बेइजिङ-चीनमा तेस्रो बच्चा जन्माउने एक दम्पतीलाई ९ लाख ६० हजार रुपैयाँ भन्दा बढीको जरिवाना गरिएको छ। स्थानिय सरकारको यो निर्णयलाई लिएर जनताले आक्रोश व्यक्त गरेका छन्। चीनको जन्म दरमा गिरावट आएको र पाका उमेरका मानिसको संख्यामा वृद्धि भइरहेको विषयलाई लिएर नेता चिन्तित भएकै समयमा यो घटना सार्वजनिक भएको हो।
चिनियाँहरु चिनियाँ जोडीलाई धेरै बच्चा जन्माउनका लागि प्रेरित गरियोस् भन्ने चाहन्छन्। तर शासकहरु यसको बिरोधमा देखिएका छन् । भारी जरिवानाका कारण चर्चामा आएका वाङ दम्पतीले भनेका छन्,“हामीलाई यस्तो अर्को देश थाहाँ छैन, जहाँ आफ्नै जनतालाई जरिवाना गरिन्छ ।”
चीनको सेनडोङ प्रान्तका अधिकारीले २०१७ को जनवरीमा तेस्रो बच्चालाई जन्म दिएकोमा यी दम्पतीलाई सामाजिक क्षतिपूर्ती शुल्कको नाममा ६४ हजार ६२६ युआन अर्थात साढे ९ लाख रुपैयाँ भन्दा बढी जरिवाना गरेका थिए । दम्पतीले जब शुल्क तिर्न सकेनन्, उनीहरुको बैंक खातामा रहेको २२ हजार ९५९ युआन जफत गरिएको थियो । बाँकि रकम अझै चुक्ता गर्न बाँकिनै छ ।
स्तम्भकार लियानपेङले चीनको विबो माइक्रोब्लगिङ सर्भिसमा लेखेका छन्,“जन्म दरलाई प्रोत्साहित गर्नका लागि देशले हर किसिमको प्रयास गरिरहेको छ । तर स्थानिय सरकार केबल पैसा असुली गर्न मात्रै खोज्छ । न्यून जन्म दरलाई लिएर सबै चिन्तित छन् । यसका बावजुद स्थानीय सरकारको ध्यान केबल शुल्क असुलीमा रहेको छ ।”
चीनमा गत सताब्दीको आठौ दसकमा एक सन्तान नीतिका साथै परिवार नियोजनको कठोर नीति लागु गरिएको थियो । यसको उल्लंघनमा जबर्जस्ति गर्भपतनदेखि लिएर जरिवाना तथा जागिरमा घटुवा सम्म गरिदै आएको छ ।
नीतिको करिब ३५ वर्षपछि नेताहरुलाई पाका उमेरको बढ्दो संख्या र श्रमशक्तिमा देखिएको गिरावटबाट देशको विकासमा अवरोध आउन सक्ने महशुस गरेका छन् । यसैलाई मध्यनजर गर्दै २०१६ मा दम्पतीलाई दुई बच्चा जन्माउने अनुमती दिइएको थियो । जोडीलाई यो भन्दा बढी बच्चा जन्माउन पनि आग्रह गरिएको थियो । तर स्थानीय स्तरमा यो नीति प्रभावकारी रुपमा लागु हुन सकेको छैन ।
चाइनिज एकेडेमी अफ सोशल साइन्सेजका शोधकर्ता वाङ गुआङझोउले २०३० सम्ममा चीनको जनसंख्यामा ६५ वर्ष भन्दा बढी उमेरका मानिसको संख्या ३० प्रतिशत पुग्ने बताएका छन् ।