वर्ष २०७५ लाई फर्केर हेर्दा: निर्मला पन्तदेखि सुनकाण्ड, प्रहरी इन्काउन्टरदेखि हेलिकप्टर दुर्घटनासम्म- दुखद् वर्ष २०७५!

स्केच- गूगलवाट

आइतबारदेखि बिक्रम सम्बतको पात्रो फेरिदै छ। पुरानो सम्बतको ठाउँ नयाँ सम्बतले लिँदैछ। नयाँ वर्ष २०७६ मा हुने नयाँ सम्भावना र अनुमानको कुरा गरिदै छ भने पुरानो हुन लागेको वर्ष २०७५ को मुल्यांकन पनि गरिदैछ।

बिक्रम सम्बतको वर्ष २०७५ नेपाल र नेपालीका लागि निकै उतार-चढावमय भयो। मुलुकमा वर्ष २०७५ मा आमूल परिवर्तन नै भयो।देशमा विभिन्न खाल़का घटना घटे।राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय जगतको नजरमासमेत वर्ष २०७५ मा नेपालको सर्वत्र चर्चा-परिचर्चा र बहस भयो। देशका विभिन्न भागमा घटेका विभिन्न प्रकारका घटना सञ्चारमाध्यममा छाइरहे। 

सुरू गरौं, गएको वैशाखदेखिका केही प्रमुख घटना जसले सबैको ध्यान ताने।
२०७५ वैशाख ६ गते साँझ करिब ८ बजे एउटा खबर बाहिरियो। मनाङबाट प्रदेश सांसदमा विजयी राजिव गुरूङ (दीपक मनाङ्गे) स्वयम्भूको तीनधाराबाट पक्राउ परे। 
गुन्डा नाइके भनेर चिनिएका गुरूङ यसअघि पनि पटकपटक पक्राउ पर्दै र छुट्दै आएका थिए। यसलाई सामान्य नै लिइन्थ्यो तर, पछिल्लो समयमा उनी सांसद भएका थिए, त्यसैले गुण्डानाइकेभन्दा पनि सांसदको हैसियत बनाएका कारण उनको पक्राउले चर्चा पायो। 

त्यसैगरी जेठ २ गते साँझ प्रहरीले काठमाडौंबाट चलचित्र निमार्ता माधव वाग्लेलाई दुई करोड ६० लाख ६३ हजार नक्कली नेपाली रूपैयासहित पक्राउ गर्‍यो।चलेको चलचित्र लुटका निर्माता वाग्ले पक्राउ गरिएको यो घटनाले पनि सञ्चार माध्यममा राम्रै बजार पायो।
निर्माता वाग्लेसँगै महेन्द्र बोगटी, सुजित तामाङ, दिकेश नापित र प्रकाश सुवेदी पनि प्रहरी फन्दामा परे। वाग्ले उच्च अदालत पाटनको आदेशमा २५ लाख रूपैयाँ घरौटी बुझाएर छुटिसकेका छन्। 

२०७५ सालदेखि चर्चामा रहेको ३३ किलो सुन प्रकरण २०७५ सालमा चर्चाको शिखरमै पुग्यो।
सुनकाण्डसँग जोडिएका धेरैजसो पात्रहरू २०७५ सालमै समातिए।यो सूचीमा प्रहरीका पूर्वडिआइजी गोविन्द निरौला, प्रहरीका बहालवाला एसएसपी दिवेश लोहनीलगायत ९ जना प्रहरीसमेत पक्राउ परे। 
गृहमन्त्रालयले गठन गरेको छानबिन समितिले सनम शाक्यको हत्यादेखि भारतमा लुकेर बस्दै आएका गोरेलाई जेठ ८ गते सार्वजनिक गर्‍यो। भारतको सिक्किमबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

त्यस्तै साउन २० गते काँडाघारीबाट ११ वर्षीय निशान खड्का अपहरणमा परे।२० गते रातभर प्रहरीले बच्चा तथा अपहरणकारीको खोजी गर्‍यो।हराएका बालक अपहरणमा परेको र ४० लाख रुपैयाँ फिरौती माग भएको जानकारी परिवारले प्रहरीलाई दिएको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रमुखमा एसएसपी विश्वराज पोखरेल र महानगरीय अपराध महाशाखामा एसएसपी धीरजप्रताप सिंहले जिम्मेवारी सम्हालेका थिए।दुवै कार्यालयले यसबारे अनुसन्धान गरेको थियो। 
भोलिपल्ट दिउँसो १२ बजेर ३० मिनेटमा भक्तपुरको थिमी नगरपालिका वडा नम्बर ९ स्थित श्याम लवटको निर्माणाधीन घरमा बालक मृतअवस्थामा फेला परे। 

