निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की, राज्य निरीह बनेको गुनासो

तस्बिरः बीएल

नेपालका अगुवा २५ जना निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की आएको छ। धम्की पाउँनेमा नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष, कार्यसमितिका सल्लाहकार, पदाधिकारीलगायतका निर्माण व्यवसायी रहेको महासंघका अध्यक्ष रवि सिंहले बताएका छन्।

तत्कालीन अध्यक्ष शरदकुमार गौचनकै जस्तो हालत बनाउने धम्की बारम्बार आइरहेको सिंहले बताए। पैसा ठीक पार्न धम्की दिने गरेको फोन कल बारम्बार आइरहेको तर प्रहरीमा जानकारी गराए पनि राज्य निरीह बनेको उनको भनाइ छ।

‘करिब दुई महिनाअघिबाटै धम्की आइरहेको छ र सोको जानकारी प्रधानमन्त्री, गृहमन्त्रीदेखि सबै निकायमा जानकारी गराउँदा पनि बेवास्ता भइरहेको छ,’ उनले भने, ‘सरकारी वेवास्ताका कारण व्यवसायीहरू कार्यस्थलमा जान सकिरहेका छैनन्।’

महासघका अध्यक्ष सिंह, मानार्थ सदस्य जिपछिरिङ लामा, सल्लाहकार एवं पूर्वअध्यक्ष रमेश शर्मा, जयराम लामिछाने, सल्लाहकार शारदा प्रसाद अधिकारी, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, महासचिव रोशन दाहाललगाएतलाई पटक पटक धम्की आएको जनाइएको छ।

महासघका पूर्वअध्यक्ष लामिछानेले आफूलाई सरकारले सुरक्षा दिन नसकेको बताए। उनले ठेक्का थाहा हुनेको तीन प्रतिशत माग गर्ने गरेको र अरुलाई निश्चित रकम माग्ने गरेको बताए।

सुरक्षा नभएकै कारण आफूहरूले घर छोड्न नसकेको र निर्माणका कामहरू अगाडि बढाउन नसकिएको जानकारी दिए।

प्रकाशित मिति: : 2019-04-30 16:28:45

प्रतिकृया दिनुहोस्