बर्माको भएपनि रगत त नेपाली हो नि दिदी !

रुपा शर्मा ’नेहा’

जब म कक्षा आठ/नौमा पढ्थेँ,  विद्यालयले लैजाने शैक्षिक टुरमा जान पाउँदा मनै दङ्ग हुन्थ्यो।छोरीमान्छे केटाहरुसहितको टुरमा ५/७ दिन नै घरबाट टाढा जाने भनेपछि आमाको मन यसै गरुङ्गो हुने।हेडमास्टरलाई नै घरमा बोलाएर आमा भेटाएपछि आमाले जब फिस्स हाँस्दै 'हुन्छ' भन्नु हुन्थ्यो, ठुलै युद्ध जितेको जस्तो लाग्थ्यो।

 

'छोरी मान्छे यसरी घर छाडेर हिड्नु राम्रो हैन गईसकेपछि अलि विचार गर्नु नि केटी केटी एकातिर हिँड्नु केटाहरुसँग धेरै हिमचिम नगर्नु'- आमाले हिँड्ने बेला भनेको त्यो शव्द केटा साथीहरुको भींडमा पुग्दा अहिले पनि याद आउँछ।

समाज कति परिवर्तनशील छ।उतिबेलाको त्यो भ्रमण अनि अहिले विद्यालयले लैजाने शैक्षिक भ्रमण।हिजो आज स्वदेशभन्दा पनि कुन विद्यालयले कुन कुन देश लैजान्छ भन्दै आमा बाबुले त्यहीअनुसार छोराछोरीलाई विद्यालयमा भर्ना गरिदिन्छन्।

नेपाली भाषामा कुराकानी गर्दै बर्मेली युवती

केही वर्षयता देशभित्रै भ्रमणमा लैजानेभन्दा पनि विदेशतिर घुम्न लैजाने प्रचलन बढ्दै गएको पाइन्छ।काठमाडौं केन्द्रित विद्यालयले घुम्नको लागि अमेरिका,अष्ट्रेलिया,युरोप  लैजाने प्रचलन सामान्य जस्तै भैसकेको छ।
हिजोआज विद्यालय, कलेजका विद्यार्थी मात्र हैन, कामकाजी महिलासमेत कामको व्यस्ततालाई थाति राखेर दुवई, बैङ्कक, मलेसिया, सिंगापुर जाने योजना बनाउँछन्।साथीहरुको यस्तै योजनामा केही समयअगाडि म पनि मुछिएँ।

बैङ्कक गएका धेरै साथीहरुले भन्थे, त्यहाँ त बुढाबुढीसँगै गए पनि केटी-केटी छुट्टै अनि केटा-केटा छुट्टै ग्रुप बनाएर घुम्छन् रे।

यौनबजारमा प्राय: सँगै जाने जोडीहरु पनि केटा र केटी छुट्टिएर घुम्छन् भन्दा मलाई अनौठो लाग्थ्यो।पर्यटकको आर्कषक गन्तव्यस्थल भनेर चिनिएको बैङ्कक यौनपर्यटनको हिसावले पनि निकै चर्चित रहेको समाचार बारम्वार पढ्ने गरेकोले पनि बैङ्कक कस्तो होला भन्ने कौतुहलता मनमा थियो। झण्डै ५/७ बर्षदेखि मनमा रहेको मेरो कौतुहलता यसपालि मेटिने पक्का भयो।

हामी केही साथी मिलेर  बैङ्कक जाने निधो गर्यौ।सानोमा आमाले असुरक्षित सम्झेर कतै नगए हुथ्यो भन्ने छोरी अव यौनपर्यटनको हिसावले निकै चर्चित ठाउँ जान लाग्दा पनि आमाको मनमा कुनै संकोच भने छैन।

आमाले यसपालि भन्नुभो, 'जमाना बदलियो त आफैं बुझ्छेस्, मैले के सम्झाउँनु पर्छ र ?'  

