‘म्याम, म गेष्टहाउस जान छाडेँ नि...!'

तस्बिरः बिएल

एकाविहानै फोनको घण्टी बज्यो। निद्राकै सुरमा फोन उठाएँ।

'म्याम सन्चै हुनुहुन्छ?' मलाई निद्राले छाडेकै थिएन।

को नि?

मैले सोधेँ '

म्याम म भक्तपुरको निरू के। म्याम म गेष्टहाउस जान छाडेँ नि। '

गेष्टहाउस् भन्ने वित्तिकै मैले सम्झे र जुरूक्कै खाटबाट उठेँ।

ओहो निरू ....

उमेर १६ वर्ष घर भक्तपुर। उनलाई सबैले यौनकर्मी भनेर चिन्छन्।

१० वर्षको उमेरमा कक्षा ४ मा पढ्दै गर्दा कक्षा ६ की एक जना साथीले घुम्न जाउँ भनेर साँझको ४ बजेतिर भक्तपुरबाट बनेपा धुलिखेलको गाडीमा चढाएपछि निरु बसकै खलासीबाट त्यही साँझ बलात्कृत हुन पुगिन्।


आफूभन्दा बढी उमेरको साथीले फसाएको उनलाई पत्तो नै भएन। राति अवेर रूदै घर पुगेपछि जब परिवारले थाहा पाए 'जो सँग रात बिताइस् त्यसैसँग जा' भनेपछि निरुलाई आफ्नै परिवार विरानोजस्तो लाग्न थाल्यो। कुरा एक कान दुई कान हुदै मैदान भयो। टोल छिमेक सबैले छिछि र दुरदुर गर्न थाले पछि उनलाई विस्तारै घरमा बस्न मन लाग्न छाड्यो।

उनी स्कुल छुटेपछि विस्तारै बाहिर समय विताउन थालिन्। भक्तपुरकै सडकपेटीको नाङ्लोमा चकलेट, चुइगम र पराग बेच्ने नाममा पुरूषलाई यौन कार्यको लागि साना बालिकादेखि किशोरी मिलाइदिने महिलाको चङ्गुलमा फसिछिन् निरू।

विभिन्न प्रलोभन दिएर उनलाई ती महिलाले यौन कार्यमा लगाईछिन्।

झण्डै आठ महिनाअघि कंलकीमा भेट हुँदा निरू सडकमा ग्राहक खोज्ने र ग्राहकसँग गेष्टहाउसमा जाने भैसकेकी रहिछन्। उनको र मेरो चिनजान एउटा खाजाघरमा भएको थियो। उनको हाउभाउबाट मैले सबै कुरा थाहा पाएँ। विस्तारै उनलाई खाजा खुवाउँछु म तिमिलाई भन्दै उनको कुराहरु सुन्न थालेँ। छेउमा बस्दा शरीर पुरै गन्हाउने उनीसँग न कुनै डर थियो न लाज। उनले खुलेआम भनिन्- 'आज ६ जना गेष्टसँग बसेको तल्लो पेट दुखिराछ। '

उनकै कुराअनुसार यौनकार्यबाट बाहिर ल्याउन धेरै संस्थाले कोशिस पनि गरेछन्। तर, बाल मानसिकता, चराझैं नाँचु-नाँचु, उडुँ उडुँ लाग्ने उमेरमा संस्थाको आवासगृहको बन्द कोठामा कसरी रमाउन सक्थिन् र उनी?

परामर्शको कमीले नै होला, उनी संस्थाबाट फर्केर फेरि सडकमा आइछन्।

उनलाई मैले साथी नै बनाएँ। हामी पटकपटक भेट्थ्यौ। मैले एकदिन फोन गरेन भने उनी रिसाउँदै भन्थिन्- 'म्याम, मभन्दा माया गर्ने अर्को बैनी भेटाउनु भाको हो र? वास्तै गर्नुहुन्न फोन नि गर्नुहुन्न त?'उनको माया लाग्दो बोलीले म फेरि उनलाई भेट्न पुग्थे।

हामी सँगै खाजा खान्थ्यौ। उनी दङ्ग पर्दै भन्थिन्- 'हजुरजस्तै साँच्चीकैको माया गर्ने केटा भेटे त म यो काम छाडेर उसकै सेवा गरेर वस्थेँ। ' उनको कुराले शरिरभरी काँडा उम्रिन्थ्यो। 'पख न भेटिएला नि कोही भन्दा उनी भन्थिन्- 'खै के पाईएला र?'

