वर्षा र सहकालका देवताको रूपमा मनाइने रातो मछिन्द्रनाथको जात्रा बुधबारदेखि शुरू भएको छ।
मुलुककै सबैभन्दा दामो जात्राको रूपमा लिइने मछिन्द्रनाथको रथलाई बुधबार पुल्चोकबाट तानेर गाबहाल पुर्याएको छ ।
वैशाख शुक्ल प्रतिपदाका दिनमा रथारोहण भएपछिहरेक वर्षको वैशाख शुक्ल चतुर्थीका दिन रथ तान्ने गरिन्छ।
रथलाई आजै गाबलहालमा छोयलाबु गरिने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताए।
जोशीलका अनुसा। भोलि गाबहालमा भुजा जात्रा (मुख्य जात्रा) गरेपछि साँझ तानेर मङ्गलबजार आसपास पुर्याइनेछ।
मछिन्द्रनाथलाई पुल्चोकबाट तानेर पाटनका विभिन्न स्थान हुँदै जावलाखेलसम्म पुर्याइन्छ। यो यात्रालाई त्रिलोक भ्रमण भन्ने गरिन्छ।
मछिन्द्रनाथको यो यात्रा गुरु बन्धुदत्त बज्राचार्यको स्मरणमा हुने गरेको मानिन्छ। यो रथयात्रालाई मछिन्द्रनाथको स्वर्गलोकको भ्रमणतुल्य मानिने जोशीले बताए।
ललितपुरवासीले विशेष महत्वका साथ मनाउने जात्रामा परम्परादेखि नै काठमाडौं र भक्तपुरवासीको पनि सहभागिता रहँदै आएको छ। रथ लिन जाँदा ललितपुरका किसान रथचक्र, काठमाडौंका गुरु बन्धुदत्त बज्राचार्य र भक्तपुरका राजा नरेन्द्रदेवसँगसँगै जानुले पनि जात्रामा काठमाडौँ र भक्तपुरवासी जोडिएका जोशीले बताए।
‘अहिले काठमाडौँवासी र भक्तपुरवासी रथ तान्न भने आउन छाडेका छन्,’ उनले भने।
किसान रथचक्र, गुरु बन्धुदत्त बज्राचार्य र राजा नरेन्द्रदेवको सम्झनामा रथ यात्रा हुने गरेको ज्योतिष दैवज्ञ जोशीले बताए। गाबहालबाट सुन्धारासम्मको यात्रा भक्तपुरका राजा नरेन्द्रदेवको र सुन्धाराबाट लगनखेलसम्मको यात्रा किसान ललित रथचक्रको स्मरणमा हुने गरेको छ । अहिले पनि पुल्चोकदेखि गाबहालसम्मको जात्रालाई काठमाडौँवासीको र गाबहालबाट सुन्धारासम्मको जात्रालाई भक्तपुरवासीको जात्रा भनिन्छ । अहिले सबैतिर ज्यापु समाजले नै रथ तान्ने गरेको जोशीले बताए।
‘रथ तान्ने मात्रै नभएर सुरक्षित रुपमा भनिएको ठाउँमा पुर्याउनुपर्ने भएकाले समाजले जिम्मेवारी लिएको हो ।’
समयसँगै मछिन्द्रनाथको जात्रा सञ्चालन गर्ने तरिकामा पनि परिवर्तन आइरहेको जोशीले बताए। झण्डै चार दशक पहिलेसम्म वैशाख शुक्ल प्रतिपदाका दिनमा मछिन्द्रनाथको रथारोहण गरेपछि त्यही दिनमा वा भोलिपल्ट पुल्चोक चोकमै रहेको मण्डपपाटीसम्म रथलाई तानेर लगिने गरेको उनको भनाइ छ । अहिले साङ्केतिक रुपमा मात्रै मण्डपपाटी पुर्याइँदै आइएको छ ।
‘अहिले पञ्चसूत्र धागोलाई साङ्केतिक रुपमा मण्डपसम्म तानिन्छ’, उनले भने, ‘वास्तवमा परम्परामा परिवर्तन आउनु हुँदैन।’
रथयात्राका क्रममा रातो मछिन्द्रनाथका विभिन्न प्रसङ्गसमेत समेटिएको पाइन्छ । याक मिसा भुजा अर्थात् महिलाले रथ तान्ने दिन तामझामका साथ इटिटोलमा रहेको रथलाई महिलाले तानेर थटिटोलसम्म पुर्याउँछन् । याक मिसा भुजाको अर्थ एकल महिलाको जात्रा हो।
मछिन्द्रनाथको कीर्तिपुरमा रहेकी प्रेमिकाको स्मरणमा जात्रा मनाउने गरिन्छ। पहिले एकल महिलाले रथ तान्ने भनिए पनि अहिले सबै खालका महिला सहभागी हुने जोशीले बताए।
मछिन्द्रनाथको जात्राको तयारीका लागि गुठी संस्थान झण्डै वर्षभर नै लाग्ने गरेको गुठी संस्थान ललितपुर शाखाका प्रमुख शैलेन्द्र पौडेलले बताए।
जङ्गलमा गएर काठ काट्नेदेखि, आवश्यक सामग्री बनाउने र रथ बनाउने तथा भोटो देखाउँदासम्म विभिन्न समुदायको सहभागिता हुने उनले बताए।
देवतालाई पाटन ल्याएदेखि नै रकमेहरुको कार्यालयमा बाक्लो उपस्थिति देखिन्छ । कहिले सल्लाहका लागि त कहिले ज्याला कम भएको भन्दै गुनासो गर्न आएका उनीहरु भेटिन्छन् । एकातिर कार्यालयका कर्मचारी ज्याला जिल्लाको दर रेटभन्दा कम नभएको बताउँछन् भने अर्कातिर रकमे ज्याला कम भएको गुनासो गर्ने बर्सेनी दोहोरिन्छन् । त्यति हुँदाहुँदै पनि उनीहरु मन लगाएर काम गर्छन् । समयमा नै र तिथिअनुसार सबै काम हुने गरेको छ।