भीआईपी जुवाडे पक्राउ प्रकरण: २५ जुवाडेलाई थप २ दिन हिरासतमा राख्न अनुमति

महाराजगञ्जमा शनिबार राति चलाइएको जुवा अपरेशनमा पक्राउ परेका २५ जुवाडेलाई थप २ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनीहरुलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको हो । बिहीबार प्रशासनमा उपस्थित गराइएका २५ जना उनीहरुलाई प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले एकमुष्ट ७ दिनको म्याद दिएर अनुसन्धान प्रक्रियालाई अघि बढाउन अनुमति दिएका हुन् ।

उनीहरु पक्राउ परेको ५ दिन बितिसकेको छ भने अब २ दिनमा प्रहरीले अनुसन्धान गरेर जिल्ला प्रशासन कार्यालयमा पेश गर्नुपर्नेछ ।

यसअघि क्यासिनो किङका रुपमा चिनिने गुण्डा नाइके बलराम सापकोटा उर्फ बले, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ति लामा सर्वोच्च अदालतले आदेश बुधबार हिरासतमै राख्न आदेश दिएको थियो ।

यसैबीच बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका जुवाडेमध्येका १४ जनाको रिटमा बिहीबार सुनुवाइ हुँदैछ ।

पक्राउ परेका उनीहरुको साथबाट दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद भएको थियो ।

बरामद भएका हजार र ५ सय रुपैयाँका नोट गन्न प्रहरीलाई करिब ३ घन्टा लागेको थियो । पक्राउ परेका २४ जनाविरुद्ध जुवा ऐनअन्तरगत मुद्दा चलाउने तयारी गरिएको महाराजगञ्जका डीएसपी उमेश लम्सालले बताए ।

प्रकाशित मिति: : 2019-10-31 12:43:39

प्रतिकृया दिनुहोस्