नेपाल-बंगलादेश प्राविधिक समितिको चौथो बैठक काठमाडौंमा सुरु,सात एजेण्डाका १४ बुँदामा छलफल हुने

बिएल

दुई देशीय व्यापारसम्बन्धी नेपाल-बंगलादेश प्राविधिक समितिको चौथो बैठक काठमाडौंमा सुरु भएको छ । काठमाडौंको होटल याक एण्ड यतीमा सोमबार बिहानबाट दुई दिने बैठक सुरु भएको हो ।

नेपालले बंगलादेशसँग सात एजेण्डाका १४ बुँदामा छलफल गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश भट्टराईले जानकारी दिए ।उनका अनुसार तेस्रो बैठकको प्रगति समिक्षा गर्दै नेपाल–बंगलादेश मालबाहक कार्गो सञ्चालनको मोडालिटीबारे छलफल हुनेछ ।

यस्तै ढाका–काठमाडौं बस सेवा सञ्चालनको विषय पनि बैठकमा उठ्ने छ । कृषि विभाग, मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र बंगलादेशको समकक्षी विभागबीच खाद्य सुरक्षा र प्लान्ट क्वारेन्टाइनका सम्बन्धमा आपसी समझदारी गर्ने विषय पनि नेपालले छलफल गर्नेछ ।

नेपालबाट बंगलादेश निर्यात हुने औषधिजन्य वस्तुको भन्सार महशुल लाग्ने वा नलाग्ने, दर्ता प्रक्रिया सहजीकरण गर्ने, कृषि र औद्योगिक उत्पादन शून्य भन्सारमा बंगलादेश प्रवेशको माग पनि नेपाली पक्षले छलफल हुने प्रवक्ता भट्टराईले बताए ।

यस्तै नेपाल र बंगलादेशबीच आन्तरिक जलमार्गबाट व्यापार तथा पारवहान सम्भाव्यता, लगानी बृद्धि, पर्यटन प्रवर्द्धनका विषय पनि बैठकका एजेन्डा हुन् ।बैठकमा बिराटनगर तथा भद्रपुरबाट सियादपुर/रंगपुरसँग हवाई सञ्जाल जोड्न सकिने सम्भावनाबारे पनि छलफल हुनेछ । दुई देशबीचको भिसा सहजीकरण र भन्सार नाकाको पूर्वाधार विकास पनि बैठकको एजेण्डा भएको प्रवक्ता भट्टराईले बताए।

बैठकमा नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा १५ सदस्यीय टोली सहभागी छ । यस्तै बंगलादेशको तर्फबाट बंगलादेशको वाणिज्य मन्त्रालयकी सहसचिव सरिफा खान नेतृत्वको सात सदस्यीय टोली सहभागी छ ।

प्रकाशित मिति: : 2019-10-22 11:14:34

प्रतिकृया दिनुहोस्