'तलाई विहे गर्छु भनेर पोते किनेर नि लगाईदिन्छन् तर रातभरी विताएको पैसा दिनु त कहाँ ?, मैले जम्मा पारेको पैसासमेत लुटेर जान्छन्। ' उनको कुरा सुन्दा मुटु नै चुडिएला जस्तो हुन्थ्यो तर उनलाई दिने जवाफ हुन्थेन।

'अहिलेसम्म कति पैसा कमायौ त?' उनले जवाफ दिइन्- 'होटलको साहुनी आन्टीले फाइनान्समा जम्मा गरिदिनुभाको छ। ' उनले ग्राहक लिएर जाने गेष्टहाउसकी मालिक्नीले उनले कमाएको पैसासमेत फकाएर लगेको उनलाई पत्तो छैन।

मैले भेट्दा निरु घर नगएको २/३ महिना भएछ। मैले तिम्रो वुवा-आमा भेट्छु भनेर जिद्दी गरेपछि उनी घर जान तयार भईन्।

आमा बी.ए. पास गरेकी। बाबु छोरीको पिरले मानसिक रोगी भैसकेका। एकजना दाजु बैनीलाई भक्तपुरमा सवैले यौनकर्मी भन्न थालेपछि सहन नसकेर विदेशतिर हिँडेछन्। घर जाँदा आमाको खुशीको सीमा रहेन। 'घरको फोटो सधै झ्यालबाट राति अवेरसम्म हेरेर वस्थेँ छोरी आउँछे कि भनेर तर छोरी मन परे झुल्किने, नत्र हराउने' आमाले रुदैँ भनिन्।

निरुले मलाई आफुलाई यौनकार्यमा लगाउने भक्तपुरको ......पोखरी बाहिर नाङ्गलोमा पसल थापेर बसेकी ती महिलालाई पनि टाढैबाट देखाउँदै भनेकी थिइन्- 'म्याम, यो आईमाईले मजस्ता धेरैलाई बिगारेकी छ। '

हामी जाँदा ती महिला एकजना पुरुष ग्राहकलाई एकजना यौनकर्मी महिलाको फोन नम्बर सुटुक्क दिदै थिइन्।

राति घर आएपछि उनको ममीलाई फोन गरेर 'निरु छन् कि हिँडिन् ?' भनेर सोध्दा उनले भनिन्- 'म्यामले ममीलाई माया गर्नुपर्छ भनेर सम्झाउँनु भा'छ। आज म तपाईसँगै सुत्छु है ममी भन्दै मेरो छेउमै पल्टिएकी निदाइछ। ' यो सुनेर मन साह्रै हलुंङ भएको थियो।

त्यो दिन निरुलाई छाडेर आएपछि उनीसँग भेट हुन पाएन। उनको नम्वरमा सम्पर्क गर्न खोज्दा सधै स्विचअफ भन्थ्यो। तिनै निरुले एकाविहानै फोन गर्दा म छक्क परेँ।  

उनले मायालु स्वरमा भनिन्- 'म्याम, म आज तपाईलाई जसरी पनि भेट्ने नि। '

मैले पनि भेट्न खोजिरहेको । उनले नै भेट्ने भनेपछि ढुंगा खोज्दा देउता मिलेजस्तो भयो मलाई त। मैले पनि दिउँसो भेट्ने भनें।

निरु एकदम फरक पहिरनमा मेरो अफिस आईपुगिन्। हातमा चुरा र रातो नङ्ग पालिस लगाएकी रातो पन्चुले शरिर छोपेकी। निरुलाई यस्तो फरक पहिरनमा देखेर म छक्क परेँ। 'तिमी त ठुली भइछौ त कान्छी?' माया गर्दै मैले भनेँ। उनले जवाफ दिइन् - 'मैले विहे गरे म्याम, अहिले पेटमा ५ महिनाको बच्चा छ।'

म चुप भएँ। फेरि कसले फसायो यिनलाई जस्तो लाग्यो। 'अनि यत्रो समय कता हराएकी तिमी?' उनको जवाफ थियो- 'म्याम, तपाईले मलाई यस्तो काम नगर भनेर घरमा लगेर ममी भेटाएर छाड्नु भाको हैन?, अनि एकदिन तिमीलाई माया गर्ने मान्छे भेटिन्छ भन्नुभाको हैन?' मैले माया गर्ने मान्छे भेटेँ। '

'विहे पनि गरेँ। अनि थाहा छ म्याम? मैले अब केटाहरुसँग गेष्टहाउस जाने काम पनि छाडेँ। 'उनले भनिन् 'विश्वास नलागे मेरै बुढालाई सोध्नुस्। '

उनले आफ्नो बुढालाई फोन लगाइन् र हयाण्डस् फ्री राखेर भनिन्- 'बुढा, मलाई माया गरेर ममीको जिम्मा लगाइदिने दिदीसँग बोल्नुस् त।'

उनको बुढाले फोन लिँदै भने-'म्याम निरू तपाईंले गर्दा सुध्रिएकी हो। अहिले उनलाई मैले सम्हालेको छु। निरुले बच्चा जन्माएपछि हामी तीन जना तपाईंलाई भेट्न आउँछौ,' उनको बुढाको कुराले मेरो आँसु थामिएन।

निरू सासुलाई खाजा बनाएर खुवाउँने बेला भयो भन्दै घरतिर लागिन्। म भने झ्यालबाट उनलाई हेर्दै खुशीले नारायणगोपालको गीत गुन्गुनाउँन थालेँ-

एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा ....
एउटा साथीको साथले कति फरक पर्दछ जिउँनुमा ।

प्रकाशित मिति: : 2019-04-21 19:15:56

प्रतिकृया दिनुहोस्