मलाई नेपाली हैन, नभन

तस्बिरः बीएल

चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा
पखेरीमा घाँस काट्न जान्या छैन भन्दैमा 
मलाई नेपाली हैन भन्न कहाँ पाइन्छ 
म त नेपालको माया गर्ने छोरी
मलाई म जस्तै माया चाहिन्छ 

...........
गायिका आस्था रावतको स्वर र सुरेश अकिारीको शब्द/संगीतको यो गीत नेपाली युवा पुस्ताको सिग्नेचर गीत भने पनि हुन्छ।परदेशमा होस् वा घरदेशमा भेषभूषालाई मात्र नेपालीपन ठान्नेहरूलाई चुनौति दिने यो गीतले प्रश्न गर्छ - मलाई नेपाली हैन भन्न, कहाँ पाइन्छ? अनि आग्रह गर्छ- म त नेपालको माया गर्ने छोरी, मलाई म जस्तै माया चाहिन्छ।

नेपाली नयाँ बर्षको अवसरमा मुम्बईका बिभिन्न प्रवासी संघ-संस्थाले, प्रवासी नेपालीको जमघट हुने कार्यक्रम आयोजना गरे।कार्यक्रममा कतैकतै हिन्दी लवज भए पनि, त्यो चाहेर हैन, नचाहेर भएको थियो। नेपाली संगीत र नेपाली सभ्यताको पहिचान त्यसले कहाँ धमिलो बनाउँन सक्थ्यो र ?

कार्यक्रमभरि बारम्बार हलमा, नेपाल आमाप्रतिको आस्था गुन्जियो।जो पुग्छ, मञ्ममा नेपाली आमाको जय जयकार हुन्छ। नेपाल भूमि र नेपाली आमाको माया तन-तनमा, मन-मनमा भेटिन्थ्यो।मैले मनुष्यको शरीरमा खोजिरहेको नेपाली मन, तन मै भेटे।

कार्यक्रमको सुरुदेखि अन्त्यसम्म, कलाकारहरुले नेपाली गीतमै प्रस्तुति देखाए। उनको चौबन्दीमा पटुकी थिएन। गीतको भाव र रहनसहन फरक थियो। गाँजल, टिकी राम्रै लाग्छ, तर लाउँने बानी छैन, उनले दमदार तवरले यो टुक्का गाएपछि, हलमा निकै हुटिङको आवाज घन्कियो। कार्यक्रममा पुग्ने प्राय: आधुनिक रहनसहनमै थिए र हुन्छन् पनि।तर उनीहरुले सुनाउने, देखाउने कलामा मुम्बई होइन, नेपाल र नेपाली भाव देखियो र देखिन्छ पनि।

सुरू सुरूका दिनमा म पनि यहाँका नेपालीमा नेपालीपन देख्दैनथे।अब भने नेपाली मनको कुरा बुझन थलेर होला, सबैलाई नेपालीजस्तै हैन, नेपाली नै देख्न थालेको छु।प्रवास रहर हैन, बाध्यत।प्रवासीको निकै मेहेनत र पसिनाले घरदेशमा जीवनस्तर केही माथी उठेकै छ।

प्रवासमै छोरा-छोरीहरु जन्मिए, हुर्किए, शिक्षा आर्जन गरे। बच्चैदेखि, हिन्दी र अंग्रेजी गीतमा रमाएपनि, सभा-समारोहमा भने नेपालीपनाका संगीत, नृत्य देखिन्छन्। सबथोक यतैको भए तापनि मन भने नेपाली छ। यता पनि 'चोली सुहाउँछ', 'सालको पात टपरी', 'तुल्सी आगनमा', 'कुटुमा कुटु' नै बजिरहेका हुन्छन्।

त्यही नेपाली मन नयाँ वर्षको कार्यक्रममा पनि छल्किएको थियो। जब खास नेपाली गीत घन्कन्थ्यो, कुनै पनि नेपालीका हात गोजीमा हैन, बाहिर नै भएका थिए। ताली नै बजिरहेको थियो।

यतिकैमा 'साँईली ...चालिस कटेसी रमाउला... गुञ्जियो।एकाएक शान्ति छायो हलमा, एकले अर्कासँग मुखामुख भयो। यो शब्दले जन्मभूमिको निकै यादमा डुबाएको आभास हुन्थ्यो।

प्रवासमा हुने सबै कार्यक्रममा नेपाली संगीतमै प्रवासीहरु झुमिरहेका छन्। हामी नेपालीहरु जहाँ पुगेपनि, गाउँले र मातृभूमिको रहनसहन भुल्दैनौ, सबैभन्दा ठुलो विशेषता नै यही हो।

हामीहरु देश र राजनीतिक नेतृत्वलाई गाली नगरेरै, पसिना चुहाउन प्रदेशिएका हौँ। प्रवासले हामीमा अनेक रुप दिएको छ, परिचय दिएको छ।तर पनि, हामी नेपाल र नेपालीप्रतिको माया र सद्भावमै हुन्छौँ।बोली-बचन र रहन-सहनमा मात्रै नेपालीपन हुदैन, हामीबिच एकता, भाइचारा र सद्भाव पनि हुन्छ नै प्रवासमै बिभिन्न चाडवाड मनाउँछौ।एकै ठाउँमा भएर रमाउछौ, र त आफ्नै गाउँपाखाको सम्झनामा हराउँछौं।

सयौँ थुगां फुलका हामी, एउटै माला नेपालीबाट सुरु भएको कार्यक्रम, हामी नेपाली, हाम्रो नेपाल भन्दै समापन हुन्छ। म भने फेरि पनि कता कता हराइरहेको रहेछु, तन परदेशमा भए पनि मन त घरदेशमै डुलिरहेको रहेछ।

प्रकाशित मिति: : 2019-04-16 02:04:32

प्रतिकृया दिनुहोस्