फसेको रकम उठाउनदेखि रिसिवी साध्न बालबालिकाको हत्या, ५ वर्षमा ३०३ बालबालिका मारिए

तस्बिरः बिएल

अपराधिको निशानामा बालबालिकाः

२०७५ साल मंसिर ११ गते काठमाडौंको गोंगबुबाट ८ वर्षिय बालक प्रयास कुँवर एकाएक गायव भए।

बालकका परिवारलाई अपरहरण फिरौतीवालाको कुनै फोनसमेत आएन।

प्रहरी, परिवार र आफन्तले बालकको खोजी गर्‍यो, त्यसको केही समयपछि प्रहरीले बालकको शव फेला पार्‍यो, उक्त शव जेब्रा झोलामा पोको पारेर फ्याँलिएको अवस्थामा भेटियो।

 तत्काल प्रहरीको अनुसन्धानमा हत्या भएको खुल्यो। तर, कसले र किन गर्‍यो भन्ने खुल्न समय लाग्यो।

यद्यपी घटनाको ४८ घन्टा भित्र प्रहरी हत्यारा समात्न सफल भयो।

गोंगबु मित्रनगरमा रहेको स्वस्तिक त्रिवेणी गेष्ट हाउसमा रहेका बालकको हत्या होटेलमै काम गर्ने गाडी चालक २२ वर्षीय महेन्द्र सार्कीले गरेको प्रहरी अनुसन्धानमा खुल्यो।

बालक हराएपछि खोजी कार्यमासमेत प्रहरी र आफन्तलाई सहयोग गरेका सार्कीले नै हत्या गरेर खोलामा फ्याँकेको पुष्टि भयो।

त्यसपछि प्रहरीले अनुसन्धान तिब्र पार्‍यो। बालकलाई हत्या गर्नुपर्ने कारण बारे नौलो रहस्य पत्ता लाग्यो। हत्या बालकको कारणले नभएर उनका बुबा प्रविण कुँवरको कारण भएको खुल्यो।

मित्रनगरमा स्वस्तिक त्रिवेणी गेष्ट हाउसका सञ्चालक  प्रविणले सार्कीलाई करिब २ महिनादेखि होटेलमा चालकको रूपमा काम दिएका थिए।

सार्कीले आफूलाई बालकका बुबाले पटक पटक गाली गरेको रिसमा हत्या गरेको बयान प्रहरीमा दिए। जिल्ला अदालत काठमाडौंको आदेशमा सार्की अहिले जेलमा छन् ।

त्यस्तै २०७५ साउनमा काठमाडौंको काँडाघारीका बालक निशान खड्काको अपहरणपछि हत्या भयो।

बालक खड्काकै घरमा सधैं आउनेले उनलाई अपहरण गरी हत्या गरेका थिए। पछि हत्या गर्ने २ जनालाई प्रहरीले इन्काउटर गर्‍यो।

त्यसको दुई महिनापछि फेरि अर्को त्यस्तै घटना घट्यो।

माघ ११ गते थापाथलीस्थित प्रशूति गृहकी डाक्टर बविता साहकी दुई वर्षीया छोरी अपहरणमा परिन्। तर, प्रहरीले बालिकालाई सकुशल उद्धार गर्‍यो।

अपहरणको अभियोगमा मनिष गुप्ता र उनकी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लियो। गुप्ताले विदेश जाने शिलशिलामा आफ्नो फसेको रकम उठाउन बालिका अपहरण गरेको प्रहरीमा खुल्यो।

यी त एक उदाहरणका घटना मात्र हुन्। देशभरी यस्ता घटना दिनहुँजसो घटेकै हुन्छन्।

पछिल्लो समयमा अपराधिको निशानामा अवोध बालबालिका पर्ने गरेका छन्।

घर परिवारसँगको रिसिइवी साध्न होस् या फसेको रकम उठाउन नै किन नहोस् बालबालिकानै त्यसको सिकार हुने गरेको प्रहरी तथ्याकंले देखाउँछ।

प्रहरीको तथ्याङ्क अनुसार आधार मान्दा वर्षेनी ८० जना बालबालिकाको हत्या हुने गरेको देखिन्छ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७१/७२ मा कुल ७४ जना बालबालिकाको हत्या भएको छ। त्यसमा ४४ जना बालक र ३० जना बालिका छन्।

प्रहरी तथ्याकं अनुसार आर्थिक वर्ष २०७२/७३ मा १०६ जना बालबालिकाको हत्या भयो। हत्या हुनेमा ५५ जना बालक र ५१ जना बालिका छन्।

त्यसैगरी आर्थिक वर्ष २०७३/७४ मा भने अघिल्लो वर्षको तुलनामा बालबालिका हत्याको दर केही कमी आयो। उक्त वर्ष ७९ जना बालबालिका मारिए। मारिनेमा ४० बालक र ३९ बालिका छन्।

२०७४/७५ मा बालकभन्दा बढी बालिका मारिए त्यसैगरी चालु आर्थिक वर्षको ६ महिनामा ४४ जना बालबालिकाको यसैगरी हत्या भइसकेको प्रहरी तथ्याकंमा छ ।

अबोध बालबालिका हत्याको ग्राफ बढिरहेको भन्दै नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले आफूहरूलाई यसले गम्भीर बनाएको बताएका छन्।

‘यसले हामीलाई गम्भीर बनाएको छ, हामी अनुसन्धान गरेर कम गर्ने रूपमा बढिरहेका छौं,’ प्रवक्ता पोखरेलले बीएलसँग भने।

प्ररही बालबालिका हत्या रोक्न विशेष योजना ल्याएर निर्मूल पार्ने गरी काम गरिरहेको बताए।

‘बालबालिका हत्या अपहरणका घटना धेरै भए, यो सम्वन्धमा हामीले सरोकारवालासँग पनि समन्वय गरी त्यसलाई निर्मुल पार्नेमा हाम्रो प्रयास छ’, प्रवक्ता पोखरेलले भने।

प्रकाशित मिति: : 2019-05-22 10:57:10

प्रतिकृया दिनुहोस्