अपहरणकारी भनिएका २३ वर्षीय अजय तामाङ र २२ वर्षीय गोपाल तामाङ प्रहरी इन्काउन्टरमा मारिए।
प्रहरीका अनुसार बालकको हत्यापछि अपहरणकारीलाई खोज्ने क्रममा उनीहरूसँग सूर्यविनायक-८ स्थित पाइलट बाबाको आश्रम जाने बाटोमा जम्काभेट हुँदा प्रहरीले गोली चलाएको थियो।घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल र दुई थान गोलीसमेत बरामद गरेको दाबी गर्‍यो। 

यो घटनालाई लिएर प्रहरीभित्र निकै विवाद भयो। स्थानीयले नै दुई अपहरणकारीलाई घरबाटै उठाएको देखेको जानकारी देखिएपछि प्रहरीको इन्काउन्ट फेक देखियो। 

गृहमन्त्री रामबहादुर थापालेसमेत संसदमा इन्काउन्ट फेक नभएको दाबी गरेपछि घटना सामसुम भयो। तर, पनि अहिले पनि प्रहरीका केही अनुसन्धान अधिकृतहरु घटना फेक भएको दाबी गर्दै आएका छन्।

त्यसैगरी मंसिर ११ गते गोंगबुबाट ८ वर्षीय बालक प्रयास कुँवरको अपहरण भयो। त्यसको केही समयपछि नै उनको पनि हत्या भयो।

घटना भएको ४८ घन्टा भित्र प्रहरी हत्यारा समात्न सफल भयो। मित्रनगरमा रहेको स्वस्तिक त्रिवेणी गेष्ट हाउसमा रहेका बालकको हत्या होटेलमै काम गर्ने गाडी चालक २२ वर्षीय महेन्द्र सार्कीले गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो।

बालकका बुबा प्रवीण कुँवर मित्रनगरस्थित स्वस्तिक त्रिवेणी गेष्ट हाउस सञ्चालकसमेत हुन्।अभियुक्त सार्की करिब दुई महिनादेखि होटेलमा चालकको रुपमा काम गर्दै आएका थिए। 

‘बच्चाले आफूलाई गाडीको लिभरले पिटिरहन्थ्यो। उसको वुबाले पनि पटकपटक गाली गरेका थिए।मलाई पहिलेदेखि नै रिस उठिरहेको थियो।त्यसैको बदला लिन हत्या गरेको हुँ,’ प्रहरीसँगको बयानमा सार्कीले भनेका थिए।

त्यसैगरी माघ ११ गते थापाथलीस्थित प्रसूतिगृहकी डाक्टर बविता साहकी दुई वर्षीया छोरी अपहरणमा परिन्। कोटेश्वरको खरिबोटस्थित घरबाट बालिका अपहरणमा परेको करिब ८ घन्टा भित्र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बालिकालाई सकुशल उद्धार गर्न सफल भयो।

 अपहरणको अभियोगमा प्रहरीले मनिष गुप्ता र उनकी श्रीमतीलाई नियन्त्रणा लियो।गुप्ताले विदेश जाने सिलसिलामा आफ्नो फसेको रकम उठाउन बालिका अपहरण गरेको प्रहरीमा बयान दिए। 

काठमाडौंमा मात्र होइन देशभरि २०७५ सालमा अपहरणका घटना भइरहे।कतै प्रहरी जिवितै उद्धार गर्न सफल भयो तर कतै प्रहरी संयन्त्र चुक्यो ।

भदौ ४ गते बिहान फ्रान्सका लागि पूर्वराजदूत समेत रहेका केशव झा बबरमहलस्थित निवासमा मृत अवस्थामा फेला परे।अनुसन्धानबाट छुरा प्रहार गरी हत्या भएको देखियो। झाको टाउको र निधारमा चोट लागेको प्रहरीले जानकारी दियो। उनी बस्दै आएको निवासको एउटा झ्याल काटिएको थियो। श्रीमतीले बिहान चिया खान नआएपछि कोठामा हेर्दा झा मृतअवस्थामा भेटिएका थिए।

