एनआरएन अमेरिका उम्मेद्वारी घोषणा: टेक्सासका साह पछि न्युयोर्कका थापा

एनआरएन अमेरिकाको आगामी कार्यकालका लागि नेतृत्वका आकांक्षीहरूले एकपछि अर्को गरेर उम्मेद्वारी घोषणा गर्न थालेका छन्।

टेक्सासबाट सुनिल साहले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकै अर्को दिन न्युयोर्कबाट सञ्जय थापाले उम्मेद्वारी घोषणा गरेका छन्। दुबैले आ-आफ्नो गृह नगरमा समारोह नै आयोजना गरेर औपचारिक रूपमा उम्मेद्वारी घोषणा गरेका हुन्।

टेक्सासका साह वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष छन्। उनी संस्थापन पक्षका उम्मेद्वार मानिन्छन्। उता, न्युयोर्कका थापा वर्तमान कार्यसमितिका बोर्ड अफ डाइरेक्टर हुन्। वर्तमान कार्यसमितिमा प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका थापा संस्थापन इतर उम्मेद्वार मानिन्छन्। पेशाले भने दुबै इन्जिनियर हुन्। साह आईटी इन्जिनियर हुन् भने थापा सिभिल इन्जिनियर।

राजनीतिक आस्थाका रूपमा साह कांग्रेस निकट रहेका छन् भने थापा वामपन्थी निकट।थापा त तत्कालिन नेकपाको प्रवास भातृ संगठन प्रवासी नेपाली मञ्च अमेरिकाका निवर्तमान अध्यक्ष नै हुन्।

वर्तमान कार्यसमितिले केही काम गरेको छ, केही काम गर्न बाँकि छन्। त्यसैको निरन्तरताका लागि मेरो उम्मेद्वारी हो।

साहले अंग्रेजीमा ११ बुँदे चुनावी घोषणा पत्र जारी गरेका छन् भने थापाको १२ बुँदे चुनावी घोषणापत्र नेपालीमा छ। साहले मुलत: वर्तमान कार्यसमितिको विरासतलाई अगाडि बढाउँन चाहेका छन्। उनले भनेकै छन्- वर्तमान कार्यसमितिले केही काम गरेको छ, केही काम गर्न बाँकि छन्। त्यसैको निरन्तरताका लागि मेरो उम्मेद्वारी हो। तर, थापाले त्यसो भनेका छैनन्, उनले भनेका छन्- एनआरएन अमेरिका अझै पनि हाम्रो अनि राम्रो अमेरिका हुन सकेको छैन। त्यसका लागि पारदर्शी प्रत्यक्ष निर्वाचन जरूरी छ। म त्यही मूल एजेण्डा लिएर उम्मेद्वार भएको हुँ।

एनआरएन अमेरिकाको निर्वाचन मैदानमा साह र थापा मात्र छैनन्। अरू पनि झण्डै एक दर्जन अध्यक्षका आकांक्षीहरू देखिएका छन्। बर्तमान कार्यसमितिका महासचिव बीआर लामा, प्रवक्ता विनोद कुमार तिवारी, बोर्ड अफ डाइरेक्टरद्वय डा. अर्जुन बन्जाडे र कृष्ण लामिछाने, अघिल्लो कार्यसमितिमा रहेका सूर्य लम्साल र कृष्ण पोखरेलले पनि अध्यक्ष पदका लागि प्रत्यक्ष परोक्ष रूपमा उम्मेद्वारी घोषणा गरिसकेका छन्। केही उम्मेद्वारका फलायर त सामाजिक सञ्जाल फेसबुकका भित्ताहरूमा पनि देखिसकिएका छन्।

एनआरएन अमेरिका अझै पनि हाम्रो अनि राम्रो अमेरिका हुन सकेको छैन। त्यसका लागि पारदर्शी प्रत्यक्ष निर्वाचन जरूरी छ। म त्यही मूल एजेण्डा लिएर उम्मेद्वार भएको हुँ।

आकांक्षीहरू धेरै देखिए पनि न्युयोर्कका सूर्य लम्साल र टेक्सासका डा. अर्जुन बन्जाडेको नाम पनि यही सप्ताहान्तमा औपचारिक रूपमा उम्मेद्वारी घोषणा गरिसकेका टेक्सासका सुनील साह र न्युयोर्कका सञ्जय थापाको नामसँगै मतवङपत्रमा रहने सम्भावना देखिन्छ।

समग्रमा यसपटक मुल नेतृत्वका लागि न्युयोर्क भर्सेस टेक्सासबीच नै चौकुने प्रतिस्पर्धा हुने देखिन्छ। यो प्रतिस्पर्धामा कसको पल्ला भारी हुन्छ- यसै भन्न सकिने स्थिति छैन। यद्यपि, साहलाई कांग्रेसको एक खेमा र थापालाई वामपन्थी मतको ब्याकअप हुने देखिएकाले प्रतिस्पर्धा उनीहरूबीच नै हुने देखिन्छ।

प्रकाशित मिति: : 2019-03-11 20:24:49

प्रतिकृया दिनुहोस्