यसरी बनेको थियो- नेपालको पहिलो व्यवसायिक फिल्म माइतिघर

तस्बिरः बिएल

लामो समय भारतीय चलचित्रमा काम गरेपछि नेपाली निर्दैशक बिएस थापा र उनका समकक्षी किशोर तिमल्सिनालाई लोभ पलाएछ, आफ्नो निर्देशनमा नेपाली फिल्म किन नबनाउने?

यसको कारण थियो।

यी दुवै त्यतिबेला बलिउड स्टार सुनिल दत्तको ‘अजन्ता आर्ट्स’ मा काम गर्थे। उनीहरूलाई यत्तिकै नेपाली फिल्म बनाउने धुन सवार भएको थिएन।

सुनिल दत्तको ब्यानरमा लामो समय काम गरिसकेपछि उनीहरूलाई लागेको रहेछ, अब नेपाली फिल्म पनि बनाउन सक्छौं।

सन् १९६३ मा यिनीहरूले सोच त बनाए। तर, चलचित्र निमार्णका लागि चाहिने आवश्यक पैसा उनीहरूसँग थिएन।

केही दिन पैसा जुटाउन सोचमग्न रहेको बेला मुम्बईमा एक परिचित व्यक्तिले उनीहरूलाई भनेछ–यस्तो कामका लागि काठमाडौंमा नरशमशेर राणालाई समात्नु।

यसपछि उनीहरूलाई चाहियो के?  

हानिँदै काठमाडौं आइपुगे। नरशमशेरसँग कुरा गर्न।

नेपाली फिल्म बनाउने विषयमा उनीहरूको माला सिन्हासँग पनि कुरा भएको रहेछ। माला उतिबेला ‘हिट’ हिरोइन। उनीहरूलाई पहिले त डर लागेको रहेछ, आफ्नो प्रस्ताव मालाले अस्विकार गर्ने हुन् कि भनेर।

तर, मालाका बुबा अल्बट सिन्हा नेपाल र नेपाली भनेपछि हुरुक्कै। अल्बर्ट दार्जिलिङमा जन्मिएका थिए। त्यसैले उनलाई नेपाली भाषा र संस्कृतिप्रति पनि ठूलो मोह थियो। उनलाई बिएस र किशोरको प्रस्ताव राम्रो लागेछ। फेरि माला पनि आफ्नो बुवाले भनेको नकाट्ने। उनले हिरोइन बन्ने प्रस्तावमा सहजै मोहर लगाइन्।

मालाको स्वीकृति बिएस र किशोर दुवैका लागि चिट्ठा परेभन्दा कम थिएन। दुवै दंग।अब उनीहरूलाई काठमाडौं आएर नरशमशेरसँग कुरा गर्न पनि आँट बढेको थियो।

नरशमशेरसँगको पहिलो भेटमै उनीहरूले नेपाली फिल्म बनाउन लागेको बताए।र,यसमा आर्थिक सहयोग गर्न प्रस्ताव राखेका थिए।नरले उनीहरूलाई बजेट कति लाग्छ भनेर सोधेका थिए। उनीहरूको जवाफ थियो– त्यही डेढ/दुई लाख त हो नि।

यति पैसा नरका लागि खासै धेरै थिएन। उनी हौसिए।

***

म त्यतिबेला त्रिभुवन विमानस्थलमा कार्यरत थिएँ।कस्टमको हाकिम। अचानक नरशमशेर र रानी (उहाँकी श्रीमती) लाई ठूलो झोला बोक्दै सुरक्षाजाँचका लागि आइरहेको देखेँ।

सोधेको– रानीले भन्नुभयो, ‘जर्साबले फिल्म बनाउन लाग्नु भा’छ। त्यसैको लागि सुन भारत लान लाग्या।’

मैले ‘माइतीघर’ भन्ने फिल्म बन्न लागेको पहिलोपल्ट त्यहीँ सुनेको हुँ। झोला पल्टाएर यसो हेरेको, नेपाली संस्कृति झल्काउने पित्तलको गहना लान लागिएको रहेछ। रानीलाई डर थियो, सबै गहना  एयरपोर्टमा त रोकिने होइन!

