परदेशमा घरदेशको शिक्षा र संस्कार सिक्दै नानी-बाबुहरू

नेपाल र नेपाली सिक्दा नानी-बाबु पनि दंग, अनि उनीहरूका लागि स्वयंसेवा गर्न पाउँदा नानी-बाबुका आमाहरू पनि दंग । तस्विर सौजन्य: गुरूकुल ।

सयौं थुँगा फूलका हामी एउटै माला नेपाली
सार्बभौम भई फैलिएका मेची महाकाली

.......................जय जय नेपाल

आँखा बन्द गर्दै छातिमा हात राखेर लहरै उभिएका करिब ६ देखि १२ वर्षका विद्यार्थी गाउँदै थिए।विद्यार्थीको लाइनको छेउछाउमा साडीमा सजिएका गुरुआमा पनि केटाकेटीलाई साथ दिदै नेपाली राष्ट्रिय गान गाइरहेका थिए।राष्ट्रिय गान सकिएपछि प्रिन्सिपल गुरुआमा रचिता शर्माले सरस्वती बन्दनाको समय भएको उद्घोष गरिन् । सबैले हात जोडेर बन्दना गाए।

कविता, कथा, चुटि्कला सुनाउन ईच्छुक भाइ-बहिनीलाई अगाडि आउन गुरुआमा शर्माले प्रोत्साहन गरेपछि केहीले कपीमा लेखेर ल्याएका कविता वाचन गरे त केहीले चुटि्कला सुनाए।चुटि्कला सुनेपछि भने विद्यार्थीहरू पेट मिचिमिची हाँसे।

यसरी हँसिमजा सकिएपछि गुरुकुल नेपाल स्कुल लेखिएको सुन्तला रंगको टिसर्ट लगाएका बालबालिका आ-आफ्ना कक्षा कोठामा पसे।उनीहरुको पछिपछि लागे गुरुआमाहरु। 

यो दृश्य हो- क्यानडाको एडमण्डटनमा सञ्चालित गुरुकुल स्कूल नेपालको। बी एण्ड द वर्ल्ड सेन्टरले करिब सात वर्षदेखि सञ्चालनमा ल्याएको यस स्कूलमा अहिले ५० भन्दा बढी नेपालीमूलका बालबालिका अध्ययनरत् छन्।शनिवार  बिहान साढे ११ बजेदेखि साढे तीन बजेसम्म सिकाइको स्तर र उमेर समुह अनुसार बालबालिकालाई क ख ग.. , अ आ इ.. , क का की.. पढाइन्छ।

वालवालिकाहरू योग गर्छन्।त्यति मात्र कहा हो र?, उनीहरु नेपाली गीतमा छमछमी नाँच्न सिक्छन्।अहिले स्थानीयस्तरमा हुने हरेक कार्यक्रममा गुरुकुलका विद्याथीको नृत्य अनिवार्य जस्तै छ।कहिले तामाङ सेलो त कहिले मारुनी नाच, कहिले राजमति कुमति.. थरिथरिका नेपाली भाकाको तालमा नाँची दिन्छन् यहाँका विद्यार्थीहरू।उनीहरु चित्र बनाउन सिक्छन्, बाजा बजाउन र गीत गाउँन पनि अभ्यास गर्छन्।

स्थापनाको शुरु शुरुमा त साइन्स, म्याथ पनि सिकाइएको जानकारी प्रिन्सिपल शर्माले दिइन्।'समय थोरै भएकाले अहिले हामीले नेपाली भाषा, संस्कृति र कलामा मात्र जोड दिएका छौं, उनी भन्छिन्।बालबालिकाको ईच्छा तथा रुचिअनुसार संगीत सिक्न चाहने संगीत सिक्छन्, नाँच्न मन हुने नृत्य सिक्छन्।साहित्यमा रूचि हुने कविता, कथाआदि लेखेर सुनाउँछन्।

