नाडेप लघुवित्तको झण्डै दुई करोड हिनामिना, सात कर्मचारीविरुद्ध मुद्धा

प्रतिकारत्मक तस्बिर

विराटनगरमा शाखा कार्यालय रहेको नाडेप नामक लघुवित्तका सात जना कर्मचारीको मिलेमतोमा एक करोड ९३ लाख २६ हजार एक सय १९ रुपैयाँ अपचलन गरेको खुलेको छ। यो लघुवित्तको केन्द्रीय कार्यालय धादिङको गजुरीमा छ। विराटनगर शाखा अन्तर्गतको केन्द्र नम्बर २१ र २४ बाट फर्जी सदस्य खडा गरेर कर्मचारीले ठूलो रकम अपचलन गरेको बाहिरिएको हो। ठूलो रकम हिनामिना गर्ने कर्मचारी विरुद्ध ‘बैंकिङ कसूर’मा मुद्दा चलाइएको छ।

तत्कालिन विराटनगर शाखा प्रमुख बाराका ५२ वर्षीय विजयचन्द्र प्रसाद, वर्तमान प्रमुख मोरङको रंगेली नगरपालिका १ का ३९ वर्षीय इन्द्रमणि बस्नेत, लेखा सहायक विराटनगर ३ का ४७ वर्षीय नारायण खराल, सोही ठाउँकी ३२ वर्षीय लुना पराजुली, फिल्ड सहायक विराटनगर १ – का ३५ वर्षीय दिपक भट्टराई, लघुवित्त विराटनगर शाखाका २१ नम्बर केन्द्र प्रमुख विराटनगर १४ की ४५ वर्षीय मन्जुलादेवी यादव र २४ नम्बर केन्द्र प्रमुख सोही ठाउँकी ४९ वर्षीय बेबीकुमारी यादवको मिलेमतोमा रकम अपचलन गरेको अनुसन्धानबाट खुलेको छ। ऋणीले पत्तै नपाई फर्जी कागजात मिलाएर लघुवित्तको रकम अपचलन गरेको खुलेको हो।

रकम अपचलन गर्ने मध्ये लेखा सहायक खराल र पराजुली भने पक्राउ परेका छन् । अन्य पाँच जना फरार छन्। नाडेपका प्रमुख कार्याकारी अधिकृत उपेन्द्रबहादुर कार्कीले जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरेर रकम अपचलनको अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए।

प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत उच्च अदालत विराटनगरमा दायर गरेको अभियोग पत्रअनुसार लुघवित्तका सात जना कर्मचारीले एक सय छ जना नक्कली सदस्य खडा गरेर ऋणी बनाउँदै ठूलो रकम अपचलन गरेको देखिएको छ। विराटनगर–१४ (तत्कालिन–१८) जतुवाका सर्वसाधारणलाई ऋण प्रवाह गरेको देखाएर कर्मचारीले नै रकम लिने गरेको रहस्य प्रहरीको अनुसन्धानबाट खुलेको हो । उनीहरूले नाडेप लघुवित्तय संस्थाको केन्द्र नम्बर २१ बाट ८७ लाख २५ हजार दुई सय २३ रुपैयाँ र केन्द्र नम्बर २४ बाट एक करोड पाँच लाख ९७ हजार आठ सय ९६ रुपैयाँ अपचलन गरेको अभियोग पत्रमा उल्लेख छ।

प्रहरीले अनुसन्धान प्रक्रिया पूरा गरेपछि शाखा प्रमुखसहित ५ जनालाई फरार र पक्राउ परेका दुईसहित गरेर सात जनालाई प्रतिवादी बनाएर उच्च अदालत विराटनगरमा ‘बैकिङ कसूर’ अभियोगमा मुद्दा दर्ता गरेको थियो।

वाणिज्य इजलासमा थुनछेक बहसपछि मंगलबार उच्च अदालत विराटनगरका न्यायधीश लेखनाथ घिमिरे र महेश शर्माको संयुक्त इजालसले पराजुली र खराललाई जनही १५÷१५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले तोकेको धरौटी रकम बुझाएर पराजुली र खराल छुटिसकेको अदालतका रजिस्ट्रार जितन्द्रबाबु थपलियाले जानकारी दिए। उनले फरार रहेका पाँच जना विरुद्ध पनि अदालतमा उपस्थितिका लागि म्याद जारी गरिसकिएको जानकारी दिए।

ऋण नलिदैं ऋणी बन्नु परेको गुनासो सर्वसाधारणले गरेपछि नाडेपको केन्द्रीय कार्यालयले तीन सदस्यीय छानविन समिति बनाएर गत बैशाख १९ गतेबाट छानबिन थलेको थियो। छानबिनका क्रममा सर्वसाधारणको नाममा रकम झिकेर अपचलन गरेको देखिएपछि उनीहरुमाथि कानुनी कारबाही अघि बढाइएको हो।

प्रकाशित मिति: : 2019-12-12 15:39:40

प्रतिकृया दिनुहोस्