टुर-प्याकेजमा घुम्न जादा त्यहाँको हरेक ठाँउको वास्तविकतालाई राम्रोसँग नियाल्न नपाइन सक्छ भनेर हामी आफ्नै सुरले टिकट काटेर हिडेका थियौ।

यौनका कुरा खुलेर गर्दा कति छाडा भा'की भनेर गिज्याउने समाजमा  हुर्किएकी मलाई बैङ्ककको आर्थिक विकासमा यौनपर्यटन नै मुख्य रहेको भन्ने सुन्दा त्यो देशमा कसरी खुलेयाम यौनको व्यापार हुन्छ होला भन्ने जिज्ञासा, संकोच र उत्सुकता थियो।बैङ्ककको एअरपोर्टबाट बसमा चढेर हामी गुगल म्यापको साहारामा  साँझ ७ बजे इन्द्रमार्केट भन्ने ठाँउ पुग्यौ।

बैङ्ककको इन्द्रमार्केटमा पुग्दा बाटो-बाटोमा खाना र होटलको लागि 'एक सउ मे भेज खाना है, तो इधर आओ' भन्दै हातमा भिजिटिङ्ग कार्ड बोकेका मानिस देख्ने वित्तिकै कता कता रुपडिया, रक्सोल पुगेको जस्तो लाग्यो।
विश्वभरका धेरै मानिस घुम्न रुचाउने ठाउँ भन्ने सुनेकोले विदेशीको ओइरो हुने होला भन्ने सोच थियो म मा।तर, इन्द्रमार्केट वरिपरि घुम्दा इन्डियाको बोर्डर पो हाे कि भन्ने भान भयो। सो क्षेत्रमा भारतबाट घुम्न आएका मानिसको भीँड बढी देखिन्थ्यो।

हामीले इन्द्रमार्केट नजिककै एक होटलमा बस्ने निधो गर्यौ। होटलमा पस्नासाथ झण्डै १५/१६ वर्षको देखिने एकजना बालक हाम्रो सामान लिएर होटलको कोठातिर लागे।यसो हेर्दा नेपालीजस्तो देखिने उनले भने, 'आउनुस् म रुम देखाई दिन्छु।'

फोटो - रुपा शर्मा ’नेहा’

नेपाली आवाज- म छक्क परेँ।
'ओहो तपाई नेपाली ?', मैले प्रश्न गरेँ।
भाइको जवाफ थियो, 'म बर्माको नेपाली' 
'भन्नाले नेपाली कि बर्मेली?', मेरो प्रश्न।
बर्माको भएपनि रगत त नेपाली हो नि दिदी घत् लाग्ने गरी उनले जवाफ दिँदा  जीउँभरी काडाँ उम्रियो  ।
नेपाली बोल्न राम्रो नआउँने तर अहाँ कति मिठो सुनिएको।
'तपाईं नेपाल जानु भा'छ ?'
'छैन गाँको तर मेरो नेपालमा पशुपतिनाथ र बुद्धको मन्दिर छ भन्ने थाहा छ', उनले गर्व गर्दै भने।
'नेपाली भाषा कसरी सिक्नुभो त ?', 
'रगत नै नेपाली भएपछि सिकिन्छ नि दिदी' भन्दै उनले थपे, 'वर्मामा मेरो हजुरआमाले हामी नेपाली हौं, नेपाली नै बोल्नुपर्छ भन्दै सिकाउनु भा'को।'
'नेपाल जान मन लाग्दैन?', फेरि मेरो प्रश्न।
'लाग्छ नि दिदी, हामीलाई नेपाल लैजानुस् न।कति पैसा खर्च लाग्छ ?' उनले बडो उत्सुकताका साथ सोधे। 'भोलि विहान कुरा गरौला है। मेरा धरै साथी छन्। तिनीहरु सबै हेर्दा बर्मेली भएपनि नेपाली रगतको हो, भेट गराउँछु नि', भन्दै उनी कोठामा सामान राखेर बाहिरिए।

त्यति सानो उमेरको वालक तर नेपालको माया कस्तोसँग गाढिएको? सानो उमेरमै शरिरमा बगेको रगतलाई नेपाली रगत भनी गर्विलो कुरा गरेर विदा भए।तर, उनको कुराले मलाई राति अवेरसम्म निद्रा परेन।नेपालमा रहेका यो उमेरका बालकले नेपालप्रतिको मायालाई यसरी नै भित्रैदेखि अनुभव गर्न सके कस्तो राम्रो हुन्थ्यो होला? यस्तै तर्कना गर्दागर्दै कतिवेला निदाएँ, पत्तै भएन।