नेपाली भाषा र संस्कार सिकाउन विद्यालयमा विभिन्न खाले बालप्रतियोगिता पनि आयोजना गरिन्छ। जस्तो कि नेपालमा भएका परिवारका सदस्यको नाम सुनाउने, साइनो सुनाउने, ठाउँको नाम सुनाउने आदि इत्यादि।यस्तै एक प्रतियोगिता जितेका विद्यार्थी हुन् १२ वर्षीय प्रद्योतन निरौला।उनले नेपाली परिवार र समाजमा भएका २२ नाता सुनाएर क्यान्डी, ताली र सबैको स्यावासी पाएका थिए।उनी भन्छन्- मलाई नेपाली स्कुल आउँन रमाइलो लाग्छ। आफ्नै उमेरका नेपाली साथीभाइसँग भेट हुन्छ, गफ गर्न रमाइलो लाग्छ।'

आठ वर्षअघि सपरिवार क्यानडा बसाई सरेका उनी चार वर्षको उमेरमा क्यानडा आएका थिए। उनले झण्डै नेपाली विर्सिसकेको बताउँदै फरर नेपालीमै भन्छन्- 'पहिले नेपाली बोल्न बिर्सिन आँटिसकेको थिएँ।तर अहिले फरर बोल्न, पढ्न र लेख्न सक्छु।”

यसैगरी, प्रद्योतनकै उमेरका सुभम लुइँटेलपनि नेपाली स्कुलमा आउन पाउँदा दंग पर्छन्। उनी भन्छन्- 'नेपाली साथीसँग भेट हुन्छ, नेपालीमै कुरा हुन्छ।'छो राले नेपाली स्कुलमा जान थालेदेखि धेरै नेपाली बोल्न थालेको अनुभव सुनाउँछिन्- सुलभकी आमा सुमा लुईँटेल। 

यसरी विदेशी भूमिमा हुर्किएका नेपालीमूलका बाबु-नानीलाई नेपाल र नेपाली सिकाउने जर्मर्को गर्ने अभियन्ता हुन्- दीपक लामा र रचिता शर्मा।उनीहरूले आफ्ना केही साथीसँग मिलेर यो अभियान सुरू गरेका थिए। नेपालमा लामो समय शिक्षण पेशामा आवद्ध शर्मा विगत सम्झदै भन्छिन्- 'क्यानडा आएपछि छोराछोरीले नेपाली भाषा बिर्सिएलान् भने डरले पिरोल्न थाल्यो।साथी-भाइसँग सरसल्लाह भएपछि केटाकेटी जम्मा पारियो।र, सन् २०१२ मा दीपक लामाको घरमै नेपाली पढाउन थालेर सुरू गरियो नेपाली स्कुल गुरुकुल।

शुरुका दिनमा जम्मा चारजना विद्यार्थी भएको संस्मरण गर्दै प्रिसिन्पल शर्मा भन्छिन्- 'अहिले विद्यार्थीेको भार खेपिनसक्नु छ।प्रतीक्षा सूचिमा मात्र ३० भन्दा बढी विद्यार्थी छन्।'सबैलाई समेट्न नसक्दा दु:ख लागेको बताउँदै प्रिन्सिपल शर्मा थप्छिन्- 'के गर्नु आफ्नै भवन नभएकाले इच्छा हुदाँहुदैँ पनि धेरै विद्यार्थी समेट्न सकिएको छैन।'

अहिले स्कुलमा १२ जना शिक्षिकाले नियमित स्वयंसेवा गरिरहेको बताउँदै प्रिसिन्पल शर्मा भन्छिन्- 'उहाँहरुको मेहेनत र लगनबिना यत्रो स्कुल चलाउन सम्भव थिएन।' उनका अनुसार नियमित ५ दिन काम गरेपछि बचेको समयमा नेपाली स्कुलमा खट्छन् स्वयंसेवीहरु। कुनै चाडपर्व होस् वा केटाकेटीको कार्यक्रम आफैं पकाएर नेपाली खाना पनि खुवाउँछन् गुरूआमाहरू। कसैले सबैलाई पुग्नेगरी भात पकाएर ल्याउँछन्, कसैले तरकारी, कसैले अचार।यसरी छोराछोरीको प्रस्तुति हेर्न जम्मा भएका अभिभावक र विद्यार्थीका लागि नेपाली खानाको जोहो गरिन्छ।   