गहना हेरेपछि मैले उहाँलाई आश्वस्त तुल्याए– जानुस। कसैले रोक्दैन।

नेपाली फिल्म निमार्ण प्रस्ताव राम्रो लागेपछि नरशमशेरले राजा महेन्द्रलाई पनि जाहेरी गरेका रहेछन्। प्रस्ताव महेन्द्रलाई पनि खुब मन परेको रहेछ।

***

हिरोइनको त टुँगो लाग्यो तर हिरो कसलाई बनाउने? मुम्बईमा यो प्रसंग उप्किएछ।त्यही मिटिङमा नरले भारतको लखनउमा पद्मशमशेर राणाको छोरीका छोरा भानुप्रतापलाई हिरो बनाउने प्रस्ताव राखेछन्।उनी काला भएपनि अग्ला र ज्यान परेका थिए।

प्रस्ताव तुरुन्त स्वीकृत भयो।त्यही मिटिङमा अर्को चर्चा चलेछ, गीत कसलाई गाउँन लगाउने? खेलाडी भएकाले नरले पहिलेदेखि मलाई चिनिरहेको।

फेरि कलेजको कार्यक्रममा मैले गीत गाएको पनि देखेका। उनले मेरो सिफारिस गरेछन्। फिल्मको सबै म्युजिक संकलन प्रदीप रिमालले गर्ने भए।मलाई लोकगीत गाउन दिने सहमति भयो।

यसपछि तारम्तार खबर आयो। ल, नरशमशेरले फिल्ममा गाना गाउन बोलाउनुभएको छ, मुम्बई जानु पर्यो रे।

त्यति राम्रो प्रस्ताव मैले नाइँ भन्ने कुरै आएन।म पनि दौडिएँ, प्रेमध्वज प्रधान र प्रदीपसँगै मुम्बईतर्फ। अरुणा लामा दार्जिलिङमा थिइन्। उनी त्यहीँबाट मुम्बई पुगिन्। काठमाडौंमा त्यतिबेला डाकोटा प्लेन चल्थ्यो। हामीलाई मुम्बई पुग्नै अढाई घन्टा लाग्यो।

मुम्बई पुगेको पहिलो दिन नै मेरो भेट भारतका चर्चित संगीतकार जयदेवसँग भयो। उनलाई भेटाउन बिएस थापाले उनको घरै लगेका थिए। जयदेवको घरमा आशा भोसले बसिरहेकी थिइन्। कालीकाली, सुरुमा चिन्नै सकिनँ। मलाई लाग्यो, कोही सिकारु होला। संगीत सिक्न आएको।

जयदेव जति ठूलो संगीतकार थिए, त्यति नै शिष्ट र शालिन। माइतीघरको संगीत उनैले दिएका थिए। औपचारिक कुराकानी सकिनेबित्तिकै भने, ‘कुछ सुनाओ यार।’

मैले ‘ड्युल’ गीत सुनाएँ।

गाइरहेको थिएँ। आशालाई भन्न थाले,‘तुम भी गाओ।’

आशाले लय मिलाउन जतिबेला आवाज निकालिन्, म त हेरेको हेर्यै।

बाफ रे बाफ! उनी त आशा भोसले पो रहेछिन। रेडियो र फिल्ममा पहिलेदेखि सुनिरहेको।

आशासँगको पहिलो भेटमा म उनको फराकिलो ह्दयबाट निकै प्रभावित भएँ। उसै भारतकी प्रख्यात गायिका। म कहाँ नामै नसुनेको फुच्चे गायक। तर पनि मैले गीत गाउँदा भनिरहेकी थिइन्, ‘यस्तो कलाकारसँग कसरी गाउँन सक्छु?’

जयदेवसँगको भेट मेरो लागि धेरै अर्थमा सुखद् रहयो।उनैले पछि लता मङ्गेस्करसँग पनि भेट गराउन लगे। त्यो पनि लताकै घर ‘प्रभुकुञ्ज’ मा। बिहान साढे १० बजे।

म पहिलोपल्ट प्रभुकुञ्ज जाँदा लताकी आमा सुतिरहेकी थिइन्। बहिनी मीना पनि लतासँगै बस्थिन्। जयदेवले सबैसँग मेरो परिचय गराए। उनले सबैको अगाडि फेरि मलाई भने, ‘चलो, कुछ गाना सुनाओ।’

