ भएपछि बाध्य भएर म काठमाडौं आएँ,’ ललितपुर मानभवनको एक कफी सपमा कार्यरत उनले ब्रेकएनलिङ्ससँग भनिन्, ‘काठमाडौंमा ठूली आमाकोमा बस्न थालेँ। तर, घरमा आमालाई कति दुःख होला भनेर पिर परिराख्थ्यो।’
केही इलम गरेर पढ्न पाए घरमा पनि सहयोग हुन्थ्यो कि भन्ने कुरा दिमागमा आइरह्यो।
‘पढ्न कलेज गयो। तर, मन भने उही आमा र भाइको वरिपरी घुमिराख्थ्यो। केही काम गरेर थोरै भए पनि पैसा पठाउन पाए मेरी आमा कति खुसी हुन्थिन् होला मनभरी यस्तै कुरामात्र आईराख्थ्यो,’ उनले भनिन्।
घरको अवस्थाले सधै अध्यारो मुख लिएर हिँड्ने उनलाई एक जना छिमेकी दिदीले निःशुल्क बेकरी बनाउने तालिम दिने संस्थाको बारेमा भन्नु भएछ।
‘तालिममात्र फ्रिमा लिन पाए काम त पाईहाल्छु भन्ने विश्वाससहित म यहाँ आए,’ उनले भनिन्,‘६ महिनाको तालिम सकेर अहिले काममा छु,’ कफी बनाउँदै भनिन्।
अहिले थोरै भए पनि घरमा पैसा पठाएर आमाको दुःख साट्न पाएकोमा कन्चन निकै खुसी छन्।
स्नातक तहमा अध्ययनरत उनले पढाइसँगै घरमा व्यवहार चलाउन आमालाई सघाइरहेकी छन्।
क्याफेमा हँसिलो मुद्रामा ग्राहकलाई सेवा दिईरहेकी अर्कि एक किशोरीको कथा उस्तै छ।
मंगलबजार घर भएकी श्रेया राजकर्णिकार भर्खर १९ वर्षकि भईन्। १२ कक्षाको पढाई सकेर बसेको बेला निःशुल्क तालिमबारे थाहा पाएकी उनी अहिले जागिरेसमेत भइसकेकी छन्।
‘काम गरेर पैसा नि कमाउँछु। बिहान कलेज नि जान्छु,’ उनले दङ्ग पर्दै भनिन्।
मंगलबजारको सानो मिठाई पसलबाट आएको आम्दानीले दिदी बिए पढ्दैछिन् र आमाले घर व्यवहार चलाइरहेकी छन्।
‘सानै उमेरमा म पनि आफ्नो खुट्टामा उभिएँ। घरमा सबै जना दङ्ग हुनुहुन्छ,’ उनले मुसक्क हाँस्दै भनिन्।
नेपालमा सिपमुलक तालिम दिने संस्थाहरू मध्ये केही कामचलाउ मात्रै भए पनि केहीमा कामको लगाव, समयको व्यवस्थापन र आफूभित्रको आत्मविश्वासलाई जगाउने यस्तो खालको तालिमले हामीलाई साच्चै नै आत्मनिर्भर बनाएको छ।
टिनएजमै काम सुरू गरेपछि बिग्रने डर पनि कम हुने र परिवारको आर्थिक बोझ पनि घट्ने उनले बताइन्।
‘यदि मन भित्र नेपालमै बसेर केही गर्न सक्छु भन्ने आँट छ भने जे पनि गर्न सकिन्छ। तर, हार मान्दै गयो भने नेपालमा मात्र होइन विदेश पुगे पनि केही गर्न सकिन्न,’ उनले बढो आत्मविश्वासका साथ भनिन्, ‘मैले काम गर्न सक्छु भन्ने आँटका साथ तालिम अवधिभर लगाव दिएर सिकेँ। त्यसैले १९ वर्षकै उमेरमा आमावुवासँग पैसा माग्ने होइन दिनसक्ने भएकि छु।’
ललितपुरको कुमारीपाटीमा खुलेको दिदी बेकरी क्याफेका कार्यरत यी दुई युवती प्रतिनिधि पात्र हुन्।
मानभवनको युएफओ सोरूम अगाडिको गल्लीमा रहेको दिदि वेकरी क्याफेमा यी जस्तै ६-७ जना किशोरीहरू जागिरे छन्।
ती मध्ये कोही कफि बनाउँदै हुन्छन् भने कोही बिल काटिरहेको र केही किशोरी ग्राहकलाई खानेकुरा दिँदै हुन्छन्। सबै हँसिला र फुर्तिला देखिन्छन्।
यो वेकरी क्याफेमा काम गर्ने किशोरीलाई कोरियाको एसियन वुमन ब्रिज नामक संस्थाले निःशुल्क तालिम दिएर काममा लगाएको हो।
यो संस्थाले आर्थिक रूपमा कमजोर तथा विभिन्न हिंसामा परेका महिला तथा किशोरलाई सन् २०१३ देखि बेकरी बनाउने तालिम दिँदै आएको छ।
संस्थाले हालसम्म ९१ जनालाई तालिम दिईसकेको छ जसमध्ये ५५ जना भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।
संस्थाले बेकरी बनाउने तालिमसँगै ६ महिनाको अविधिमा तीन पटक लैंगिक नेतृत्व सम्वन्धि तालिम दिने गरेको छ। जसबाट महिलाहरूले आफ्नो सामाजिक, आर्थिक शसक्तिकरणको विकास गराउन सक्छन्।
संस्थाले व्यवसायबाट पाउने सफलताबारे तालिमसमेत दिने गरेको छ।