८० वर्षीय झा श्रीमतीसहित बस्दै आएका थिए। उनीहरुसँग एक कामदार पनि थिए। तर, सात महिना वितिसक्दा पनि कुनै क्लू प्रहरीले हात पार्न सकेको छैन। महानगरीय अपराध महाशाखाले अनुसन्धानको लागि घरमा काम गर्ने गार्ड, माली र भान्सेलाई नियन्त्रणमा लियो। पोलिग्राफसम्मको विधि अपनायो। तर, हत्या कसले र किन गर्‍यो भन्नेसम्म खुलेको छैन।

गुन्डा नाइकेहरू सत्यमान लामा पक्राउ, गणेश लामा रिहा, दावा लामा भारतमा पक्राउलगायत गुन्डा केन्द्रीत समाचार पनि वर्ष २०७५ मा आइरहे। गुन्डा लामा राजन लिम्बु मंसिर २१ गते रातोपुलमा प्रहरी इन्काउन्टरमा परे। तर, बाँच्न सफल भए । 

पुस २९ गते करिब १२ बजेतिर रुपन्देहीमा प्रहरीसँगको मुठभेडमा सिद्धार्थनगर नगरपालिका-६ गल्लामण्डीका केदार साहनी मारिए। 

प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका साहनीको सिद्धार्थनगर नगरपालिका १० देशार पोल्ट्री फार्म अगाडिको चोक नजिकै प्रहरीसँगको जम्काभेट हुँदा गोली लागेर मृत्यु भएको प्रहरीले दाबी गर्यो।

प्रहरीले घटनास्थलबाट युपी ५३ एच २०२८ नम्बरको मोटरसाइकलसमेत फेला पारेको छ। मोटरसाइकलको पछाडि बसेका युवकले गोली चलाएका थिए।एक युवक भने फरार छन्। 

साहनी दश वर्षदेखि जबर्जस्ती फिरौती असुली, हातहतियार खरखजाना तथा कर्तव्य ज्यान, शरीर अपहरण बन्धकलगायत मुद्दामा फरार थिए। 

२०७५ सालभरि विभिन्न घटना भए। केही अनुसन्धापछि टुङगिए त केही अझै अमूर्त छन्। कतै प्रहरीले ताली पायो त कतै गाली।तर, प्रहरी इतिहासमा नै सधैं सम्झिरहने र पिरोलिरहने घटना बन्यो निर्मला प्रकरण।घटना भएको ८ महिना बितितिसक्दा पनि केही हात लाग्न सकेको छैन।

साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ खोल्टीकी १३ वर्षिय निर्मला पन्त घरबाट साथी रोशनीकोमा पढ्न भनेर निस्किइन्। 
साथी रोसनी बमको घरमा साइन्सको होमवर्क गरी फर्कदै गरेका बेला बलात्कारपछि उनको हत्या भयो, यो घटनाले वर्षैभरी तहल्का पिटिरह्यो। 

वर्ष २०७५ को अन्त्यतिर तराईलाई छुट्टै राज्य बनाउने अभियान चलाउँदै आएका सीके राउतलाई सरकारले रातो कार्पेट बिछ्याएर स्वागत गर्‍यो।उनीसँग ११ बुँदे सहमतिसमेत गरियो। उनीसँग गरिएको सहमतिका बारेमा अझै आशंका बाँकि रहेपनि त्यसपछिका गतिविधि हेर्दा उनले यु टर्न नै गरेजस्तो देखिएको छ।

उता तत्कालिन माओवादीबाट चोइटिएको बिप्लव समूहलाई सरकारले अपराधी घोषणा गर्दै यसका नेता तथा कार्यकर्ता पक्राउ गर्ने 'अपरेशन बिप्लब' नै थाल्यो। अहिले पनि यो क्रम जारी छ। यसले पनि मिडियामा राम्रै चर्चा पायो।

त्यसैगरी २०७५ सालले नेपालको पर्यटन क्षेत्रमा भने निकै क्षेति पुर्‍यायो, वर्षको अन्तिममा पर्यटनमन्त्रीदेखि पर्यटन क्षेत्रका हस्ती आङछिरिङ शेर्पाको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भयो। 

यी र यस्ता समाचारले वर्ष २०७५ ले नेपालीलाई दुःख मात्र थप्यो। आउने सालमा यस्तो दशा भोग्न नपरोस्, शुभकामना

प्रकाशित मिति: : 2019-04-14 08:00:20

प्रतिकृया दिनुहोस्