सुरुमा अफ्ठेरो लागिरहेको थियो। तर गाइदिएँ। त्यो पनि झयाउरे।

लतालाई झयाउरे खुब मन परेछ। यो भेटपछि लताको परिवारसँग मेरो निकट्ता बढ्यो। एकपल्ट लताकी आमा, मीना र उषा काठमाडौं आउँदा मैले घरमा खाना खान बोलाएको थिएँ। फिल्म बन्ने पक्का भएपछि हामीले धमाधम गीत रेकर्ड गर्यौं।

गीत रेकर्ड भइरहेकै बेला माला सिन्हाको पनि समय जुर्यो। हिरोइनको समय मिलेपछि फिल्म सुरु गर्न हिरो बोलाइयो।

तर, हिरो त गायब! वास्तवमा जसलाई हिरो बनाउन खोजिएको थियो, उसलाई नेपाली बोल्नै नआउँने रहेछ। त्यसैले ऊ फिल्म अगाडि नै गायब भयो।

यतिबेला बिएस थापालाई मात्र होइन, नरशमशेरलाई पनि पर्नु गाल पर्यो।

केही दिन नयाँ हिरोको विषयमा चर्चा चल्यो। तरपछि बिएसले नै प्रस्ताव राखे, मलाई हिरो बनाउने। उनको प्रस्ताव नरलाई पनि चित्त बुझ्यो। ‘ओके’ भने।

यसपछि गीत गाउन गएको म, प्राइभेट ब्यानरको पहिलो नेपाली चलचित्र माइतीघरको हिरो बने।

**

हिरोको समस्या टुंगिएपछि १९६४ को अन्त्यतिर नेपालमै सुटिङ गर्न सबैजना काठमाडौं फक्र्यौ। त्यतिबेला माला सिन्हाका बुवा र आमा पनि आउनुभएको थियो। सबैलाई अन्नपूर्ण होटलमा राखियो। माइतीघरको अधिकांश सुटिङ पोखरामा भयो।

त्यतिबेला सुटिङ युनिटलाई चाहिने तरकारी काठमाडौंबाटै लैजाने व्यवस्था मिलाइएको थियो। त्यो कामको चाँजोपाजो नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष स्वर्गीय जयकुमारनाथ शाहले मिलाएका थिए। उनी भारतको बिडला कम्पनीमा काम गर्थे।

बिडला माछापुच्छ्रेमा माइनिङ खोज्न सक्रिय थियो। त्यतिबेला कुनै सुविधा नभएको पोखरामा फिल्म बनाउन नेपाल आर्मीले ठूलो सहयोग गर्यो।

राजा महेन्द्र गीतका सोखिन। उनले माइतिघरको ‘जुन माटोमा मेरो जन्म लिने सौभाग्य भयो’ बोलको पहिलो गीत नै लेखिदिए।

फिल्म तयार गर्न झन्डै डेढ वर्ष लाग्यो। सन् १९६६ मा माइतीघरको पहिलो शो पाटनको अशोक हलमा हुँदा फिल्म हेर्नेको घुइँचो थियो। भारतमा पनि रिलिज भयो। यो फिल्म हेरेपछि मलाई बल्ल लाग्यो– अब हिरो भइयो।

फिल्म सुरु गर्न सुरुमा पैसाको चाँजोपाजो मिलाएका थिए, नरशमशेरले। तर अन्त्य गरे– जनकपुरका व्यापारी जोगेन्द्र झाले। यसको कारण थियो, सुरुमा फिल्म बनाउन डेढ लाख खर्च हुन्छ भनिए पनि फिल्म सकिँदा खर्च १० लाख नाघिसकेको थियो।

***

फिल्म बनाउन बिएस थापाले निकै दुःख गरे। उनकै कारण यो फिल्ममा सुनिल दत्त, राजेन्द्र कुमारजस्ता भारतीय फिल्मका हस्तिहरूले छोटो भूमिका निर्वाह गरेका थिए।अझ, उनकै सम्बन्धका कारण मन्नाडे, लता मंगेस्कर, आशा भोसले, उषा उथुप र गीता दत्तजस्ता चर्चित गायक/गायिकाले माइतीघरमा गीत गाउन इच्छा देखाए।

(माइतीघरका हिरो सिपी लोहनीसँग नवीन अर्यालले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: : 2019-04-14 23:58:14

प्रतिकृया दिनुहोस्