घरबाट शुरु गरिएको गुरुकुल स्कुल अहिले सामाजिक संस्था वावअन्तगर्त सञ्चालित छ। स्कूल अन्य सामाजिक संस्थाको भवन भाडामा लिएर स्कुल चलाइएको छ।

गुरुकुल नेपालले बालबालिकालाई नेपाली मात्र होइन, सिगों नेपाल सिकाउने हिसावले नेपाली डाइभर्सिटी क्यालेन्डर पनि निकाल्ने गरेको छ।नेपालीमूलका परिवारको घरघरमा झुन्डिने यो क्यालेन्डरमा नेपालका विभिन्न जातजाति, चाडपर्व, भेषभूषा तथा प्राकृतिक सुन्दरताका तस्विर समेटिएका छन्।वावका अध्यक्ष दीपक लामा भन्छन्- ' नेपालको विविधिता देखाउने र चिनाउने प्रयास क्यालेन्डरमार्फत गरिएको हो।क्यालेन्डरले नेपाली तिथि मिति हेर्न सजिलो बनाउनुका साथै नयाँ पुस्तालाई त्यसको जानकारी पनि गराउँछ।'

केही समयअघि मात्र यस संस्थाले  सामुहिक गुन्युचोली कार्यक्रम आयोजना गरेको थियो।कार्यक्रममा  सात नानीलाई गुन्युचोली दिइएको थियो। यसरी सामुहिक नेपाली कार्यक्रममा छोरीलाई गुन्युचोली दिन पाउँदा आफू नेपालमै भएको अनुभुति भएको सुनाउँछिन्- तारा पौडेल।अप्रिल १३ मा गरिएको कार्यक्रममा उनकी ९ वर्षे छोरी आरुषीलाई  गुन्युचोली दिइएको थियो।नया पुस्तालाई नेपाली रीतिरिवाज सिकाउन सामुहिक गुन्युचोलीको आयोजना गरिएको स्वयसेवी साम्भवी नेपाल बताउँछिन्।  

एडमण्टनमा दुईवटा नेपाली स्कुल छन्।एउटा नर्थ एडमण्डनमा छ भने अर्काे साउथ एडमण्डनमा।नर्थ साइडमा बस्ने नेपालीलाई साउथमा अलि टाढा पर्ने भएकाले नर्थमा नै नेपाली स्कूल खुल्दा दंग परेकी उषा काफ्ले भन्छिन्- 'उता लैजान अलि समय लाग्छ, हिउँ परेको बेलामा त झन् गाह्रो हुन्छ।त्यसैले नजिकै नेपाली स्कूल हुदाँ सजिलो भएको छ।' छोरालाई स्कूल लैजाने बहानामा आफू पनि स्कुलमा स्वयंसेवा गर्छिन् तारा।

केही महिनाअघि मात्र क्यानडा आएकी हजुरआमा लक्ष्मी अधिकारी नाति शुभमसँग नेपाली बोल्न पाएर दंग छिन्।उनी भन्छिन्- 'विदेशमा जन्मिएका हुर्किएका नातिनातिनाले नेपाली नबोल्लान् नबुझ्लान् भन्ने पिरले पिरोलोको थियो।तर, यहाँ आएपछि त नाति साथीजस्तै भएको छ।नेपाली स्कूल जाँदोरहेछ।नेपाली मज्जाले बोल्छ।हामीलाई घुमाउन लैजान्छ। अग्रेजीमा कसैले केही सोध्यो भने उल्था गरिदिन्छ।' ११ वर्षे नाति शुभम अधिकारीको प्रंशशा गर्दै लक्ष्मीले आफ्नो खुशी बाँडिन्।

प्रकाशित मिति: : 2019-05-12 04:11:49

प्रतिकृया दिनुहोस्