उपनिर्वाचन कांग्रेसको लागि जीवनमरणको प्रश्न हो:देउवा

तस्बिरः बिएल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचन कांग्रेसको लागि जीवनमरणको प्रश्न भएको बताएका हुन् ।

शुभ दीपावली २०७६, नेपाल संवत् ११४० नयाँ वर्ष (न्हुदँ) तथा छठको अवसरमा कांग्रेस भक्तपुर जिल्ला समितिले सोमबार गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले उक्त कुरा बताएका हुन् ।

सभापति देउवाले भने, ‘यो जीवनमरणको प्रश्न छ। त्यसैले सबै एकजुट भएर चुनावमा लाग्नुपर्छ।’उनले भक्तपुरको चाहनाअनुसारकै व्यक्तिलाई उपनिर्वाचनको टिकट दिइने स्पष्ट पारे।

जसमध्ये कांग्रेस केन्द्रले सबैसँग छलफल गरे भरसक भक्तपुरले चाहेको उम्मेदवारलाई टिकट दिने तर कुनै पनि हालतमा भक्तपुरका कांग्रेसलाई चुनाव जिताउन सभापति देउवाले जोड दिए।

सभापति देउवाले सरकारले विधेयकमार्फत व्यक्तिगत सम्पत्तिको रुपमा रहेको जग्गामा नियन्त्रण गर्न खोजेको भन्दै आक्रोश पोखे।

संविधानमै मौलिक हकको रुपमा रहेको जग्गा जमिनबाट व्यक्तिहरुलाई हटाउने षड्यन्त्र भइरहेको उनको भनाइ थियो। मुलुक अप्ठ्यारो स्थितिबाट गुज्रिरहेको भन्दै उनले कम्युनिष्ट सरकारलाई जवाफ दिन आउँदो उपनिर्वाचनमा कांग्रेसले जित्नै पर्ने स्पष्ट पारे।

सभापति देउवाले भने, ‘उपभोक्ता समितिको नाउँमा यत्रो भ्रष्टाचार बढेको छ। वर्णन नै गर्न नसकिने भएको छ। त्यसैले यसबाट मुक्ति पाउन जनताले उपनिर्वाचनमा कांग्रेसलाई जिताएर देखाउनु पर्छ।’

भक्तपुर क्षेत्र नम्बर १ को प्रदेश क मा यहीं आउँदो मंसिर १४ गते उपनिर्वाचन हुँदैछ। उक्त निर्वाचनको लागि भक्तपुर कांग्रेसले सहमति जुटाउन नसकेपछि आकांक्षी दसजनाको नाम केन्द्रमा सिफारिस गरेर पठाएको छ।

प्रकाशित मिति: : 2019-10-28 16:15:18

प्रतिकृया दिनुहोस्