भोलिपल्ट,
इन्द्रमार्केटको नजिकै एउटा सस्तो कपडा पाउँने बजार भन्दै हामी घुम्न गयौ।बजारको भित्र पस्नासाथ बैङ्ककको कलात्मक गिफ्टसपमा एकजना किशोरी मुस्काउदै 'आउँनुस् न हजुर' भन्दै हामीलाई पसलमा निम्त्याइन्।
फेरि नेपाली आवाज म छक्क परेँ। उनको पसलभित्र पस्दै मैले भनेँ।

'तपाईको घर?' 
'बर्मा'।
'नेपाली बोल्नुभा'को छ त ?'  
'मलाई नेपाल मन पर्छ नि।'
'तपाईं बर्मेली कि नेपाली त ?'
'नेपाली हो नि हजुर।म आफुलाई बर्मेली हैन, नेपाली नै भन्न रुचाउँछु।'
'यहाँ कामको लागि आउँनु भा'को हो?'
'हो नि, कामको लागि आ'को।'
'नेपाल देख्नुभा'को छ ?'
'देखेकी छु नि हजुर।'
'नेपालमा यस्तै काम पाउँनु भयो भने जानुहुन्छ?'
'किन नजानु नि हजुर गइहाल्छु नि।नेपालको धेरै माया छ नि हजुुर', उनी भावुक हुदै भनिन्।

बर्मामा जन्मे/हुर्के पनि कामको खोजीमा बैङ्कक पसेका अधिकांश बर्माका नेपालीले आफ्नो शरीरमा नेपाली रगत बगेको भन्दै नेपालप्रति देखाएको माया हामीसँग बाँडिरहदा उनीहरुको त आँखा रसाए नै, हामीले पनि आफुलाई थाम्न सकेनौँ।

विदेशी भूमिमा नेपालीको बाहुल्यता र बर्माको नागरिकता लिए पनि आफुलाई म नेपाली हुँ भन्न रुचाउने मानिसको संख्या बैङ्ककमा झण्डै २० हजार रहेछ।उनीहरु धेरैजसो साना सपिङ-मलदेखि होटल र रेष्टुरेन्टमा काम गर्ने रहेछन्।

सपिङ-मलमा घुम्दासम्म मैले ६/७ जना नेपाली दिदीबहिनी र दाजुभाइसँग कुरा गरें, सबैले एउटै कुरा भने- 'हामी बर्माको भएपनि नेपाल नदेखेको भएपनि यो मन त नेपाली नै हो नि हजुर'।

नेपालबाट धेरै साथी बैङ्कक घुम्न आए। सबैले एउटै सन्देश लिएर फर्के।सेक्स टुरिजमको रुपमा विकास भएको बैङ्ककमा अरुभन्दा पनि यौन बजारको रियल सिचुएसन देख्न पाइन्छ जुन नेपालीलाई अलि नौलो र रमाइलो पनि लाग्न सक्छ।

रुपा शर्मासग कुराकानी गर्दै नेपाली भाषी बर्मेली युवती

तर, बैङ्कक पुगेकै दिनदेखि दुई दिनको त्यहाँको बसाईमा मैले देखेको नौलो विषय भने त्यहाँ काम गरेर बसिरहेका आफुलाई नेपाली हुनुमा गर्व गर्ने बर्मेली नै रहे। बैङ्ककमा बसेका यी बर्माका नेपालीको नेपालप्रतिको माया पनि त एउटा छुट्टै विशेषता रहेछ।तर, किन कसैले यसको चर्चा कहिल्यै गरेनन्।नेपालबाट बैङ्खक घुम्न आउने नेपालीले फेसवुकका भित्तामा बैङ्ककको बखान गरिरहदा किन यति संवेदनशील विषयले उनीहरुको मन छोएन होला- म आफैँ अचम्ममा परेँ।

उनीहरुले बोलेका हरेक शव्दमा नेपालप्रतिको माया यसरी गाडिएको थियो त्यो हामीजस्तो नेपालमै बसेका नेपालीले कहिल्यै अनुभुत गर्न सकेका छैनौ।

बैङ्ककको दुई दिनको बसाईपछि हामी पताया घुम्ने योजना अनुसार त्यतातिर लाग्यौ।केही साथी त्यहाँ गएपछि नेपालमा सुनेर उत्सुकताका साथ हेर्न चाहेको यौनबजार पतायमा देख्न पाइन्छ कि भनेर उत्साहित थिए।तर, मलाई भने त्यो चाहना मरिसकेको थियो।

प्रकाशित मिति: : 2019-04-15 08:50:17

प्रतिकृया दिनुहोस्